७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस उम्मेदवारीमा गुटगत सन्तुलन

काठमाडौं— नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा जिल्लास्तरीय नेतालाई अघि सारेको छ । कांग्रेसले तीनवटै प्रदेशमा जिल्ला तहका नेतालाई अघि सारेको हो । पहिलो चरणअन्तर्गत वैशाख ३१ गते तीन प्रदेशका ३४ जिल्लाका चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र एक सय ८६ गाउँपालिकामा हुने निर्वाचनमा कांग्रेसले अधिकांश स्थानमा उम्मेदवारी दिएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा काठमाडौं महानगरपालिकाको प्रमुख र उपप्रमुखको टुंगो जिल्ला समितिले लगाएको थियो। पार्टी केन्द्रीय सदस्यद्वय नवीन्द्रराज जोशी र गगनकुमार थापाले महानगरपालिकाको उम्मेदवार हुन अस्वीकार गरेपछि प्रमुख दाबेदार राजुराज जोशीलाई अघि सारेको हो ।

महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा केन्द्रीय तहका नेताको उम्मेदवारी दिने जनाउँदै आए पनि अन्तिम समयमा जिल्ला तहका नेतालाई नै उम्मेदवारी तोकिएको हो । केन्द्रीय समितिको निर्देशनअनुसार तल्लो तहबाट उम्मेदवार टुंगो लगाउन नसकेका स्थानमा पार्टीका शीर्ष नेताहरूले उम्मेदवार तोकेका छन् । पार्टीभित्रको गुटगत सन्तुलनका आधारमा कांग्रेसले उम्मेदवार टुंगो लगाएको हो ।

पार्टी केन्द्रीय समितिको निर्देशनअनुसार प्रदेश नम्बर ६ का सबै उम्मेदवार जिल्ला तहबाट टुंगो लगाए पनि ४ र ३ प्रदेशका अधिकांश जिल्लाको उम्मेदवार केन्द्रले तोकेको हो । चारवटै महानगरपालिकाका प्रमुख र उपप्रमुखको टुंगो मंगलबार बिहान मात्र लगाएको कांग्रेसले नगरपालिकाको उम्मेदवार टुंगो लगाएपछि मात्र महानगरपालिकाको उम्मेदवार छानेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा काठमाडौं महानगरपालिकाको प्रमुख र उपप्रमुखको टुंगो जिल्ला समितिले लगाएको थियो। पार्टी केन्द्रीय सदस्यद्वय नवीन्द्रराज जोशी र गगनकुमार थापाले महानगरपालिकाको उम्मेदवार हुन अस्वीकार गरेपछि प्रमुख दाबेदार राजुराज जोशीलाई अघि सारेको हो ।

त्यसअघि शीर्ष नेताहरूको बैठकले पोखरा र भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखको टुंगो लगाएको थियो  । ललितपुर महानगरमा सोमबार नै नाम तोके पनि नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाएपछि अन्तिममा मात्र उम्मेदवारी मनोनयनपत्र दिइएको थियो । सोमबार राति ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा चलेको बैठकले उपत्यकाका तीन जिल्लासहित नुवाकोट, चितवन र कास्कीको उम्मेदवार टुंगो लाग्न बाँकी थियो ।

बाँकी ६ जिल्लाका नगर प्रमुख र उपप्रमुखको टुंगो बिहान साढे आठपछि केन्द्रीय कार्यालयमै बसेको नेताहरूको बैठकले लगाएको हो ।

दिउँसो १ बजेअघि सबै उम्मेदवार टुंगो लगाएको कांग्रेसले काठमाडौंको एक नगरपालिकाबाहेक सबै जिल्लाबाट तय गरेको थियो । सभापति सबुज बानियाँ र पूर्वजिल्ला सभापति भीमसेनदास प्रधानको क्षेत्रमा सहमति जुट्न नसकेपछि त्यसको टुंगो लगाउने जिम्मा नेताहरूलाई दिएको निकट स्रोतको दाबी छ । ‘दुवै आआफ्नो अडानमा कायम रहेपछि अन्तिम निर्णयका लागि शीर्ष नेतालाई आग्रह गरेका हौं’, एक नेताले भने, ‘अरू उम्मेदवार जिल्लाबाट तय भएको हो ।’

कांग्रेसले अधिकांश ठाउँमा गुटगत सन्तुलनका आधारमा उम्मेदवार छनोट गरेको छ । तर, कतिपय स्थानमा सभापति देउवाले हस्तक्षेप गरेको भन्दै नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाएका छन् ।

लमजुङ, ललितपुर, धादिङ, चितवनको उम्मेदवार छनोटप्रति पौडेलले असन्तुष्टि जनाएको निकट स्रोतको दाबी छ । कास्कीको उम्मेदवार छनोटमा भेगीय सन्तुलन नमिलेको भन्दै पौडेलले असन्तुष्टि पोखेको एक नेताले जानकारी दिए । ‘व्यक्तिभन्दा नीतिगत विषयमा उहाँको असन्तुष्टि थियो,’ बैठकमा सहभागी एक नेताले भने, ‘हामीसँग नजिक रहेका जिल्लामा एक जनाले असन्तुष्टि जनाए पनि त्यसलाई हेरफेर गरियो तर सभापतिसँग नजिक भएका ठाउँमा बहुमत विपक्षमा रहँदा पनि हेरिएन ।’

कस्ता छन् उम्मेदवार

कांग्रेसले काठमाडौं महानगरपालिकामा राजुराज जोशीलाई मेयर र हरिप्रभा खड्गीलाई उपमेयरको उम्मेदवार बनाएको छ । नेपाल विद्यार्थी संघबाट राजनीतिमा सक्रिय रहेका जोशी प्रकाशमान सिंह काठमाडौं कांग्रेस जिल्ला सभापति रहेका बेला जिल्ला सचिव थिए । खड्की पनि नेपाल विद्यार्थी संघ, महिला संघ हुँदै पार्टी राजनीतिमा सक्रिय भएकी हुन् ।

कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिकाजी महर्जन र उपमेयरमा गीता सत्याललाई उम्मेदवार बनाएको छ । दुई पटकसम्म वडाको नेतृत्व सम्हालिसकेका महर्जन ज्यापू समुदायमा लोकप्रिय मानिन्छन् । सत्याल शिक्षण पेसा हुँदै राजनीतिमा सक्रिय भएकी हुन् ।  

पोखरामा कांग्रेसले रामजी कुँवरलाई मेयर र सरस्वती गुरुङलाई उपमेयरमा अघि सारेको छ । कुँवरले नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्षसम्म जिम्मेवारी सम्हालेका छन् । गुरुङ पोखराबाट प्रसारण हुने रेडियो अन्नपूर्णकी प्रस्तोता तथा पोखराबाटै प्रकाशित हुने कास्की आवाज दैनिककी अध्यक्ष हुन् । पार्टी राजनीतिमा उनी दुई दशकदेखि सक्रिय छन् । 

कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरमा दिनेश कोइराला र उपमेयरमा पार्वती शाहलाई अघि सारेको छ । विद्यार्थी राजनीतिबाट आएका कोइराला नेपाल जेसिजका पूर्वराष्ट्रिय अध्यक्ष हुन् । शाह नेपाल महिला संघकी जिल्ला अध्यक्ष हुन् ।

१०  मेयर उम्मेदवार नगर सभापति

कांग्रेसले काठमाडौंका १० नगरपालिको प्रमुखमा पार्टीका क्षेत्रीय र नगर सभापतिलाई उम्मेदवार बनाएको छ । पछिल्लो स्थानीय निर्वाचनमा गाविसको नेतृत्वमा पुगेका र हाल पार्टीको जिम्मेवारीमा रहेका अधिकांश नेतालाई प्रमुखका रूपमा कांग्रेसले अघि सारेको हो । 

नागार्जुन नगरपालिकाका मेयर उम्मेदवार मोहन बस्नेतले गाविस उपाध्यक्ष, क्षेत्रीय सभापति, जिल्ला कोषाध्याक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।

तारकेश्वर नगरपालिकाका मेयर उम्मेदवार श्रीराम थापा ०३६ देखि पार्टी राजनीतिमा सक्रिय छन् । नगर सभापतिको जिम्मेवारीमा रहेका थापा जिल्ला सदस्यका रूपमा पनि काम गरिसकेका व्यक्ति हुन् ।

कागेश्वर मनोहरा नगरपालिकाका मेयर उम्मेदवार उपेन्द्र कार्की काठमाडौं २ मा दोस्रो कार्यकालमा सभापतिको जिम्मेवारीमा छन् । तरुण दल हुँदै कार्की पार्टी राजनीतिमा सक्रिय भएका हुन् ।

गोकर्णेश्वर नगरपालिकाका मेयर उम्मेदवार सन्तोष चालिसे काठमाडौं ३ का क्षेत्रीय सभापति हुन् । लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय चालिसे २०४९ मा भएको स्थानीय चुनावमा उपाध्यक्षमा निर्वाचित भएका थिए।  

टोखा नगरपालिकाका मेयर उम्मेदवार हरिहर अधिकारी वैचारिक रूपमा स्पष्ट नेता हुन् । पार्टी विभाजन हुँदा उनले संस्थापनतर्फबाट क्षेत्रीय सभापतिको जिम्मेवारी समालेका थिए । 

बूढानीलकण्ठ नगरपालिका प्रमुखको उम्मेदवार राजु श्रेष्ठ नेपाल विद्यार्थी संघबाट राजनीतिमा सक्रिय भएका हुन् । २०४७÷०४८ देखि संघको राजनीतिमा सक्रिय श्रेष्ठ कांग्रेस क्षेत्र नम्बर ४ का सभापतिको जिम्मेवारीमा छन् ।

शंखरापुर नगरपालिकाको मेयर उम्मेदवार शंकर तिवारी क्षेत्रीय सचिव हुँदै हाल जिल्ला सदस्य छन् ।

दक्षिणकाली नगरपालिका मेयर उम्मेदवार मोहनबहादुर बस्नेत २०५४ मा दक्षिणकाली गाविसबाट अध्यक्षमा निर्वाचित भएका थिए । हाल नगर सभापतिको जिम्मेवारीमा छन् । 

चन्द्रागिरी नगरपालिकाको मेयर उम्मेदवार घनश्याम गिरी लामो समय शिक्षण पेसामा आबद्ध थिए । हाल नगर सभापतिको जिम्मेवारीम रहेका गिरी नेपाल शिक्ष संघ काठमाडौं अध्यक्ष हुँदै पार्टी राजनीतिमा सक्रिय थिए ।

कीर्तिपुर नगरपालिकाको मेयर उम्मेदवार राजकुमार नकर्मी क्षेत्रीय सभापति हुँदै हाल पार्टीको जिल्ला सचिवको जिम्मेवारीमा छन् । उनलाई संविधानसभा निर्वाचनमा पार्टीले समानुपातिकतर्फ उम्मेदवार बनाएको थियो ।

प्रकाशित: २० वैशाख २०७४ ०३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App