७ वैशाख २०८१ शुक्रबार
राजनीति

उपत्यकामा एक्लै भिड्दै माओवादी

कागेश्वरी मनहरा नगरपालिकाको मेयर पदमा माओवादीका उम्मेदवार हितमान शाक्य र रुकु रानापाल उम्मेदवारी दर्ता गराउँदै।

काठमाडौं— नेकपा माओवादी केन्द्रले पहिलो चरणको निर्वाचनका लागि २ सय ८३ मध्ये धेरै जसो स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको छ । माओवादी केन्द्रले कतिपय ठाउँमा एमाले, कांग्रेस र राप्रपासँग पनि तालमेल गरी उम्मेदवारी दर्ता गराएको देखिएको छ।

माओवादीले काठमाडौंमा दुई जनालाई मेयरका रुपमा उम्मेदवार बनाएको छ, जसअनुसार मध्यपुर थिमीमा प्रतिमा श्रेष्ठ र टोखा नगरपालिकामा कल्पना शर्मालाई मेयरका रुपमा उठाएको हो ।

‘सबै २ सय ८३ वटा स्थानीय तहमा नै पार्टीले उत्साहजनक रुपमा उम्मेदवारी दर्ता गराएको छ’, प्रवक्ता पम्फा भुसालले नागरिकसँग भने, ‘आवश्यकताअनुसार केही नगरपालिका र गाउँपालिकामा तालमेल गर्ने काम पनि भएको छ।’ उनका अनुसार तालमेल गर्ने अधिकार पार्टीले स्थानीय तहको कमिटीलाई नै छाडिदिएकाले विभिन्न दलसँग तालमेल भएको छ ।

काठमाडौं उपत्यकामा भने माओवादी केन्द्रले अन्य कुनै पार्टीसँग तालमेल नगरी उम्मेदवारी दर्ता गराएको छ । काठमाडौं उपत्यकाभित्र रहेका दुई महानगरपालिका, १६ नगरपालिका र ३ गाउँपालिकामा उम्मेदवारी दर्ता गराएका हो । माओवादीले काठमाडौंमा दुई जनालाई मेयरका रुपमा उम्मेदवार बनाएको छ, जसअनुसार मध्यपुर थिमीमा प्रतिमा श्रेष्ठ र टोखा नगरपालिकामा कल्पना शर्मालाई मेयरका रुपमा उठाएको हो ।

त्यसैगरी सर्वोत्तम डंगोललाई काठमाडौं महानगरपालिकाको उम्मेदवार चयन गरेको छ । उनी पार्टी पोलिटब्युरो सदस्य पनि हुन् । त्यसैगरी पार्टी पोलिटब्युरो सदस्य क्रमशः दिनेश महर्जन र शिव कट्टेल क्रमशः ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाबाट उम्मेदवार भएका छन् । तारेकश्वर नगरपालिकामा मेयरको उम्मेदवार धनलाल महर्जनलाई बनाइएको छ ।

काठमाडौं इन्चार्ज लेखनाथ न्यौपानेका अनुसार अन्य सबै महाधिवेशन आयोजक समिति र जिल्ला समितिका सदस्य हुन् । ‘काठमाडौंमा कसैसँग पनि तालमेल गरिएको छैन’, न्यौपानेले नागरिकसँग भने, ‘तालमेल गर्ने अवस्था आयो भने छलफल हुँदै जानेछ ।’ उनका अनुसार विवादबिना नै सबै स्थानमा उम्मेदवार चयन गर्न पार्टी सफल भएको छ ।

भक्तपुरमा मिलन सुवाललाई मेयरमा उठाएको माओवादीले मध्यपुर थिमी नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा महिलालाई स्थान दिएको छ । मेयरमा प्रतिमा श्रेष्ठ तथा उपमेयरमा सुचित्रा श्रेष्ठले मौका पाएका छन् । ‘दुवै महिला उम्मेदवार भएको काठमाडौंमा उपत्यकामा सम्भवतः यो पहिलो र एक्लो घटना हो,’ पोलिटब्युरो सदस्य दिलिप प्रजापतिले नागरिकसँग भने । उनका अनुसार जित्न सक्ने उम्मेदवारलाई पार्टीले प्राथमिकता दिएको छ।

माओवादी केन्द्रले हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकामा कांग्रेससँग तालमेल गरेको छ भने सिन्धुपाल्चोकका केही ठाउँमा राप्रपासँग तालमेल गरेको छ । दोलखामा कांग्रेससँग तालमेल गरेको माओवादीले गुल्मीमा एमालेसँग तालमेल गरेको छ । म्याग्दीमा कांग्रेससँग तालमेल गरेको छ । ‘स्थानीय तहलाई नै तालमेल गर्ने अधिकार दिएकाले सबै रिपोर्ट प्राप्त हुन सकेको छैन, भोलिसम्म सबै आइपुग्छ,’ प्रवक्ता भुसालले भनिन् ।

प्रकाशित: २० वैशाख २०७४ ०२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App