९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गतको होः चिनियाँ राजदुत सोङ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि आयोजित कार्यक्रममा सहभागि चिनियाँ र सरकारी पदाधिकारी। तस्बिरः उमेश पुन/नागरिक

नेपालको लागि चिनियाँ राजदुत छन सोङले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताएका छन्।

बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

यसअघि विमानस्थल उद्घाटनको क्रममा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गत बनेको बताएका थिए। कार्यक्रममा उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको बताउँदै यसमा चीनका इन्जिनियरहरुले डिजाइन गरेको बताए।

उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ को जनवरीमा शुरुवात भएको हो। यसको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो। चाइनिज इन्जिनियरिङहरुबाट यो निर्माण भएको हो। अन्ततः हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौँ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा। यो बीआरआई परियोजनाअन्तर्गतको हो।’

यसअघि गत जनवरी १ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेलामा पनि नेपालस्थित चिनियाँ दुतावासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गत भएको बताएको थियो। नेपाली पक्षले भने बीआरआई अन्तर्गत कुनैपनि परियोजनामा अहिलेसम्म कुनैपनि सन्धी नभएको बताउँदै आएको छ।  

सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईबीचको सम्झौतापछि १८ साउन २०७३ देखि यो विमानस्थल निर्माण शुरु भएको थियो। सीएएमसीईसँग मूल्य अभिवृद्धि कर (भ्याट) सहित अमेरिकी डलर २४ करोड ४० लाख ४० हजारमा सम्झौता भएको थियो। पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ।  

प्रकाशित: ६ असार २०८० ०७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App