१६ चैत्र २०८० शुक्रबार
राजनीति

सरकारी जागिर छाडेर चुनावमा

गोरखा-स्थानीय तह निर्वाचनमा चुनाव लड्न गोरखामा शिक्षक र कर्मचारीले राजीनामा दिन थालेका छन्। नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबाट चुनावी प्रतिस्पर्धा गर्न जागिरबाट राजीनामा दिने क्रम चलेको छ।

 कांग्रेसतर्फबाट वडाअध्यक्षदेखि गाउँपालिका प्रमुखमा उम्मेदवारको आकांक्षा राखेर सेवाबाट राजीनामा दिने शिक्षक धेरै छन् । कृषि विकास बैंक गोरखामा जागिरे होमबहादुर रानाले गण्डकी गाउँपालिका प्रमुखको टिकट पाएका छन् । उनी राजीनामा दिएर चुनावी अभियानमा जुटिसकेका छन् । सहिद लखन गाउँपालिकामा माओवादी केन्द्रबाट प्रमुखको उम्मेदवार भएका रमेश थापा पनि पूर्व शिक्षक हुन् । सहिद स्मृति माविका स्थायी शिक्षक उनले चुनाव लड्न सेवाबाट राजीनामा दिएका हुन् । गोरखा नगरपालिका– १ को अध्यक्षका लागि उम्मेदवार बन्न महालक्ष्मी माविका प्रअ रहमतुल्ला मियाँले राजीनामापत्र बुझाइसकेका छन् । गण्डकी गाउँपालिका–२ को अध्यक्षमा चुनाव लड्न महादेव प्राविका शिक्षक देउबहादुर गुरुङ र चन्द्रकला प्रावि घैरुङका शिक्षक दिलीप रानामगरले सहिदलखन गाउँपालिका–६ को अध्यक्षमा चुनाव लड्न राजीनामा दिएका छन् । चुनाव लड्न ज्ञानज्योति माविका प्रअ तयराज गुरुङले पनि सेवाबाट राजीनामा दिएका छन् । अजिरकोट गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दाबी गर्दै उनले जागिरबाट राजीनामा दिएका हुन् । कांग्रेसले भने सो गाउँपालिकामा कसलाई टिकट दिने भन्ने टुंगो लगाउन सकेको छैन ।

एमालेबाट आरुघाट गाउँपालिका प्रमुखमा कर्मचारी टेकराज भट्ट र उपप्रमुखमा शिक्षक मीना बरामले उम्मेदवारी दिन पाउनुपर्ने दाबी गर्दै आएका छन् । गोरखा नगरपालिका–१० को वडाध्यक्षमा चुनाव लड्न देवीबहादुर बस्नेतले सुब्बाको जागिर छाडेका छन् । त्यस्तै वडा नम्बर १४ को अध्यक्षमा उम्मेदवार बन्न रामबहादुर खड्काले पनि सरकारी जागिर छाडेका छन् । चुमनुब्री गाउँपालिका–१ मा अध्यक्षमा उम्मेदवारी दिन गौरिशंकर प्राविका शिक्षक वीरबहादुर श्रेष्ठले राजीनामा दिएका छन् । जीवनज्योति मावि हंसपुरकी शिक्षिका अनिता भुजेल, अलैंचे मावि आरुअर्बाङका शिक्षक टेकराज भट्टले पनि राजीनामा बुझाएको जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले बताए । शिक्षकहरूको राजीनामा आउनुमा पेसा परिर्वतन गर्ने सोच, राजनीतिमा लागेर समाजसेवा गर्ने भावना र पार्टीगत दबाब हुनसक्ने उनको अनुमान छ। स्थानीय तहको अधिकार, सेवा सुविधा र विजयी भएको खण्डमा पाइने मान प्रतिष्ठालाई ध्यानमा राखेर सरकारी सेवाबाट राजीनामा दिएर शिक्षक र कर्मचारी चुनावी प्रतिस्पर्धामा आएको बुझिएको  छ ।

आन्तरिक विवाद मिलाउन नसक्दा गोरखा नगरपालिकामा अहिलेसम्म ठूला दलले मेयरको उम्मेदवार छान्न सकेका छैनन् । कांग्रेस, एमाले, माओवादी सबै पार्टी भित्र उम्मेदवार छनोटमा रस्साकस्सी चलेको छ। अधिकत्तर गाउँपालिका र वडाका उम्मेदवारको भने लगभग टुंगो लागिसकेको छ ।

प्रकाशित: १५ वैशाख २०७४ ०२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App