७ वैशाख २०८१ शुक्रबार
राजनीति

संशोधनमा दुईतिहाइ जुटाउन पहल

काठमाडौं-संविधान संशोधन विधेयक पारित गर्न आवश्यक दुईतिहाइ बहुमत जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पहल थालेका छन्। बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा  राष्ट्रिय जनता पार्टीका नेतासँग भएको वार्तामा प्रधानमन्त्री दाहालले  फास्ट ट्रयाकबाट संशोधन प्रस्ताव पास गर्ने आश्वासन दिए।  संशोधन प्रस्ताव पास गर्न दुईतिहाइ मत जुटाउन सरकारले पहल सुरु गरेको पनि उनले बताएका थिए।

राजपा नेताले पनि दुईतिहाइ जुटाउन आफूहरूले समेत प्रयास गर्ने जनाएका थिए। वार्ता सकारात्मक भएको दुवै पक्षले जनाएका छन्। वार्तापछि राजपाका नेताले सरकारसँग देखिएको असमझदारी हटेको प्रतिक्रिया दिए।

प्रधानमन्त्रीले मधेसमा स्थानीय तह संख्या बढाउन सरकार आफ्नो प्रतिबद्धताबाट पछि नहटेको जनाएका थिए।  एमालेसँग समेत सहमति लिएर स्थानीय तहको संख्या बढाउन सरकारले प्रयास गर्ने आश्वासन उनले दिएका थिए । यसका लागि कार्यविधि बनाउने उनले बताएका थिए।

तराईका ११ जिल्लामा स्थानीय तहको संख्या बढाउने निर्णय बुधबार साँझ सरकारले फिर्ता लिएकोमा आपत्ति जनाएका राजपाका नेता यसै विषयमा छलफल गर्न प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए।

राजपा नेता सर्वेन्द्रनाथ शुक्लाले प्रधानमन्त्रीसँगको कुराकानी ‘अत्यन्त सकारात्मक’ भएको बताए । ‘प्रधानमन्त्रीले तराईमा स्थानीय तहको संख्या बढाउने प्रतिबद्धताबाट सरकार पछि हटेको छैन भनी प्रस्ट पार्नुभयो’, शुक्लले भने, ‘उहाँले  एमालेसँग समेत सहमति लिएर कार्यविधि बनाई तराईमा संख्या बढाउँछौं भन्नुभएको छ ।’ उनले प्रधानमन्त्रीसँग भेटेपछि सरकासँगको असमझदारी हटेको बताए ।

राजपाका अर्का नेता केशव झाले संसद्मा प्रस्तुत संशोधन विधेयक पास गर्न दुईतिहाइ जुटाउन सरकारले पहल गर्ने  आश्वासन प्रधानमन्त्रीले दिएको बताए । ‘हामीले पनि संशोधन विधेयक पास गर्न प्रयास गर्छौं भनेका छौं,’ उनले भने । राजपाका नेताले साँझ बैठक गरी संविधान संशोधन प्रस्ताव पास गर्न दुईतिहाइ जुटाउन पार्टीले पनि पहल गर्ने निर्णय गरेका थिए । बैठकमा स्थानीय चुनावमा पार्टीको तयारीबारे पनि छलफल भएको एक नेताले बताए ।

सहमति खोज्न प्रधानमन्त्री दाहाल र उपप्रधानमन्त्री कमल थापाले एमाले अध्यक्ष केपी ओलीसँग बिहीबार दिउँसो र साँझ छुट्टाछुट्टै वार्ता गरेका थिए।

यसैगरी प्रधानमन्त्री दाहालले संशोधन विधेयक पारित गराउन आवश्यक मत पु¥याउन नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालसँग पनि सहयोग मागेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संविधान संशोधन र निर्वाचनका विषयमा कुराकानी भएको ढकालले जानकारी दिए ।

सिंहदरबारमा त्रिपक्षीय छलफल

स्थानीय तह संख्या बढाउने विषयमा छलफल गर्न दिउँसो स्थानीय विकास मन्त्रालय सिंहदरबारमा समेत बैठक बस्यो ।  सरकारका तर्फबाट स्थानीय विकास मन्त्री कमल थापा सहभागी बैठकमा राजपाका नेता केशव झा, सर्वेन्द्रनाथ शुक्ला, संघीय समाजवादी फोरम नेपालका नेता रेणु यादव र लालवाबु यादव उपस्थित थिए । बैठकमा एमालेका तर्फबाट अग्नि खरेल  र भानुभक्त ढकाल सहभागी थिए । बैठकमा कार्यविधि बनाई तराई मधेसमा स्थानीय तहको संख्या टुंगो लगाउने विषयमा छलफल भएको राजपाका नेता केशव झाले बताए ।

एमाले नेता ढकालले स्थानीय तहको संख्या निर्धारण गर्नेबारेमा सरकारले पहिलोपटक प्रतिपक्ष दलसँग परामर्श गरेको बताए ।  तराई मधेसमा स्थानीय तहको संख्या बढाउन कार्यविधि बनाउने जिम्मा स्थानीय मन्त्रालयका सचिवलाई दिने निर्णय भएको राजपा नेता झाले बताए । उनका अनुसार कार्यविधिबारे शनिबारको बैठकमा छलफल हुनेछ ।

 

प्रकाशित: १५ वैशाख २०७४ ०१:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App