नेकपा एमालेका सांसद गोकर्ण बिष्टले सरकारले विद्युतको आन्तरिक खपत बढाउन नसकेको बताएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले आजपनि देशमा आन्तरिक खपतको अवस्था कहालीलाग्दो रहेको बताए।
उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली भारतले खरिद गर्ने कुरा चर्चामा आएपनि जुनसुकै देशको ठेकेदार र कम्पनीबाट उत्पादित बिजुली निर्वाध ढंगले पठाउने सन्दर्भमा कुने सहमति भएको छ? भन्दै प्रश्न गरे। उनले १० हजार मेगावाट बिजुली निर्यात गर्नका लागि आवश्यक पर्ने संरचना निर्माणको प्रक्रियामा सरकार गम्भीर बन्न नसकेको बताए।
उनले भने, ‘विद्युतको आन्तरिक खपत बढाउनुपर्ने हो तर आजपनि देशमा आन्तरिक खपतको अवस्था कहालीलाग्दो छ। आजपनि ११३ वर्ष लामो विद्युत उत्पादनको इतिहास बोकेको हाम्रो देशमा अहिले पनि सबै जनताले विद्युत प्राप्त गरेका छैनन्। अहिले पनि हजारौँ, लाखौँ घरहरु अध्याँरोमा बसिरहेका छन्। विद्युतीय सवारीसाधन, इण्डक्शन चुलोलाई अहिले पनि ठिक ढंगले प्रयोग गर्न सकिएको छैन। २०२१ को तथ्यांक अनुसार ६० प्रतिशत फ्युलमा आधारित परम्परागत र २७ प्रतिशत, डिजेल, पेट्रोल, एलपीजी र कोलको प्रयोग भइरहेको छ र विद्युतको प्रयोग ४.२ प्रतिशत मात्रै छ। उर्जा खपतको हिसावले यो प्रकारको अवस्था छ। विद्युत खेर जाने भयो भनेर विद्युत उत्पादन बन्द गरेर बसेका छौँ। यो प्रकारको कहालीलाग्दो अवस्था छ। प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली भारतले खरिद गर्ने कुरा चर्चामा आएको त छ, तर के जुनसुकै देशको ठेकेदार र कम्पनीबाट उत्पादित बिजुली निर्वाध ढंगले पठाउने सन्दर्भमा के त्यहाँ कुनै सहमति भएको छ। १० हजार मेगावाट बिजुली निर्यात गर्नका लागि आवश्यक पर्ने संरचना निर्माणको प्रक्रियामा हामीले कहीँ गम्भीरता देखाएका छौँ ? कुनै पहलकदमी गरेका छौँ, छैनौँ, हमीले नारा दिएका मात्रै छौँ।’
प्रकाशित: ४ असार २०८० ०८:३७ सोमबार