६ वैशाख २०८१ बिहीबार
राजनीति

ठूला दलमा आन्तरिक संघर्ष

बाग्लुङ- स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा दलहरू उम्मेदवार पहिचान र छनोट गर्न व्यस्त छन्। एक सातादेखि कसरत गरे पनि यहाँका ठूला दलले गाउँपालिका र नगरपालिकामा उम्मेदवार टुंगो लगाउन सकेका छैनन्। ठूला दलहरूभित्र उम्मेदवार बन्न आन्तरिक शक्ति संघर्ष चलिरहको कार्यकर्ता नै बताउँछन्। साना दललाई  भने सबै गाउँपालिका र नगरपालिकामा उम्मेदवार पुर्‍याउन मुस्किल देखिएको छ। सबभन्दा ठूलो दल नेपाली कांग्रेसले एक सातादेखि निरन्तर बैठक र छलफल जारी राखे पनि अझै उम्मेदवार टुंगो लगाउन सकेको छैन। गाउँपालिका र वडा तहबाट सिफारिस भएका उम्मेदवारको नामावलीबारे क्षेत्रीय समितिमा छलफल जारी छ। वैशाख ७ गतेसम्म स्थानीय तहका उम्मेदवार तय गरी केन्द्रमा पठाउने सो दलका नेताले बताए पनि अहिलेसम्म क्षेत्रीय समितिबाट जिल्लामा समेत नआइसकेको कांग्रेस बाग्लुङ सभापति दीपेन्द्रबहादुर थापाले बताए।

 ‘क्षेत्रीय समितिबाट जिल्लामा सिफारिस भएर आइसकेको छैन,’ थापाले भने, ‘जिल्लामा आइसकेपछि १२ गतेसम्म केन्द्रमा पठाउँछौं।’ वडा सदस्यदेखि गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुख बन्न चाहने आकांक्षी धेरै हुँदा उम्मेदवार छान्न हम्मे परेको हो। बाग्लुङका चार  नगरपालिकामा प्रमुख बन्न चाहने आकांक्षीको संख्या दुई दर्जन बढी छ। बाग्लुङ नगरपालिकामा ६ जना, जैमुनी नगरपालिकामा ९ जना, ढोरपाटन नगरपालिकामा ५ जना,  गल्कोट नगरपालिकामा ८ जनाले दाबी गरेका छन्। उम्मेदवारको संख्या बढी भएपछि अहिलेसम्म वडा अध्यक्ष र सदस्यको नामसमेत टुंगोमा पुग्न नसकेको कांग्रेस निकट स्रोतले बतायो। कांग्रेसबाट काठेखोला गाउँपालिकामा ६ जना, बडीगाडमा दुई जना, निसीखोलामा तीन, ताराखोलामा ६ जना र बरेङमा ५ जनाले प्रमुख दाबी गरेका छन्।

तमानखोलामा भने कांग्रेसबाट जोकलाल बुढा प्रमुख र मानसरी शेरचन उपप्रमुख सिफारिस भएका छन्। संविधानसभा निर्वाचन, २०७० मा यहाँका तीनटै निर्वाचन क्षेत्रमा जितेका कारण पनि यो निर्वाचनमा कांग्रेसका आकांक्षी बढी भएका हुन्। सबै दलहरू एक्लाएक्लै निर्वाचनमा गएको खण्डमा सबैजसो नगरपालिका र गाउँपालिकामा कांग्रेस बलियो देखिएकाले उम्मेदवार बन्न चाहनेको संख्या बढी भएको बताइन्छ।

दोस्रो ठूलो दल एमालेलाई पनि उम्मेदवार टुंगो लगाउन मुस्किल देखिएको छ। केही गाउँपालिका र नगरपालिकामा सर्वसम्मत उम्मेदवार टुंग्याइएको र नटुंगिएका गाउँ/नगरपालिकाको हकमा नाम प्रदेश समितिमा पठाउने तयारी भइरहेको एमाले बाग्लुङ सचिव लालबहादुर थापाले बताए। ‘अहिलेसम्म हामी उम्मेदवार छनोटकै चरणमा छौं,’ उनले भने, ‘अधिकांश वडा र केही गाउँ/नगरपालिकामा  उम्मेदवार छनोट गरेका छौं।’ थापाका अनुसारमा जैमिनी नगरपालिकामा एमाले पूर्वजिल्ला अध्यक्ष श्रीप्रसाद शर्मा मेयरको उम्मेदवार बन्ने पक्का भएको छ। एमालेबाट बरेङ गाउँपालिमा धनिश्वर पौडेल प्रमुख र दुर्गा थापा उपप्रमुख, तमानखोलामा उदिम छन्त्याल प्रमुख, बडीगाडमा मेयरसिंह पाइजा र ताराखोलामा सञ्जय श्रेष्ठ प्रमुखको उम्मेदवार बन्ने पक्का भएको छ। बाग्लुङ नगरपालिकामा मेयरका लागि तीन जना, गल्कोट नगरपालिकामा २ जना र ढोरपाटनमा तीन जनाले दाबी गरेका छन्। काठेखोला गाउँपालिकामा ६ जना, निसीखोलामा दुई जनाले प्रमुख दाबी गरिरहेका छन्। सहमति हुन नसकेका ठाउँहरूको नामावली सोमबारसम्म प्रदेश कमिटीमा पठाउने तयारी भएको थापाले बताए।

 सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रमा पनि उम्मेदवार छनोटमा सकस देखिएको छ। बाग्लुङ नगरपालिकामा कुशुम बुढा मेयर, जैमुनी नगरपालिकामा शोभाप्रसाद शर्मा मेयर र देवी शर्मा उपप्रमुखको उम्मेदवार तय भएको माओवादी केन्द्र बाग्लुङका प्रचार विभाग प्रमुख कृष्ण केसीले बताए। माओवादी केन्द्रबाट बरेङमा प्रदीप थापा प्रमुख र चिनीमाया काला उपप्रुमखको उम्मेदवार बन्ने भएका छन्। माओवादी केन्द्रबाट गल्कोट नगरपालिकाको मेयर पदका लागि लोकगायक विष्णु खत्रीसहित ५ जनाको नाम जिल्ला कमिटीमा सिफारिस आएको केसीले बताए। उम्मेदवार बन्न ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका, बडीगाड गाउँपालिका, काठेखोला गाउँपालिकामा आकांक्षी धेरै रहेको केसीले बताए। ‘जिल्लामा सबै नामावली आइसकेको छैन,’ केसीले भने, ‘आइतबार बेलुकी या सोमबार बिहानसम्म आइपुग्छ होला। त्यसपछि जिल्लामा सचिवालय बनेको छ। त्यसले अन्तिम निर्णय गर्छ।’

 संघीयता विरोधी छवि बनाएको राष्ट्रिय जनमोर्चा (राजमो) ले भने एक साताअघि नै उम्मेदवारको नाम सार्वजनिक गरिसकेको छ। राजमो बाग्लुङ अध्यक्ष अमर थापाका अनुसार सो पार्टीबाट जैमिनी नगरपालिकाको मेयरमा नरबहादुर पुन, उपमेयरमा लिलादेवी शर्मा, बाग्लुङ नगरपालिकाको मेयरमा लक्ष्मी बाँस्कोटा, उपमेयरमा लोकनाथ शर्मा,  गल्कोट नगरपालिकाको मेयरमा टंकबहादुर केसी, उपमेयरमा सुनमाया ढकाल, ढोरपाटन नगरपालिकाको मेयरमा गौरीश्वर पाण्डे, उपमेयरमा दुर्गादेवी घर्तीमगर उम्मेदवारका लागि सिफारिस भएका छन्। बरेङ गाउँपालिकामा प्रमुखका लागि कृष्णप्रसाद शर्मा, उपप्रमुखमा दिलमाया पुन, काठेखोला गाउँपालिकामा प्रमुखका लागि अर्जुनबहादुर खत्री, उपप्रमुखका लागि  सीता किसान, ताराखोला गाउँपालिकाका लागि प्रमुखमा तीर्थसिंह थापा, उपप्रमुखका लागि पूर्णा चालिसे, बडीगाउँ गाउँपालिकामा प्रमुखका लागि भीमसेन वन, उपप्रमुखमा रुनमाया थापा,  निसीखोला गाउँपालिका प्रमुखका लागि खिमविक्रम शाही, उपप्रमुखका लागि भोटुकुमारी चन्द, तमानखोला गाउँपालिका प्रमुखका लागि  डोरबहादुर क्षेत्री, उपप्रमुखका लागि बोमकुमारी बुढामगर उम्मेदवार बन्ने भएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ढोरपाटन नगरपालिकाको मेयरमा निमबहादुर भण्डारी र उपमेयरमा नरमती बुढालाई चयन गरेको छ। बाग्लुङ नगरपालिकाको मेयरका लागि चार जनाको नाम सिफारिस गरिएको राप्रपा बाग्लुङका अध्यक्ष सुरेन्द्र खड्काले बताए। बाँकी नगर/गाउँपालिकामा उम्मेदवार केही दिनमा टुंग्याउने उनले बताए।

सीपी मैनाली नेतृत्वको नेकपा मालेले पनि बाग्लुङ नगरपालिकामा निरबहादुर क्षेत्रीलाई मेयरको उम्मेदवार बनाउने जनाएको छ। उपमेयरमा भने मालेबाट राप्रपा प्रवेश गरेकी हुमा रिजाललाई समर्थन गर्ने सो दलले जनाएको छ।  राप्रपा, मालेलगायत दललाई जिल्लाभर सबै पदमा उम्मेदवार पुर्‍याउन मुस्किल देखिन्छ।

स्थानीय चुनावका लागि बाग्लुङमा १४ वटा दल दर्ता छन्। वैशाख ३१ मा हुने निर्वाचनमा जिल्लामा १ लाख ५६ हजार मतदाताले मताधिकार प्रयोग गर्नेछन्। चुनाव मिति नजिक आउँदै गर्दा दलहरू आन्तरिक तयारीका साथै अन्य दलसँग चुनावी तालमेल गर्ने विषयमा पनि छलफलमा केन्द्रित छन्। आपसी एकता गरेर निर्वाचनमा जाने विषयमा छलफल चले पनि अहिलेसम्म कुनै दलबीच पनि सहमति भइनसकेको बताइन्छ।

प्रकाशित: १२ वैशाख २०७४ ०२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App