७ वैशाख २०८१ शुक्रबार
राजनीति

एकढिक्का भएर चुनाबमा होमिने एमाले शीर्ष नेताको उद्‌घोष

काठमाडौं—नेकपा (एमाले)का शीर्षनेताहरुले पार्टी सिङ्गो एकताबद्ध भएर स्थानीय तहको निर्वाचनमा जाने उद्‌घोष गरेका छन्।

एमाले सम्पर्क समन्वय कमिटीद्वारा आयोजित केन्द्रीय सम्पर्क भेलामा एमालेका शीर्ष नेताहरुले एक भएर गए मात्र निर्वाचन जित्न सकिने बताउँदै एकताबद्ध भएर निर्वाचनमा जाने बताएका हुन्।

सो अवसरमा पार्टीका कावा अध्यक्ष वामदेव गौतमले एक भएर पार्टी निर्वाचनमा लाग्नाको विकल्प छैन भन्दै स्थानीय तहको निर्वाचनपछि देशमा नयाँ युगको थालनी हुने उल्लेख गरे। पार्टी उपाध्यक्ष गौतमले अहिलेको संविधान संशोधन प्रस्तावका एउटा बुँदा पनि पारित गर्न नदिइने बताउँदै देशको स्वतन्त्रता, सार्वभौमसत्ता र अखण्डता जोगाउन पार्टी निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।
 

कार्यक्रममा एमाले वरिष्ठ नेता झलनाथ खनालले निर्वाचनका बेला पार्टी एकताबद्ध भएर लागे निर्वाचन जितिने धारणा राखे। 'सिङ्गो पार्टी एकताबद्ध भएर लागे मात्र विजय प्राप्त गर्न सकिन्छ', उनले भने, 'त्यसका लागि पार्टीको आन्तरिक एकता हुनुपर्छ।' पूर्वप्रधानमन्त्री खनालले देशको स्वतन्त्र, सार्वभौमसत्ता र अखण्डता जोगाउनका लागि एमाले बलियो हुनुपर्नेमा जोड दिए।
 

एमालेका नेता माधवकुमार नेपालले पार्टीमा रहेका मतभेद हटाई निर्वाचनमा सबै एक भएर लाग्नाको विकल्प नभएको बताए। पूर्वप्रधानमन्त्री नेपालले निर्वाचन निर्धारित समयमा हुनुपर्ने तर निर्वाचन हुन नसकेका ठाउँमा अर्को चरणमा गर्न सकिने धारणा राखे। उनले निर्वाचन हुन नदिनका लागि षड्यन्त्र भइरहेको बताउँदै त्यसलाई चिर्दै निर्वाचन गर्नुपर्ने बताए।

पार्टी महासचिव ईश्वर पोखरेलले निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी भइरहेकाले त्यसप्रति सजग हुनुपर्ने उल्लेख गरे। कार्यक्रममा नयाँ शक्ति नेपाल केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईसहित सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य गणेश घिमिरे र दीर्घराज भट्टलगायत एमालेमा प्रवेश गरेका थिए। रासस

 

प्रकाशित: ५ वैशाख २०७४ १४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App