१६ चैत्र २०८० शुक्रबार
राजनीति

जागिर छाडेर उम्मेदवार दौडमा महिला

बाग्लुङ- स्थानीय तहको निर्वाचन नजिकिँदै आउँदा यहाँका महिला स्थायी जागिर छोडेर उम्मेदवारको दौडमा होमिएका छन्। संघीय संरचनाअनुसार स्थानीय तह बढी शक्तिशाली हुने तथा प्रमुख र उपप्रमुखमध्ये एकमा महिला उम्मेदवार अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण पनि चुनावमा महिला आकर्षण बढेको देखिन्छ। जागिर छाडेर राजनीतिमा होमिनेमा अधिकांश शिक्षिका छन्।

नेपाली कांग्रेस जिल्ला सदस्य गण्डकी थापा अधिकारीले बडीगाढ गाउँपालिकाको अध्यक्ष दाबी गर्नकै लागि स्थायी शिक्षकबाट राजीनामा दिएकी छिन्। ‘मैले स्थायी सेवा सुरु गरेको १० वर्ष भएको छ,’ उनले भनिन्, ‘म राजनीति गरेर जनताको सेवा गर्नकै लागि स्थायी जागिर छाडेर यता लागेकी हुँ। आशा  छ, पार्टीले सही मूल्यांकन गर्छ।’

साबिकको भीमगिठे अहिलेको बडिगाढ गाउँपालिका—७ की थापा अधिकारीले सोही ठाउँको भीमगिठे माविमा अध्यापन गराउँदै आएकी थिइन्। २०६३ माघमा शिक्षक सेवामा स्थायी भएर प्रवेश गरेकी उनले चैत १४ गते राजीनामा दिएकी हुन्। ‘राजीनामा दिएर म पूरै राजनीतिमा लागिसकेकी छु, अब ब्याक हुन्नँ,’ उनले भनिन्। निर्वाचन संघारमा जागिर छाड्नेमा नेपाल महिला संघ बाग्लुङकी अध्यक्ष शकुन्तला शर्मा, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि मञ्जु शर्मा चालिसे, एमाले निर्वाचन कमिटी सदस्य ममतादेवी शर्मा पनि छन्।

कांग्रेस नेत्री शकुन्तलाले बाग्लुङ नगरपालिका र मञ्जुले गल्कोट नगरपालिकामा मेयर दाबी गरिरहेका छन्। एमाले नेत्री ममतादेवीले त पत्रकार सम्मेलन गरेर आफू बाग्लुङ नगरपालिाकाको मेयर पदका लागि उम्मेदवारको दाबेदार रहेकाले शिक्षक सेवाबाट राजीनामा दिएर राजनीतिमा आएको बताएकी छिन्। ‘म नगरपालिकाको मेयर पदको दाबेदार हुँ, पार्टीले विश्वास गर्‍यो भने म उम्मेदवार बन्छु,’ उनले भनिन्, ‘नभए पनि म पार्टीमा सक्रिय भएर जनताको सेवा गर्छु। राजनीति गर्न जागिरबाट राजीनामा दिएका शकुन्तला र ममता शिक्षक  र मञ्जु स्वास्थ्यकर्मी थिए ।

स्थानीय चुनाव लडन् कांग्रेस जिल्ला सदस्य ज्ञानु शर्मा श्रीस पनि स्थायी शिक्षकबाट राजीनामा दिने सोचमा रहेको स्रोतको भनाइ छ। काठेखोला गाउँपालिकामा कांग्रेस एकल रुपमा निर्वाचन लड्ने अवस्थामा श्रीस उपप्रमुखको उम्मेदवार हुने पक्का जस्तै भएको स्रोतले बतायो।

 स्थानीय तह अधिकार सम्पन्न भएपछि त्यसको नेतृत्व सम्हाल्ने चाहनेको संख्या बढेको धौलागिरि बहुमुखी क्याम्पस बाग्लुङका सहप्राध्यापक गोविन्द कँडेलको बुझाइ छ। ‘अहिले स्थानीय तह निकै शक्तिशाली भएको छ,’ उनले भने, ‘प्रमुख र उपप्रमुखमध्ये एकमा महिला उम्मेदवार अनिवार्य भएकाले पनि महिला बढी आकर्षित भएको हुनसक्छ।’ दुई दशकपछि स्थानीय निर्वाचन हुन थालेकाले पनि गाउँगाउँमा चासो बढ्दै गएको उनले बताए।

प्रकाशित: ४ वैशाख २०७४ ०४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App