coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रपति भण्डारी आजदेखि भारत भ्रमणमा

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार दक्षिणी छिमेकी भारतको पाँचदिने राजकीय भ्रमणमा निस्कने भएकी छिन्। राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति भण्डारी पहिलोपटक विदेश भ्रमणमा निस्कन लागेकी हुन्।

३३ सदस्य टोलीको नेतृत्व गर्दै बिहान ११ बजे नेपाल एयरलाइन्सको विमानबाट राष्ट्रपति भण्डारी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । भ्रमण टोलीमा परराष्ट्रमन्त्री, सचिव, राष्ट्रपति कार्यालयका सचिव, सुरक्षाकर्मी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिवलगायत छन्।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा भारत जान लागेकी राष्ट्रपति भण्डारी शुक्रबार स्वदेश फर्कनेछिन्। भ्रमणका बेला राष्ट्रपति भण्डारीलाई नयाँदिल्लीस्थित राष्ट्रपति भवनमै राखिनेछ।

राष्ट्रपति भण्डारीले भारतीय समकक्षी प्रणव मुखर्जीका साथै भारतीय उपराष्ट्रपति मोहम्मद हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदीसहित शीर्ष नेतासँग शिष्टाचार भेट गर्नेछिन्।

सोमबार राष्ट्रपति भण्डारी नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछिन्। उनलाई मंगलबार भारतीय राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर' द्वारा सम्मान गर्ने कार्यक्रम छ।

सोही दिन भण्डारीले भारतीय समकक्षी मुखर्जीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसपछि उनले महात्मा गान्धीको समाधिस्थल राजघाट जाने र यमुना बायोडाइर्भसिटी पार्क अवलोकन गर्नेछिन्।

त्यस्तै, भारतीय उपराष्ट्रपति अन्सारी, प्रधानमन्त्री मोदी र अन्य भारतीय मन्त्रीहरूले उनीसँग शिष्टाचार भेट गर्नेछन्। राष्ट्रपति गुजरात र उडिसा पनि जाने कार्यक्रम छ।

भ्रमणमा निस्कनुअघि राष्ट्रपति भण्डारीले आइतबार पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श गरेकी छन्। राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भारत भ्रमणका विषयमा राष्ट्रपतिले पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको जानकारी दिए।

यसैबीच मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको भ्रमण र भ्रमण दलका सदस्य स्वीकृत गरेको छ। साथै राष्ट्रपति विदेश भ्रमणमा निस्कने दिन सोमबार र स्वदेश फर्कने दिन शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

प्रकाशित: ४ वैशाख २०७४ ०२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App