२२ असार २०७७ सोमबार
राजनीति

‘संशोधन प्रस्ताव जालसाजी’

काठमाडौं– प्रमुख प्रतिपक्षी एमालेले संविधान संशोधन प्रस्ताव संविधानको ‘आधारतभूत सोच’ विपरीत र ‘जालसाजी’ भएको प्रतिक्रिया दिएको छ।

एमाले संसदीय दलका उपनेता सुबास नेम्बाङले स्थानीय तहको अधिकार कटौती गर्न ल्याइएको संशोधन प्रस्ताव तीन तहको सरकार भन्ने संविधानको आधारभूत मान्यताविपरीत भएको बताए ।

‘हामीले पहिलोदेखि संविधान संशोधन विधेयक फिर्ता लिन सरकार पक्षलाई भन्दै आएका थियौं । सीमांकन हेरफेर प्रस्ताव फिर्ता लिने सरकारी कदमले हामी ठीक थियौ भन्ने फेरि पनि प्रमाणित गरेको छ’, नेम्बाङले नागरिकसँग भने, ‘‘प्रमुख प्रतिपक्षी दलसँग संविधान संशोधनका विषयवस्तुमा अहिले पनि छलफल गरिएको छैन । जे कुरा सञ्चार माध्यमबाट आएका छन् । स्थानीय तहको अधिकार कटौती संविधानको आधारभूत सोचविरुद्ध छ ।’

नेम्बाङले तीन तहको सरकारको व्यवस्थाअनुसार अहिलेको संविधान बनेको बताए । संविधान संशोधन नयाँ  प्रस्तावमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिका, उपमहागनरपालिका र महानगरपालिका मेयर तथा उपमेयरको राष्ट्रियसभा प्रतिनिधि चुन्न पाउने व्यवस्था हटाइएको छ ।

‘सरकारले दर्ता गरेको संशोधन प्रस्ताव २०४७ सालको संविधानभन्दा पनि प्रतिगामी छ’, उनले भने, ‘आफूलाई लोकतान्त्रिक बनाउने नेपाली कांग्रेस र आग्रगामी भन्ने माओवादी यस्तो प्रस्ताव बोकेर कसरी संसद्मा पुग्न सके, हामी आश्चर्यमा छौं ।’

नेम्बाङले चुनाव घोषणा गरिसकेपछि मतदाता थप्न र स्थानीय तह संख्या घटबढ गर्न सरकारले काम अझै जारी राखेको भन्दै आपत्ति जनाए ।

एमालेको स्थायी कमिटीको सोमबारको बैठकले ‘जनआन्दोलनको मर्म र भावनाविरुद्ध  तथा संविधानको मर्म र भावनाविपरीत स्थानीय तह र प्रदेशका अधिकारविरुद्ध ल्याइने कुनै पनि प्रस्ताव, नेपालको सामाजिक सद्भाव र भौगोलिक एकतालाई कमजोर पार्ने प्रस्तावप्रति हाम्रो पार्टीको समर्थन नरहने’ निर्णय गरेको छ ।

नेम्बाङले सीमांकन हेरफेरसम्बन्धी धारालाई समेत संशोधन गर्नेगरी ल्याइएको प्रस्ताव संविधानमाथिकै जालसाजी भएको बताए । ‘सीमांकन परिमार्जन सम्बन्धमा संशोधन ल्याउनु संविधानविरुद्धको जालसाजी हो,’ उनले भने ।

उनले नयाँ संशोधन प्रस्ताव ल्याउँदा पनि सरकारले प्रतिपक्षसँग छलफल नगरेको बताए । उनले प्रश्न गरे, ‘यत्रो संविधान संशोधनको विषय ल्याउँदा प्रमुख प्रतिपक्षी दलसँग सरकारले छलफल गर्नुपर्छ कि पर्दैन ?’

प्रकाशित: ३० चैत्र २०७३ ०७:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App