coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कमल थापालाई दोस्रो वरीयता

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले लामो समयदेखि चलेको उपप्रधानमन्त्री वरीयता विवाद तोड्दै उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापालाई दोस्रो वरीयता दिएका छन्।

थापालाई दोस्रो वरीयता दिने पक्कापक्की भएसँगै सोमबार मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री निधि अनुपस्थित थिए। गृहमन्त्री निधि अनुपस्थित भएपछि गृहसचिव लोकदर्शन रेग्मीमार्फत नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको थियो। 'प्रधानमन्त्रीले आफूपछिको वरीयता थापालाई दिएपछि निधि मन्त्रिपरिषद् बैठकमा उपस्थित हुनुभएन,' मन्त्रिपरिषद् स्रोतले नागरिकसँग भन्यो, 'लामो समयदेखि चलिरहेको वरीयताको अन्योल भने टुंगो लागेको छ।' बैठकमा उपप्रधानमन्त्री थापा प्रधानमन्त्रीपछिको वरीयतामा बसेका थिए।

प्रधानमन्त्री दाहालले गत बिहीबार मन्त्रिपरिषद् बैठक बोलाए पनि वरीयता विवाद नमिल्दा आइतबार सारिएको थियो। आइतबार पनि बैठक नबसेपछि सोमबार बसेको हो। प्रधानमन्त्री दाहालले राप्रपा अध्यक्ष थापालाई उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री बनाएर सरकारमा सहभागी गराएपछि उनी र अर्का उपप्रधान तथा गृहमन्त्री निधिबीच वरीयतामा को माथि भन्ने विवाद सुरु भएको थियो।

दुई उपप्रधानमन्त्रीको वरीयता विवादकै कारण प्रधानमन्त्री दाहालले कार्यवाहकसमेत नतोकी चीन भ्रमणमा गएका थिए। प्रधानमन्त्री चीन भ्रमणबाट फर्केपछि समेत स्वागत गर्न जाने क्रममा त्रिभुवन विमानस्थलमा वरीयता विवाद छताछुल्ल भएको थियो।

उपप्रधान तथा गृहमन्त्री निधिले प्रमुख सत्तारूढ दलको हैसियतले कांग्रेसबाट सरकारको नेतृत्व आफूले गरेको, यसअघि प्रधानमन्त्री दुई पटकसम्म भारत भ्रमणमा जाँदा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी आफूले पाएकाले वरीयतामा आपफू माथि हुनुपर्ने दाबी गर्दै आएका थिए। उनले आफूलाई वरीयतामा थापाभन्दा तल राखिए राजीनामा दिनेसमेत बताउँदै आएका थिए भने अर्का उपप्रधानमन्त्री थापाले यसअघिको सरकारमा आफू उपप्रधानमन्त्री भइसकेकाले पनि वरीयतामा माथि रहनुपर्ने अन्यथा सरकार छाड्ने चेतावनी दिँदै आएका थिए।

प्रकाशित: २९ चैत्र २०७३ ०१:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App