coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्थानीय तहको टिकट वितरणका लागि कांग्रेस केन्द्रीय सदस्य जिल्ला जाने

काठमाडौं– नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको टिकट वितरणका लागि केन्द्रीय सदस्यहरुलाई जिल्ला खटाउने भएको छ। पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णय अनुसार टिकटमा हस्ताक्षर गर्न ७५ वटै जिल्लामा केन्द्रीय सदस्य खटाउन लागेको हो।

निर्वाचन आयोगले दलहरुसँग आधिकारीक व्यक्तिको नाम र हस्ताक्षर मागपछि कांग्रेसले केन्द्रीय सदस्यलाई टिकटमा हस्ताक्षरको अधिकारसहित जिल्ला पठाउने तयारी थालेको छ। ७५ जिल्लामा खटिने केन्द्रीय सदस्यलाई पार्टीले पदाधिकारीको हैसीयतमा पठाउने भएको छ।

त्यसका लागि कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन जारी राखेको छ । चैत ३० भित्र कांग्रेसले कुन जिल्लाको कुन नेता आधिकारीक व्यक्ति हो भन्ने जानकारी र हस्ताक्षरसहित आयोगलाई जानकारी गराउने छ।

‘बैशाख १६गते उम्मेदवार मनोनयन पत्र (टिकट)मा हस्ताक्षर गर्न केन्द्रीय सदस्य पठाउन लागिएको हो,’ केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने, ‘केन्द्रीय समितिले तय गरेको पदाधिकारी वा प्रदेश पदाधिकारी चाहिने भनेकाले सबै केन्द्रीय सदस्यलाई केन्द्रीय समितिले पदाधिकारी मनोनित गर्ने निर्णय गरेको छ।’

सात सय चवालीस नगर तथा गाउँपालिकाका सबै उम्मेदवारको टिकटमा सभापति शेरबहादुर देउवासहितका पदाधिकारीले हस्ताक्षर गर्न सम्भव नदेखिने भएपछि केन्द्रीय सदस्यलाई पदाधिकारीको हैसीयतमा जिल्ला पठाउन लागिएको हो । ‘झन्डै ३७ हजारको टिकटमा सभापतिले मात्र हस्ताक्षर गर्दै २० दिन लाग्ने देखियो,’ एक केन्द्रीय नेताले भने, ‘पार्टी नेतृत्वको अधिकार सदस्यलाई प्रत्यायोजन गरेर गुटगत भागबन्डाको आधारमा सदस्यहरुलाई जिल्ला पठाउन लागिएको हो।’

संविधानले जिल्लाको अस्थीत्वलाई स्वीकार नगरेपछि उम्मेदवार मनोनयनमा समस्या देखिने भएपछि आयोगले आधिकारीक र सम्पर्क व्यक्ति दलहरुसँग माग्दै आएको छ । चैत २६ भित्र नाम दिन आयोगले दलहरुलाई पत्राचार गरेको थियो । तर, कांग्रेसहितका दलहरुले केही समय माग गरेपछि चैत ३०गतेसम्म समय दिएको छ ।  

जिल्ला जाने नेताको टुंगो ३०गतेभित्र लगाएपनि नाम भने गोप्य राखिने मुख्य सचिव पौडेलले दाबी गरे। नेताहरुको नाम सार्वजनीक हुँदा उम्मेदवार छनोटलाई असर पार्ने विश्लेषण गर्दै कांग्रेसले त्यसलाई गोप्य राख्ने उनले दाबी गरे ।

कांग्रेसले उम्मेदवार छनोटको अधिकार जिल्ला, क्षेत्रलाई प्रत्यायोजन गरेको छ । त्यसका लागि जिल्ला, क्षेत्रीय सभापतिको नेतृत्वमा संयन्त्र गठन गरी सर्वसहमतिबाट निर्णय लिनु पर्ने परिपत्र गरेको छ ।

आन्तरिक कलहका कारण सर्वसहमतिबाट उम्मेदवार छनोटको सम्भावना कम देखिएका बेला टिकटमा हस्ताक्षर गर्न केन्द्रीय नेता खटाउने तयारीपछि उम्मेदवार छनोट कसले गर्ने भनेर थप अन्योल कांग्रेसमा छाएको एक नेताले बताए । तर, मुख्य सचिव पौडेलले टिकटमा हस्ताक्षर गर्न मात्र नेताहरु खटाउन लागेको स्पष्ट पारे । संसदीय निर्वाचनमा पार्टीको टिकटमा सभापतिले हस्ताक्षर गर्नु हुन्थ्यो,’ उनले भने, ‘अहिले पदाधिकारीको हैसीयतमा केन्द्रीय सदस्यले हस्ताक्षर गर्नुहुन्छ।’

 

प्रकाशित: २८ चैत्र २०७३ १४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App