४ वैशाख २०८१ मंगलबार
राजनीति

सीमांकनबाहेकमा विरोध गर्दैनौं : एमाले

काठमाडौं- एमालेले सीमांकनबाहेक संविधान संशोधन प्रस्तावको अन्य प्रक्रियामा विरोध नगर्ने भएको छ। एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले विषयवस्तुका आधारमा समर्थन वा विरोध हुने बताए। 'संविधान संशोधनका विषयमा सरकारले एमालेसँग छलफल गरेको छैन', नेम्वाङले नागरिकसँग भने, 'सीमांकनबाहेक संशोधन प्रस्ताव प्रक्रियामा हामी अवरोध गर्दैनौं।'

सीमांकन विवाद आयोगमार्फत समाधान खोज्ने गरी सरकारले आठ विषयवस्तुमा संविधान संशोधन प्रस्ताव ल्याउने तयारी गरेको छ। त्यसमा पहिले नै दर्ता गरिएको भाषा, नागरिकता, राष्ट्रियसभाको गठन हुबहु राख्ने र मधेसी मोर्चाले अघि सारेअनुसार स्थानीय तहका प्रमुख उपप्रमुख राष्ट्रियसभाको निर्वाचन मण्डलबाट हटाउने, संविधानको धारा दुई सय ७४ लाई संशोधन गर्नेसहितका विषय छन्। धारा दुई सय ७४ मा प्रदेशको सीमांकन हेरफेर गर्दा प्रदेशिक सभाको समेत स्वीकृति लिनुपर्ने व्यवस्था छ।

'मधेसी मोर्चा के गर्दा चुनावमा आउँछ? सरकारले केके गर्दैैछ भनेर हामीले धेरैपटक जानकारी माग्यौं। तर सरकारबाट आएको छैन', नेम्वाङले भने, 'बाहिर आएको विषयलाई हेरेर मात्रै प्रतिक्रिया व्यक्त गर्नु उचित हुन्न।'

संविधानविरुद्ध लामो समयदेखि आन्दोलन गर्दै आएको मधेसी मोर्चा माग पूरा नभए चुनावमा सहभागी नहुने बताउँदै आएको छ। 

प्रकाशित: २७ चैत्र २०७३ ०१:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App