११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चुनावमा जुट्यो कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर पार्टी कार्यक्रम र बैठक तीव्र बनाएको छ। केन्द्रीय समितिको पछिल्लो बैठकले स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर दुई समिति गठन गरेपछि पार्टीको तल्लो तहसम्म निर्वाचनमा केन्द्रित भएका हुन्।

नेता रामचन्द्र पौडेल संयोजकत्वको केन्द्रीय निर्वाचन परिचालन समितिले तय गरेको सातवटै प्रदेशको सभालाई भव्य बनाउन सम्बन्धित प्रदेशका नेतालाई जिम्मेवारी तोकेको छ। प्रदेश नम्बर १ को सभा भने तीन दिन पर सारेको छ। वैशाख २ गते गर्ने भनिएको सभा ५ गतेका लागि सारिएको हो।

त्यस्तै, प्रचार उपसमितिले केन्द्रदेखि गाउँ तहसम्म पार्टीको पक्षमा माहोल बनाउन रणनीति तय गर्न थालेको छ। समितिले बिहीबार पनि आन्तरिक छलफल गरेको छ।

घोषणापत्र मस्यौदा समितिले चैत मसान्तभित्र त्यसलाई अन्तिम रूप दिने भएको छ। आर्थिक समृद्धि, समाजिक न्यायसहितका विषय समेटेर घोषणापत्र लेखन सुरु गरेको समितिले शुक्रबार पार्टी केन्द्रीय सदस्य र सांसद्सँग छलफल गर्नेछ। संसद् भवन नयाँ बानेश्वरमा बिहान राखिएको संयुक्त बैठकमा नेता र सांसदहरूले घोषणापत्रमा समेटिने विषयमा सुझाव दिने संसदीय दलका सचिव धु्रव वाग्लेले जानकारी दिए। 'जनभावना र चाहनालाई कसरी घोषणापत्रमा समेट्ने सकिन्छ त्यसमा नेताहरुको सुझाव लिन बैठक राखिएको हो', उनले भने।

संयुक्त बैठकपछि दिउँसो बस्ने समिति बैठकले मस्यौदामा समेटिने विषयलाई अन्तिम रूप दिनेछ।

त्यस्तै, कांग्रेसले कोषाध्यक्ष सीतादेवी यादव नेतृत्वमा आर्थिक समिति गठन गरेको छ। निर्वाचन केन्द्रित कार्यक्रमका लागि पार्टी सञ्चित रकम खर्च गर्दै आएको कांग्रेसले आर्थिक स्रोत संकलनका लागि भने ठोस तयारी र योजना बनाएको छैन।

प्रकाशित: २५ चैत्र २०७३ ०२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App