काठमाडौं– सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन तयारी तीव्र बनाएको छ । केन्द्रीय निर्वाचन परिचालन समितिको शुक्रबारको बैठकले निर्वाचनमा पार्टीलाई पहिलो बनाउनका लागि केन्द्रदेखि वडा तहसम्मका निकायलाई परिचालन गर्ने निर्णय गरेको हो ।
‘कांग्रेस पक्षमा जनमत बनाउने गरी केन्द्रदेखि तल्लो तहका सबै निकायलाई परिचालन गर्ने निर्णय भएको छ,’ केन्द्रीय सदस्य रमेश रिजालले भने, निर्वाचन कार्यक्रमको तालिका बनाएर अघि बढ्छौ ।’
बैठकले पार्टीलाई जिताउने अठोटका साथ अघि बढ्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले सबै तहमा स्थानीय निर्वाचन परिचालनसहित अन्य समिति गठन गरेर तयारी व्यवस्थित गर्ने भएको छ ।
बैठकले काठमाडौंसहित सातवटै प्रदेशमा सभा गर्ने निर्णय गरेको छ । सभालाई पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले सम्बोधन गर्ने छन् । तर त्यस्तो सभा कहाँ कहाँ र कहिले गर्ने भन्ने निर्णय हुन बाँकी रहेको जानकारी केन्द्रीय सदस्य गोविन्द भट्टराईले दिए ।
कांग्रेसले सातवटै प्रदेशमा केन्द्रीय नेताहरूलाई जिम्मेवारीसहित खटाउने तयारी गरेको छ ।
कांग्रेसले निर्वाचन घोषणा पत्र निर्माणका लागि केन्द्रीय सदस्य महेश आर्चायको संयोजकत्वमा समिति गठन गरिसकेको छ ।
प्रकाशित: १९ चैत्र २०७३ ०३:१५ शनिबार