१६ चैत्र २०८० शुक्रबार
राजनीति

वीर अस्पतालमा कमिसनकाे खेलः ६ करोड पर्ने मेसिन दोब्बरमा किन्ने तयारी

काठमाडौं– मुलुकको सबैभन्दा पुरानो र ठूलो सरकारी उपचार केन्द्र वीर अस्पतालका क्यान्सर बिरामी डेढ वर्षदेखि रेडियोथेरापी मेसिन किन्ने कमिसन चक्करमा उपचार वञ्चित भएका छन् ।

विशेषज्ञले क्यानाडाली कम्पनीको कोबाल्ट–६० मेसिन किन्न जोड दिइरहेका छन् भने न्याम्स उपकुलपति डा. गणेशमान गुरुङले भारतीय कम्पनी भावाट्रोनको मेसिन खरिद गर्न दबाब दिएका छन्

क्यान्सरका बिरामीलाई रेडियोथेरापीद्वारा उपचार गर्ने कोबोल्ट–६० मेसिन बिग्रेको १९ महिना भइसकेको छ । त्यसयता वीरका बिरामी महँगो उपचारका लागि अन्य अस्पतालमा जान बाध्य छन् ।

वीर अस्पतालले ५ हजार रुपैयाँमा रेडियोथेरापी सेवा दिँदै आएको छ । भक्तपुर क्यान्सर अस्पतालले त्यही सेवा दिन २५ हजार रुपैयाँ लिन्छ भने निजी अस्पतालले ७५ हजारदेखि १ लाख २५ हजार रुपैयाँसम्म असुल्दै आएका छन् ।

वीर अस्पतालको कोबाल्ट मेसिन बिग्रनुअघि प्रत्येक दिन ७०–८० जना क्यान्सर जाँच र उपचारका निम्ति आउने गर्थे । ‘अचेल प्रत्येक दिन ३०–४० जना क्यान्सर जाँचका लागि आउने गरेका छन्,’ क्लिनिकल अंकोलोजी डिपार्टमेन्ट प्रमुख सहप्राध्यापक डा. विवेक आचार्यले नागरिकसँग भने, ‘क्यान्सरका बिरामीको उपचारका निम्ति रेडियोथेरापी मेसिन हामीसँग छैन, जुन हामीलाई तत्कालै आवश्यक छ ।’

वीर अस्पतालका अनुसार प्रत्येक वर्ष अस्पतालमा करिब १ हजार ३ सय क्यान्सरका बिरामीको पहिचान हुँदै आएको छ । प्रत्येक वर्ष भक्तपुर क्यान्सर अस्पतालले १ हजार ५ सय र भरतपुर क्यान्सर अस्पतालले ६ हजार क्यान्सर रोगी पहिचान गर्छन् ।

वीरले क्यानाडामा बनेको कोबाल्ट–६० मेसिन १० वर्षको वारेन्टीसहित २०४८ सालमा खरिद गरेको थियो ।  वीरअन्तर्गतको नेसनल एकेडेमी अफ मेडिकल साइन्स (न्याम्स) मा यसलाई २५ वर्षसम्म प्रयोग गरिएको थियो  ।

विशेषज्ञले क्यानाडाली कम्पनीको कोबाल्ट–६० मेसिन १२ करोड रुपैयाँमा किन्न जोड दिइरहेका छन् । स्रोतका अनुसार न्याम्स उपकुलपति डा. गणेशमान गुरुङले भारतीय कम्पनी भावाट्रोनको मेसिन ११ करोड ८० लाख रुपैयाँमा खरिद गर्न दबाब दिइरहेका छन् । विशेषज्ञ टोलीले भने कमसल यो मेसिन खरिदलाई स्वीकृति दिन चाहेको छैन ।

भारतीय मेसिनले वीर अस्पतालका विशेषज्ञले तोकिदिएअनुसारको पूर्वाधार पूरा गर्न सक्दैन । विशेषज्ञका अनुसार यो कम गुणस्तर र अस्पतालका निम्ति कामलाग्दो छैन । यो मेसिनको निर्माता भारतीय कम्पनीले मंगोलियाका अस्पताललाई उपहार दिए पनि यसको कार्यक्षमताबाट त्यहाँका चिकित्सक सन्तुष्ट हुन नसकेको जानकारीसमेत स्रोतले दियो ।

भारतीय मेसिन अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) को स्वीकृतिका साथै विशेषज्ञले तयार पारेको मापदण्डअनुरुप छैन । वीरका चिकित्सकका अनुसार भारतीय मेसिनले गुणस्तर नपुग्दा एफडिए लाइसेन्ससहितको अनुमति पाएको छैन । ‘यसको मूल्य अत्यावश्यक उपकरणसहित ६ देखि ७ करोड रुपैयाँभन्दा बढी पर्दैन । नेपाल सरकारले भारत सरकारसँग सहयोगका निम्ति आग्रह गर्ने हो भने सित्तैमा समेत पाउन सकिन्छ,’ स्रोतले भन्यो ।

वीरले गत वर्ष स्वास्थ्य मन्त्रालयले दिएको ८ करोड बजेटबाट कोबाल्ट मेसिन खरिद प्रक्रिया सुरु गरेको थियो । तर, बजेट नपुगेको भनी खरिद गरिएको थिएन । मन्त्रालयले १५ करोड रुपैयाँ दिएपछि यसले फेरि ग्लोबल टेन्डर प्रक्रिया करिब ४ महिनाअघि सुरु गरेको थियो । पछिल्लो पटक दुईवटा कम्पनीले मात्र टेन्डर आवेदन गरेका थिए । भारतीय कम्पनी भावाट्रोनले ११ करोड ८० लाख र चेज गणतन्त्रको कम्पनीले १२ करोड ३० लाखमा मेसिन दिने आवेदन गरेअनुसार एफडिएको स्वीकृतिबेगरको मेसिन किन्ने तयारी गरिएको हो । एफडिए स्वीकृतिसहितको क्यानाडाली कोबाल्ट–६० मेसिन दिनसक्ने कम्पनीलाई भने टेन्डर प्रक्रियामा सहभागी हुनै दिइएको थिएन ।

न्याम्स अधिकारीले एफडिए स्वीकृतिबेगरको टेन्डर रद्द गरी नयाँ सूचना निकाल्ने काम गरेका छैनन् । यसको सट्टा अधिकारीहरूले विशेषज्ञहरूलाई मेसिन खरिदका सम्बन्धमा पुनर्विचार गर्न दबाब दिइरहेका छन् ।

उपकुलपति गुरुङले क्यानाडाली कम्पनी टेन्डर प्रक्रियामा सहभागी नभएको बताए । ‘दुवै आवेदकले युरोपेली सिई मापदण्ड पूरा गरे पनि एफडिए मापदण्ड पूरा नगरेका कारण विशेषज्ञले असन्तुष्टि व्यक्त गरेका छन् । कुनै पनि टेन्डर आवेदकले सतप्रतिशत आवश्यकता पूरा गर्न सक्दैनन् । उनीहरूले ९० प्रतिशत पूर्वाधार पूरा गरेका छन् । मलाई मूल्यबारे थाहा छैन तर यसमा आगामी छ वर्षको वारेन्टीसहित मर्मतसम्भारको लागतसमेत समावेश भएको छ,’ उनले भने, ‘एक साताभित्र हामी यसमा निर्णय गर्छौं । मेसिन किन्न स्वास्थ्यमन्त्री पनि सकारात्मक हुनुहुन्छ ।’

निरन्तर प्रयास गर्दा पनि मन्त्री गगन थापासँग सम्पर्क हुन सकेन । मन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले यसबारे मन्त्रीलाई जानकारी नभएको बताए । ‘मन्त्रालयले कोबाल्ट मेसिन खरिदका लागि बजेट निकासा गरेको छ तर अन्य पक्षका लागि अस्पतालका अधिकारी पूर्ण जिम्मेवार छन्,’ उनले भने ।

 

प्रकाशित: १९ चैत्र २०७३ ०४:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App