१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काम छाडेर एनजिओको कार्यक्रममा हाकिमहरू

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत धार्चेमा भाषण गर्दै, साथमा सांसद छमबहादुर तमु लगायत अन्य कार्यालय प्रमुख र संस्थाका व्यक्तीहरु । तस्विर : फेसबुक

गोरखा – गृहमन्त्रालयको निर्देशन र निर्वाचन आचारसंहिता उलंघन गर्दै गोरखाका कार्यालय प्रमुख एनजिओका कार्यक्रममा सहभागी हुन उत्तरी गोरखाको धार्चे गाउँपालिका पुगेका छन् । केयर नेपाल र स्वाँरा सघन गाउँ विकास केन्द्र नामक एनजिओको कार्यक्रम अनुगमन गर्न सांसद छमबहादुर गुरुङको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहित आधा दर्जन कार्यालयका प्रमुखहरू कार्यालयको काम छाडेर बिहीवार र शुक्रवार दुई दिन उत्तरी गोरखामा पुगेका हुन् । 
प्रमुख जिल्ला अधिकारीसँगै एसपी जनकराज पाण्डेय, सहायक प्रमुख जिल्ला अधिकारी केशवराज शर्मा, शसस्त्र प्रहरी प्रमुख राजेन्द्रकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान प्रमुख जितबहादुर घले, कृषि कार्यालयका प्रमुख यामकुमार श्रेष्ठ लगायतका कार्यालय प्रमुख एनजिओको कार्यक्रममा सहभागी छन् । कार्यालय प्रमुखलाई लाने, ल्याउने, खुवाउने राख्ने, घुमाउने सबै काम केयर नेपाल र स्वाँरा सघनले गरेको छ । केयर नेपालका गोरखा प्रमुख माधव ढकाल र गैरसरकारी संस्था महासंघ गोरखाका अध्यक्ष समेत रहेका स्वाँरा सघनका कार्यकारी निर्देशक सिताराम श्रेष्ठले सबै चाँजोपाँजो मिलाएका छन् । 

‘सिडिओ साब् ,सांसद र एनजिओका प्रमुखले एकै ठाउँबाट जनताकाबीच भाषण गर्नुभो’ – स्थानीय

गृहमन्त्रालयले एनजिओ/आइएनजिओको कार्यक्रममा सहभागी नहुन प्रमुख जिल्ला अधिकारीलाई दिएको निर्देशन अटेरी गर्दै प्रजिअले केयर नेपाल र स्वाँरा सघन गाउँ विकास केन्द्रले निर्माण गरेको आलु संकलन केन्द्र र अलैँची खेतीको अनुगमन गरेको स्थानीयले बताएका छन् । बिहीवार बिहान गोरखा सदरमुकामबाट हिँडेको टोली साँझ गुम्दा पुगेको थियो । शुक्रवार बिहान आलु संकलन केन्द्रमा कार्यक्रम भएको र त्यहाँ प्रमुख जिल्ला अधिकारीले आचारसंहिता लाग्छ रिबन काट्नु हुँदैन भन्दै अनौपचारिक कार्यक्रम गर्न लगाएको स्थानीयले बताएका छन् । ‘सिडिओ साब् सांसद र एनजिओका प्रमुखले एकै ठाउँबाट जनताकाबीच भाषण गर्नुभो’ एक स्थानीयले भने । एक साता अघिदेखि संघ संस्थाले गोरखाका कार्यालय प्रमुखलाई आफ्नो कार्यक्रममा लैजान भव्य तयारी गरेको थियो । स्थानीयलाई पनि अनुगमनमा सिडिओ सहितको हाकिमहरु आउने भन्दै भव्य तयारी गर्न संस्थाका कर्मचारीले भनेका थिए । 
निर्वाचनको तयारी, कार्यालयको नियमित काम लगायतलाई छाडेर सडक, मतदान केन्द्र स्थल अनुगमनको बाहना बनाउँदै कार्यालय प्रमुख, एनजिओका केही व्यक्ति सहित त्यहाँ पुगेका हुन् । आठ देखि १० वटा गाडीमा ३० देखि ४० जनाको टोली कार्यक्रमका लागि गाउँ पुगेको हो । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने मतदान स्थल र सडकको अनुगमन गर्न हिँडेको बताएका छन् ।  
 
 

प्रकाशित: १८ चैत्र २०७३ ०८:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App