१५ चैत्र २०८० बिहीबार
राजनीति

उपत्यकाका दुई महानगरमा दलभित्रै प्रतिस्पर्धा

बालकृष्ण अधिकारी/मणि दाहाल/प्रकाश तिमिल्सिना

काठमाडौं- स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र उम्मेदवार बन्ने दौड सुरु भएको छ। वडा सदस्य हुँदै महानगरपालिका प्रमुख (मेयर) सम्मका लागि आआफ्नो योग्यता र हैसियतअनुसार सबै तहका नेताहरू उम्मेदवार बन्न सक्रिय छन्।

मुलुकको सबैभन्दा प्रभावशाली महानगरपालिकाका रूपमा रहेको काठमाडौंको मेयर/उपमेयर हुन दर्जनौं आकांक्षी देखापरेका छन्।

स्थानीय तहको पुनर्संरचनापछि काठमाडौंसहित अन्य तीनवटा नयाँ महानगरपालिका ललितपुर, पोखरा–लेखनाथ र भरतपुरको नेतृत्व हत्याउन अन्तरदलीय मात्र होइन, पार्टीभित्रै आन्तरिक प्रतिस्पर्धा सुरु भएको छ। मंगलबार सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले महानगरपालिका उम्मेदवार छान्ने अधिकार जिल्लालाई दिएपछि नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा तीव्र बनाएका छन्। पार्टीभित्रको विभिन्न लबी र गुटलाई समाएर उम्मेदवार बन्न कांग्रेसका नेताहरू सक्रिय छन्। 

एमालेभित्र पनि उम्मेदवार बन्ने आकांक्षीको लर्को देखिएको छ। जनतासँग प्रत्यक्ष जोडिएको र अधिकार सम्पन्न स्थानीय तहको सबैभन्दा ठूलो एकाइ महानगरमा स्थानीय नेतादेखि केन्द्रीय पदाधिकारीसम्मको नाम चर्चामा छ। स्थानीय कमिटीहरू उम्मेदवारबारे औपचारिक छलफलमा जुटेका छन्।

'पछिल्लो समयमा महानगरमा केन्द्रीयस्तरकै नेताहरूबाट उम्मेदवारी दिनुपर्छ भन्नेमा छलफल सुरु भएको छ', एमाले सचिव तथा संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले नागरिकसँग भने, 'तर केन्द्रीय नेता भन्ने अनिवार्यचाहिँ होइन।' एमालेले वैशाख पहिलो सातासम्म उम्मेदवार घोषणा गरिसक्ने गुरुङले बताए। एमालेले प्रदेश कमिटीको समेत राय लिएर महानगरपालिकाका मेयर उम्मेदवार छनोट गर्नेछ।

माओवादी केन्द्रभित्र पनि सम्भावित उम्मेदवारको चर्चा सुरु भएको छ। मुलुकका चार महानगरपालिकाको मेयर/उपमेयर हुन माओवादी केन्द्रभित्र दर्जनौं आकांक्षी देखापरेका छन्। आकांक्षीहरूले आफ्नो पक्षमा वातावरण बनाउन पार्टीभित्र लबिङ गरिरहेका छन्।

काठमाडौंमा केन्द्रीय नेताकै नजर

गुटगत आधारमा नेतृत्वका लागि जोडघटाउ भइरहेका बेला काठमाडौं महानगरपालिकाको प्रमुखका लागि झन्डै एक दर्जनको नाम चर्चामा छ। राजधानीसमेत रहेको महानगरको नेतृत्वका लागि कांग्रेसबाट केन्द्रीय सदस्यसमेत रहेका मन्त्रीहरु नवीन्द्रराज जोशी वा गगनकुमार थापालाई अघि सार्नुपर्ने धारणा कांग्रेसभित्र छ।

'संगठन मात्र होइन गाउँठाउँको समस्या बुझेको र त्यस क्षेत्रकै नेतृत्व गरेर सांसदको टिकटका लागि प्रतीक्षामा रहेकालाई उम्मेदवार बनाउनुपर्छ', एक नेताले भने, 'त्यसले चुनाव जित्नमात्र होइन विकास निर्माणसहितका सबै काममा सहयोग पुग्छ।'

त्यस्तै, पार्टीका विभिन्न तहमा बसेर जिम्मेवारी निर्वाह गरिसकेका नरोत्तम वैद्य, प्रगतिमान रन्जित, राजुमान जोशी, भीमसेनदास प्रधान, तीर्थमान डंगोल, कल्याणी रिजाल, कृष्ण अमात्य, हरिप्रिया खड्की, जानु घिमिरे, प्रतिमा गौतम, राधा घलेदेखि प्राज्ञिक क्षेत्रबाट अमुदा श्रेष्ठको नाम कांग्रेसभित्र महानगर प्रमुखका लागि चर्चामा छ। चर्चामा रहेका यिनै व्यक्तिमध्येबाट उपप्रमुखको उम्मेदवारसमेत तोकिने एक नेताले जानकारी दिए।

तर, काठमाडौं सभापति कृष्ण (सबुज) बानियाँले पार्टीको ध्यान उम्मेदवार छनोट गर्नभन्दा संगठन विस्तार र परिचालनमै केन्द्रित रहेको बताए। स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा पार्न काठमाडौं कांग्रेसको सम्पूर्ण संगठन परिचालित भएको दाबी गर्दै बानियाँले भने, 'व्यक्ति होइन, हामीले संगठनलाई महत्व दिएर पहिलो चरणको कार्यक्रम सम्पन्न गरेका छौं।'

काठमाडौं–२ का सभापति उपेन्द्र कार्कीले पार्टीको केन्द्रीय राजनीतिमा पुगेका र महानगरको प्रतिष्ठा जोगाउन सक्ने व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने बताए। 'मन्त्री, केन्द्रीय सदस्य बनिसकेकाहरू जसप्रति जनअपेक्षा र सम्भावनासमेत छ, तिनै व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने मत बलियो छ', उनले भने, 'पार्टीले जित्ने, संगठनलाई चलायमान बनाउन सक्ने र महानगरको नेतृत्व गर्न सक्नेलाई पार्टीले उम्मेदवार बनाउँछ।'

एमालेबाट काठमाडौं महानगरपालिकाको मयेरमा पार्टी सचिव योगेश भट्टराई, कृष्णगोपाल श्रेष्ठ, सानु श्रेष्ठ, जीवनराम श्रेष्ठ, जिल्ला कमिटीका सहसंयोजक वसन्त मानन्धर, सचिव विद्यासुन्दर शाक्यको चर्चा छ।

श्रेष्ठ एमाले पोलिटब्युरो सदस्य एवम् केन्द्रीय कार्यालयका सचिव हुन् भने सानु श्रेष्ठ केन्द्रीय सदस्य र उपत्यकाका इन्चार्ज हुन्। केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ महानगरपालिका पूर्ववडाध्यक्ष र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष हुन्। श्रेष्ठ खेलकुद परिषद्का पूर्वसदस्यसचिव पनि हुन्। अनेरास्ववियुका पूर्वमहासचिव मानन्धर जिल्ला कमिटीमा सहसंयोजक हुन् । उनले केही समय महानगरपालिका सञ्चालन गर्ने राजनीतिक समितिमा पार्टीको प्रतिनिधित्व गरेका थिए। शाक्य पूर्ववडाध्यक्ष हुन्।

'साथीहरूले छलफलमा नाम ल्याउनुभएको छ। कुनै धारणा बनाएको छैन', भट्टराईले भने, 'उम्मेदवार जो भए पनि पार्टीको शीर्ष तहबाट निर्णय हुनेछ। महानगरमा उम्मेदवारी दिनु  जित्नका लागि हो। सबै गुटउपगुट बाँकी नराख्ने गरी महानगरका चुनावमा सहभागी पार्टी सहभागी हुनेछ।'

एमाले काठमाडौंमा संयोजक कृष्ण राईले पार्टीभित्र आधिकारिक रूपमा उम्मेदवारका विषयमा अर्काे साता छलफल हुने बताए।  'जेजस्तो नाम बाहिर आएको छ, पार्टीभित्र छलफल भएर आएको होइन। अनौपचारिक रूपमा आएका हुन्', राईले नागरिकसँग भने।

काठमाडौं महानगरपालिकाभित्र वडा कमिटीहरूको भेला तीव्र बनाइरहेको माओवादी केन्द्रले चैत २५ भित्र सबै वडाबाट सम्भावित उम्मेदवारका नामवली पठाउन निर्देशन गरिसकेको छ। 'चैत २५ भित्र सबै वडा कमिटीले वडा अध्यक्ष/सदस्यसहित मेयर र उपमेयरको सम्भावित उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिइसकेका छौं', काठमाडौंकी नेत्री रेणु दाहालले नागरिकसँग भनिन्, 'नाम संकलन भइरहेको छ।'  चैत २५ गते उम्मेदवारको सूची आएपछि वैशाख पहिलो सातामा उम्मेदवार सार्वजनिक गरिने उनले जानकारी दिइन्।

मुलुकको सबैभन्दा प्रभावशाली महानगरपालिकाका रूपमा रहेको काठमाडौंको मेयर/उपमेयर हुन दर्जनौं आकांक्षी देखापरेका छन्। स्रोतका अनुसार पुराना कम्युनिस्ट नेता सर्वोत्तम डंगोल र समाजसेवी प्रेमसागर कर्माचार्य (बागबजार) को नाम माओवादी केन्द्रभित्र मेयरका लागि चर्चामा छ। डंगोल ०७० सालको संविधानसभामा ८ नम्बर निर्वाचन क्षेत्रवाट उम्मेदवार थिए भने हाल पार्टी पोलिटब्युरोको जिम्मेवारीमा छन्। कर्माचार्य नेपालकै सर्वाधिक रक्तदाताका रूपमा परिचित छन्। 

त्यसो त, अर्थमन्त्रीका सल्लाहकार तथा  अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हिमाल शर्मा, योगेश पौडेल, उमेश स्थापितको नाम पनि सम्भावित उम्मेदवारको सूचीमा छ। काठमाडौं महानगरपालिकाको उपमेयरमा भने सरिता महर्जन (स्वयम्भू) को  सम्भावना बलियो भएको माओवादी नेताहरू बताउँछन्।  

माओवादीले पार्टी सदस्य मात्र नभई स्वतन्त्र व्यक्तिलाई समेत उम्मेदवार बनाउन सकिने मापदण्ड बनाएकाले इच्छुकहरू थपिँदै गएको काठमाडौं इन्चार्ज लेखनाथ न्यौपानले बताए। 'पार्टी सदस्य नरहे पनि पार्टीप्रति शुभेच्छुक रहेका जित्न सक्ने स्वतन्त्र व्यक्तिलाई पनि उम्मेदवार बनाउन छलफल भइरहेको छ। जसले आकांक्षीको संख्या बढाएको छ', न्यौपानले नागरिकसँग भने। 

उता, पहिलोपटक महानगरपालिका भएको ललितपुरमा पूर्वसांसददेखि स्थानीय व्यक्तिले उम्मेदवारका लागि दाबी गरेका छन्। 'वडा सम्मेलन सम्पन्न गरेपछि मेयर र उपमेयरको टुंगो लगाउँछौं', माओवादी केन्द्रका ललितपुर इन्चार्ज दिलिप प्रजापतिले नागरिकसँग भने, 'उम्मेदवार टुंगो लगाउन अहिले वडा र नगर सम्मेलन भइरहेका छन्।' प्रजापतिका अनुसार सर्वसम्मत रूपमा माओवादीले चैत अन्तिम साताभित्रै उम्मेदवार चयन गरिसक्नेछ।

ललितपुरमा 'हेभिवेट'

ललितपुर महानगरपालिकाको उम्मेदवार बन्न कांग्रेसका नेताहरू सक्रिय छन्। गुटगत आधारमा कांग्रेस नेताहरूले प्रमुख र उपप्रमुखका लागि नाम चर्चामा ल्याए पनि पार्टीमा उम्मेदवार छनोटले प्रवेश पाइनसकेको ललितपुर कांग्रेस कोषाध्यक्ष कर्मा व्यञ्जनकारले बताए। 'सबै आआफ्नो ढंगबाट खटिनुभएको छ', उनले भने, 'लोकतन्त्रमा नेतृत्वका लागि आकांक्षा राख्नु अस्वाभाविक होइन तर पार्टीको ध्यान संगठन परिचालन र विस्तारमै केन्द्रित छ।'

ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका एक दर्जन आकांक्षी छन् । तीमध्ये प्रकाशनन्द जोशी, प्रेमकृष्ण महर्जन, नवराज महत, उर्मिला केसी, जिरीबाबु महर्जन, भरतलाल न्याछ्यो, रामकृष्ण चित्रकारको नाम चर्चामा छ। त्यस्तै, उपप्रमुखमा सानुबाबु महर्जन, गीता सत्याल, फरिन्दा मर्हजन, इरु खड्कासहितका नेता आकांक्षी छन्। 

एमालेका तर्फबाट मेयरमा हरिकृष्ण व्यञ्जनकार, प्रेमलाल महर्जन र ज्ञानेन्द्र शाक्यको चर्चा छ। जिल्ला कमिटी अध्यक्ष भएकाले व्यञ्जनकारको दाबी सशक्त रहेको एमाले नेताहरूको बुझाइ छ। अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको सचिवालयमा काम गरेका शाक्य पूर्ववडाध्यक्ष हुन्। महर्जन ज्यापू समाजका अध्यक्ष हुन्। 'पार्टी केन्द्रबाट सर्कुलर पाउनासाथ उम्मेदवार छनोट सुरु हुनेछ', अध्यक्ष व्यञ्जनकारले भने।

एमालेले स्थानीय तहमा लागि मापदण्ड निर्धारण गरेको छ। मापदण्डअनुसार पार्टीप्रति प्रतिबद्ध, निष्ठावान् र अनुशासित, असल आचरण, भ्रष्टाचार वा नैतिक पतन देखिने काममा संलग्न नभएको र सार्वजनिक प्रतिष्ठाामा आँच पुग्ने काममा संलग्न नभएको भन्ने छ। 

माओवादी केन्द्रका तर्फबाट काठमाडौंभन्दा ललितपुरमा 'हेभिवेट' हरूले मेयर/उपमेयरका लागि चासो दिएका छन्। ललितपुरको मेयरका लागि पूर्व सभासद्देखि सभासद्का उम्मेदवारको नाम चर्चामा छ। ललितपुर मेयरका लागि पूर्वसभासद् राजकाजी महर्जन, संविधानसभा–२ का उम्मेदवारद्वय सरोज डंगोल (क्षेत्र नं. २) र दीपेश श्रेष्ठ (क्षेत्र नं.३) को नाम बढी चर्चामा छ भने ज्यापू समाजका पूर्वअध्यक्ष मंगल महर्जन पनि सम्भावित उम्मेदवारको सूचीमा छन्। यसैगरी, बुद्धलक्ष्मी महर्जन र अञ्जली शाक्यको नाम उपमेयरका रूपमा चर्चामा छ। ललितपुर अध्यक्ष हरि दाहालका अनुसार वडाध्यक्ष र सदस्यका आकांक्षी देखिन थाले पनि अन्य टंुग्याउँदै जाने प्रक्रिया सुरु भएको छ।

माओवादीले बनाएको उम्मेदवार छनोटसम्बन्धी विधिअनुसार महानगरका उम्मेदवारको अन्तिम निर्णय भने पार्टी केन्द्रीय कार्यालयले गर्ने नेता गिरिराजमणि पोखरेलले बताए।  'सम्भावित उम्मेदवारको नाम सम्बन्धित कमिटीले तय गर्ने र त्यसको अनुमोदन सोभन्दा माथिल्लो कमिटीले गर्ने नीति बनाएका छौं', पोखरेलले नागरिकसँग भने, 'तर, महानगरको मेयर र उपमेयर चयन  हेडक्वार्टरले गर्नेछ।' उनका अनुसार पार्टीले वैशाख पहिलो साताभित्रम महानगरका मेयर, उपमेयरका उम्मेदवार छनोट गरिसक्नेछ।

प्रकाशित: १७ चैत्र २०७३ ०१:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App