८ वैशाख २०८१ शनिबार
राजनीति

२६ वर्षपछि थवाङ पस्यो कांग्रेस

दाङ- माओवादी दस वर्षे द्वन्दको उद्गम थलो रोल्पाको 'थवाङ', नेपाली कांग्रेसका लागि २६ वर्षसम्म बिरानो बन्यो। संसदीय पद्धति अंगालेका पार्टीलाई बहिष्कार गर्ने थवाङीको कडा नीतिलाई कांग्रेसले नाघ्न सकेन। फलस्वरुप थवाङमा कांग्रेसले पार्टीगत गतिविधि गर्नै पाएन। तर अहिले परिस्थिति फेरिएको छ। २६ वर्षसम्म थवाङ पस्न नसकेको कांग्रेस चैत ५ गते त्यहाँ पुगेको छ। कांग्रेस नेतालाई थवाङीले फूलमाला, बाजागाजासहित भव्य स्वागत गरे। रोल्पा कांग्रेसले जिल्ला कार्यसमितिको बैठक थवाङमा राखेको थियो। 'हामी २६ वर्षपछि थवाङ पुग्यौं,' पार्टी जिल्ला समितिको बैठकका लागि थवाङ पुगेकी कांग्रेस नेत्री श्रीकुमारी रोका भन्छिन्, 'त्यहाँ फूलमाला, बाजागाजासहित भब्य स्वागत पाउँदा खुशीले मन भरियो।' कांग्रेस नेताले थवाङीसँग साक्षात्कार गरे। 'त्यहाँका नागरिकसँग भलाकुसारी गर्ने अवसर मिल्यो,' उनले भनिन्, 'सबैले विकास निर्माणमा चासो दिनुभयो।'

२०४६ सालको राजनीतिक परिवर्तनपछि थबाङ  कांग्रेसलगायत दलका गतिविधिलाई 'निषेध' गरिएको थियो। लामो समयसम्म थवाङमा प्रवेश नपाएको अर्को दल एमालेले पनि त्यहाँ गाउँ कमिटी नै निर्माण गरेको छ। केही समयअघि थवाङ छिरेको एमालेले त्यहाँ २१ सदस्यीय गाउँ कमिटी निर्माण गरेर संगठन विस्तार अभियानलाई तिरन्तरता दिएको छ। एमाले थवाङ गाउँ कमिटी अध्यक्ष हितबहादुर रोका भन्छन्, 'थवाङ फेरिइसकेको छ, हामी संगठन विस्तारमा थवाङमा सक्रिय छौं।'

तत्कालीन एकीकृत नेकपा माओवादी (हाल माओवादी केन्द्र) प्रतिको असन्तुष्टिले पछिल्लो संविधानसभा निर्वाचनमा शून्य मतदानको अवस्थामा पुगेको थवाङमा अहिले माओवादी केन्द्रप्रतिको वैमनश्यता पनि हटिसकेको छ। माओवादी चोइटिएपछि दोस्रो संविधानसभा चुनाव बहिस्कार नीति लिएको मोहन वैद्य नेतृत्वको माओवादी थवाङमा हाबी भएपछि पछिल्लो संविधानसभामा थवाङ शून्य मतदानको अवस्थामा पुगेको थियो। त्यतिबेलै थवाङमा अन्य दललाई प्रवेश निषेधे नीति लिएको सो दलका कार्यकर्ताले प्रवेश गर्नेलाई लखेटेको थिए। त्यो आक्रोशमा सभामुख ओनसरी घर्ती परेकी थिइन्। चुनावी प्रचारका लागि थवाङको 'मरान्ठान' पुगेका बेला उनको सभालाई थवाङीले बिथोलिदिएका थिए। अहिले थवाङले माओवादी केन्द्रलाई समेत स्वीकार गरिसकेको छ।

माओवादी केन्द्रले पनि केही समयअघि थवाङ पुगेर पार्टीको एकाइ कमिटी विस्तार गरिसकेको छ। 'फागुन २१ गते थवाङ पुगेर गाउँस्तरीय कमिटी निर्माण गरिसकेका छौं,' माओवादी केन्द्रका रोल्पा इन्चार्ज दीपेन्द्र पुनले भने, 'अहिले त्यहाँ हाम्रो सांगठनिक क्रियाकलाप भइरहेका छन्।'

अहिले राष्ट्रिय जनमोर्चा पनि थवाङ केन्द्रित छ।   त्यसैले कुनै बेला अन्य दललाई 'प्रवेश निषेध' तोकिएको माओवादी गढ थवाङ अब कुनै पनि पार्टी लागि निषेधित छैन।

समानता र विकासका लागि भन्दै बन्दुक उठाएको थवाङलाई अहिले राहत अनुभूति भएको छ। 'गाउँमै सरकार आउनुपर्छ' भन्ने मानसिकता बोकेको थवाङलाई अहिलेको शासन व्यवस्थाले शान्त्वना दिएको छ। थवाङमै स्थानीय सरकारको मुकाम (गाउँपालिका केन्द्र) स्थापना भएपछि थवाङी विकास र सुविधा पाउने विश्वासले पुलंकित छन्। चार पाँच दिनको पैदल हिँडेर सरकारी सेवा सुविधाका लागि लिवाङ झर्नुपर्ने थवाङी अब त्यो सास्तीबाट मुक्त हुने छन्। यसै कारण फरक राजनीतिक आस्थालाई पनि सम्मान गर्ने संस्कार थवाङले देखाएको छ। कांग्रेसलाई बाजागाजासहित गरेको स्वागतलाई अरुलाई सम्मान गर्ने संस्कारको उपज मान्न सकिने एमाले थवाङ अध्यक्ष रोका बताउँछन्।। 'विकास चाहेका थवाङीमा अब विकासको ढोका खुल्ने आशा पलाएको छ,' उनी भन्छन्, 'विकासमै चिन्तित उनीहरू अहिले अरुलाई पनि सम्मान गर्ने संस्कारको सिको गरिसकेका छन्।'

थावाङीले दोस्रो संविधानसभा निर्वाचनमा मतदान नगर्नुलाई गम्भीर 'त्रुटि' महसुस गरेका छन्। 'त्यहाँ पहिलेको जस्तो एक दलको एकल शासन अहिले छैन,' कांग्रेस नेत्री रोका भन्छिन्, 'विगतमा मताधिकार प्रयोग गर्न नपाएकोमा पछुतो भएको आभास पनि पाइयो।' संविधानसभा निर्वाचनमा शून्य मतदानको अवस्थामा पुगेको थवाङले आसन्न स्थानीय तह निर्वाचनप्रति सकारात्मक बहस गर्न थालेको छ। थवाङमा मतदान विषयमा छलफल बाक्लिँदै गएको त्यहाँका नेता बताउँछन्। थवाङसहित मिरुल र उँघा गाविसलाई समेटेर निर्माण गरिएको थवाङ गाउँपालिकाको केन्द्र थवाङमै छ।

थवाङ प्रवेश पाएका राजनीतिक दलले चुनावी वातावरणसमेत निर्माण गरिरहेका छन्। 'थवाङले चुनाव चाहेको छ,' एमाले अध्यक्ष रोका भन्छन्, 'गाउँको सरकार सञ्चालनका लागि चुनाव अपरिहार्य छ भन्ने बुझाइको विकास भएको छ।' यही बुझाइलाई 'क्यास' गर्दै थवाङमा स्थानीय तह चुनाव तयारीमा दल लागिसकेका छन्।  'अहिले थवाङबाट मत खस्छ,' रोका भन्छन्, 'त्यो मत एमाले पक्षमा पान मैंले घरदैलो अभियान थालेेको छु।' 

विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीका कार्यकर्ताले चुनाव बहिष्कार नीति अवलम्बन गरे पनि त्यो पार्टीभन्दा फरक विचारका थवाङी  मतदान गर्न आतुर रहेको रोका बताउँछन्। 

माओवादी केन्द्रले पनि स्थानीय निर्वाचन स्थानीय प्रयोजनकै लागि हुने भएकाले थवाङमा मतदान हुने विश्वास लिएको छ। 'स्थानीय तह निर्वाचन भनेको स्थानीयका लागि  हो,' माओवादी केन्द्रका इन्चार्ज पुन भन्छन् 'यसर्थ अहिलेको स्थानीय तह निर्वाचनमा बहिष्कारको अवस्था पक्कै रहनेछैन।'

विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी थवाङका नेता जयप्रकाश रोका भन्छन्, ' 'मतदान गर्नै हुन्न भनेर हामीले कडाइ गर्ने कुरै हुँदैन तर आश्वासनलाई भन्दा विचारलाई मत दिनु होला भनेर हामीले भनिरहेका छौं।'   थवाङीलाई झुट्टा आश्वासन बाँडेर विभाजन गर्न नदिइने सो पार्टीका नेता बताउँछन्। 'उहाँहरू (अन्य दल) लाई थवाङमा पस्नै नदिने नीति छैन,' विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीका नेता सन्तोष बुढाले भने, 'तर झुट्टा आश्वासन बाँडेर सिंगो थवाङलाई विभाजन गराउने नियत कसैले पनि राख्न पाउने छैन।' २६ वर्षपछि थवाङ पस्दा पनि कांग्रेस नेताले आफूलाई सोधेको भन्दै उनले जनतालाई पार्टीगत प्रलोभन नबाँड्न सुझाव दिएको वताए।

विकास र समानताको व्यग्र अपेक्षामा रहेका त्यहाँका जनताले तत्कालीन माओवादीबाटै ठूलो धोका पाए। माओवादी सबैभन्दा ठूलो दल बनेर पहिलो संविधानसभामा दरियो तर थवाङ उस्तै रह्यो। माओवादीबाट पहिलो संविधानसभा निर्वाचनका बेला समानताको आश्वासन पाएको थवाङले व्यवहारतः माओवादीलाई त्यस रुपमा नपाएपछि थवाङमा आक्रोश झनै चुलियो। फलस्वरुप दोस्रो संविधानसभा निर्वाचनमा थवाङ शून्य मतदानको अवस्थामा पुग्यो। अहिले थवाङमा विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीको प्रभाव बढी छ। तर पछिल्लो संविधानसभा निर्वाचनका बेला जस्तो एउटै दलको नियन्त्रणमा छैन। त्यहाँ अहिले हरेक राजनीतिक पार्टीका स्थानीय नेता खुल्न पाएका छन्। 

प्रकाशित: १३ चैत्र २०७३ ०२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App