coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमाले 'पर्ख र हेर' को अवस्थामा

काठमाडौं- राजविराज घटनापछि प्रमुख प्रतिपक्षी दल एमाले तराईमधेसका कार्यक्रम सञ्चालन गर्ने विषयमा 'पर्ख र हेर' को अवस्थामा देखिएको छ। सरकारबाट समर्थन फिर्ता लिएर आन्दोलन घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अख्तियार गर्ने रणनीतिकै आधारमा एमालेले तराईमधेसमा आगामी कार्यक्रम निर्धारण गर्न लागेको हो।

'मधेसी मोर्चाले आफ्नो राजनीतिक गतिविधिमा आपराधिक कार्य पनि मिसाएको छ। त्यसले कसरी डिल गर्ने भनेर अप्ठ्यारो भएको छ', एमाले सचिव प्रदीप ज्ञवालीले नागरिकसँग भने, 'मधेसी मोर्चाले कस्तो रणनीति लिन्छ त्यसैअनुसार हामी तराईमधेसमा अघि बढ्नेछौं।'

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अख्तियार गर्ने रणनीतिकै आधारमा एमालेले तराईमधेसमा आगामी कार्यक्रम निर्धारण गर्न लागेको हो।

एमालेले मेची–महाकाली राष्ट्रिय अभियान सकिएपछि प्रदेश नम्बर २ का आठ जिल्लालाई लक्षित गर्दै सुरुमा कार्यकर्ता भेला र त्यसपछि ठूला आमसभा गर्ने निर्णय गरेको छ।

अभियानअन्तर्गत गत सोमबार सप्तरीको राजविराज कार्यक्रमलाई बिथोल्न खोज्दा प्रहरीसँग भएको झडपमा आफ्ना पाँच कार्यकर्ता मारिएपछि आक्रोशित मोर्चाका स्थानीय कार्यकर्ताको निसानमा एमालेका नेता तथा कार्यकर्ता पर्दै आएका छन्। राजविराज घटनापछि एमालेले प्रदेश नम्बर २ का आठ जिल्लामा सबै कार्यक्रम स्थगित गरेको थियो। प्रदेश नम्बर ३ को हेटांैडाबाट गत शुक्रबारदेखि पुनः सुरु भएको अभियान शनिबार सुर्खेतमा पुगेर सकिँदैछ। अभियान फागुन २१ गते झापाको काँँकडभिट्टाबाट भएको थियो। मोर्चाले आफ्नो प्रभाव रहेको प्रदेश नम्बर २ का विभिन्न स्थानमा एमाले निषेधित क्षेत्र घोषणा गरेका छन्।

'अहिले केही समस्या देखिएको छ। एमाले निषेधित विभिन्न स्थानमा ठाउँठाउँमा टाँसिएको छ। सहरभन्दा गाउँमा एमाले समर्थकमाथि बढी दबाब छ', नवनियुक्त वैकल्पिक केन्द्रीय सदस्य सुधीर साहले नागरिकसँग भने, 'हामी अफेन्सिप रूपमा गएका छैनौं। एमाले मात्र एकातिर अरू सबै एकतिरजस्तो अवस्था भएको छ। आन्तरिक कार्यक्रम गरेका छौं।'

उनले चैतभित्रै जनकपुरमा ठूलो आमसभा गर्ने तयारी भइरहेको बताए।

विभिन्न स्थानमा एमाले कार्यालयमा आगजनी र तोडफोड भएको छ भने स्थानीय नेताकार्यकर्तामाथि हातपात भएको छ।

'राजविराजमा जुन प्रकारको घटना भए त्यसलाई हामीले गम्भीर रूपमा लिएका छौं', ज्ञवालीले भने, 'हिंसाको सहारा लिएर हुने गतिविधिले ल्याउने परिणामका बारेमा विदेशको उदाहरण लिनै पर्दैन। माओवादी नै हाम्रो अघि उदाहरण छ।'

ज्ञवालीले मधेसमा सिके राउत, ज्वाला सिंह र गोइतले मधेसी मोर्चा चलाएको हो कि मधेसी मोर्चाले उनीहरूको उपयोगी गरिरहेका भन्ने विषय छुट्याउन अन्योल भएको बताएका छन्। 'हामी मोर्चा कमजोर होस् भन्ने पक्षमा होइनौं। मोर्चा हिंसात्मक र आपराधिक गतिविधि गर्नेलाई आवरण प्रदान गर्ने मञ्च बन्नु भएन',  ज्ञवालीले भने।

मधेसी मोर्चा र एमालेबीच संविधान संशोधनसहितका विषयमा विमति रहँदै आएको छ। मोर्चाको माग पूरा गर्न भन्दै सरकारले अघि सारेको संशोधन प्रस्तावमा एमालेले चर्को विरोध गर्दै आएको छ।

'मधेसी मोर्चाले अघि सारेको मुद्दामा सहमति हुन सक्दैन। चुनावमा जाऔं, त्यसले छिनोफानो गर्छ', ज्ञवालीले भने, 'असहमतिबीच पनि गतिविधि गर्ने विषयमा रोक्न हुँदैन। हामी मोर्चाको आलोचना गछर्ौं र उहाँहरूले पनि आलोचना गर्न पाउनुहुन्छ।'

ज्ञवालीले एमालेले मधेस मात्रै नभएर देशभर स्थानीय चुनाव केन्द्रित कार्यक्रम आयोजना गर्ने बताए।

'हाम्रो कार्यक्रम स्थानीय चुनाव लक्षित गरेर देशभर हुनेछन्,' ज्ञवालीले भने, 'प्रदेश नम्बर २ मा पनि त्यसैअनुसारका कार्यक्रम आयोजना हुनेछन्।'

संविधानका विषयमा असन्तुष्टि जनाउँदै आएको मधेसी मोर्चाले लामो समयदेखि आन्दोलन गर्दै आएको छ।

प्रकाशित: ३ चैत्र २०७३ ०२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App