१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रस्ताव अनुसार केन्द्र नतोकिएको भन्दै विरोध

बाजुरा- बाँधु, रुगीन र बिच्छ्या गाविस मिलाएर हिमाली गाउँ पालिका बनाउन स्थानीय सहमत भए। गाउँपालिका बनाउने सहमतिसँगै केन्द्रको पटि टुङ्गो लगाए। साविक तीन गाविसकोबीच स्थान भट्टेचौर केन्द्र बनाउने सहमति सहीत आयोगमा नाम सहीत प्रस्ताव गरियो।

तर आयोगको सिफारिस अनुसार राजपत्रमा प्रस्ताव गरिएको स्थान परेन । राज्यको पुरानो संरचना नै भएको स्थानमा केन्द्र बनाउनु पर्ने दाबी सहीत बाँधु गाविस कार्यालय रहेको स्थानमा केन्द्र राख्न भनिएको छ। सरकारको निर्णयले बिच्छ्या र रुगीनका जनताका लागि विकेन्द्रीकरणले न्याय नभई अन्याय थपिएको छ।

बिच्छ्याबाट बाँधु पुग्ने एक देखि २ दिनसम्म लाग्छ। भौगोलिक सीमा र अवस्थालाई ख्यालै नगरिएको बिच्छ्या बासीको आक्रोश छ। गाउँमा सेवा दिने भनेर संघीय संरचना निर्माण गरिए। हाम्रालागि न्याय होइन अन्याय भयो, बिच्छ्याका धर्मलाल सुनारले बताए।

जिल्लामा ९ वटा स्थानीय तह निर्माण भएका छन् । ती मध्ये ५ वटा स्थानीय तहका केन्द्र प्रस्ताव गरिए अनुसार छैनन् । जसले स्थानीय बीच गाउँमै आपसी विवाद बढेको छ । सर्वपक्षीय सहमतिमा एक निर्णय गरेर पठाईयो, माथिबाट अर्कै निर्णय भएर आयो, जनतालाई झगडाउने काम भयो, दहकोटका गोरख बोहराले बताए।

साविक दहकोट, मानाकोट र बडिमालिका नगरपालिका १ मिलाएर बनाईएको गौमुल गाउँ पालिकाको केन्द्र पनि मानाकोट राख्न भनिएको छ । घटमुनाको प्रस्ताव गरिएको थियो, माथिबाट अगल निर्णय आएपछि कुन स्थानमा कार्यालय राख्ने अन्यौल भएको बोहराले बताए।

ब्रह्मतोला, बाह्विस र कुल्देवमाडौं गाविसको केन्द्र फालासैन प्रस्ताव गरिएकोमा टाँटे सारेदेउ भएर आएपछि विवाद उत्पन्न भएको छ। एक पक्षले सरकारले पठाएको परिपत्र अनुसार नै कार्यालय हुनु पर्ने भन्दै कार्यालय स्थापना गरिसकेका छन्। भने अन्य स्थानीय आन्दोलित बनेका छन् । बाह्विस र बह्मतोलाका स्थानीयले कुल्देवमाडौंको पुरानै गाविस भवनमा कार्यालय आफूहरुका लागि अस्वीकार्य भएको दाबी गरेका छन्।

मंगलबार निमित्त कार्यकारी अधिकृत लिएर केही व्यक्तिहरुले सारेदेउमा कार्यालय स्थापना गरी सकेका छन्। फालासैनमै केन्द्र राखिनु पर्ने माग गर्ने पक्षले भने कार्यालयमा तालाबन्दी गर्ने र कामकाज सुचारु हुन नदिने चेतावनी सहीत आन्दोलित बनेको छ। सर्वपक्षीय सहमति अनुसार नै काम हुनु पर्ने माग सहित आन्दोलन सुरु गरेको डम्मर थापाले बताए।

त्यस्तै जगन्नाथ र गोत्री गाविस मिलेर बनेको पाण्डव गुफा गाउँपालिकाको केन्द्र जुड्डीप्रस्ताव गरिएपनि जगन्नाथ गाविस कार्यालय तोकेर आएको छ । हाल जगन्नाथमै कार्यालय स्थापना भएको छ, बहुमतको निर्णय गरेर पछि जुड्डीमै सार्ने तयारी भएको गोत्रीका कृष्ण बमले बताए । वाई, जुकोट र साप्पाटाको केन्द्र सुईजिउला प्रस्ताव गरिएको वाई भएर आएको छ । जहाँ पुग्न साप्पाटाबाट एक दिनको पैदल दुरी लाग्ने गर्छ।

स्थानीयले सरकारले गाउँ तथा नगरपालिकाको केन्द्र तोक्ने विषयमा जनभावनालाई समेट्न नसेको प्रति स्थानीयले विरोध जनाएका छन् । जिल्लाबाट प्रस्तावित निर्णयको बेवास्ता गर्दै पुरानै इलाका र गाविस कार्यालयलाई केन्द्र तोकिएको प्रति स्थानीयले विरोध जनाएका हुन्।

राज्यले गर्ने निर्णय जनताको भावना सम्वोधन हुने गरी गर्नु पर्नेमा प्रस्तावित निर्णयलाई समेत उल्टाएर पठाएको स्थानीयको आरोप छ। सर्वपक्षीय सहमतिबाट जिल्ला स्तरबाट गरिएको प्रस्तावलाई बेवास्ता गर्दै मनोमानी रुपमा जन भावना विपरित भौगोलिक दुरीको आँकलन नगरी केन्द्र तोकेर पठाएको प्रति स्थानीयले निर्णय सच्याउन माग सहीत जिल्ला समन्वय समितिलाई ज्ञापन पत्र समेत बुझाएका छन्।

                राजपत्रमा नै उल्लेख भईसकेकोले त्यो निर्णय सच्याउन समस्या हुने जिल्ला समन्वय समितिले प्रतिक्रिया दिने गरेको छ । सरकारले गरेको निर्णयमा समन्वय समितिले बोल्न नमिल्ने समन्वय समिति जिल्ला सचिव प्रकाशराज पौडेलले बताए । केन्द्रका विषयमा बढेको विवाद थपिदै गएको छ । उसोत दलका नेताहरुले समेत जिल्ला समन्वय समितिका कर्मचारीलाई आफू अनुकुल गर्न दबाब दिने गरेका छन्।

प्रकाशित: २ चैत्र २०७३ १०:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App