८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

कार्यालय खोलेर शेर्पाले फाराम भराउँथे

पूर्वसभासद् आङटावा शेर्पा

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन प्रधानमन्त्रीपछिको महत्वपूर्ण मन्त्रालय सम्हालेका गृहमन्त्री र सचिव नै मानव तस्करीमा संलग्न हुँदा पूर्वसभासद् आङटावा शेर्पाले कार्यालय नै खोलेर नेपालीलाई भुटानी शरणार्थीको फाराम भराएको पाइएको छ। उनले ललितपुरको एउटा घरमा कार्यालय नै खोलेर अमेरिका पठाउने भन्दै नेपाली नागरिकलाई भुटानी शरणार्थीको फाराम भराएको भिडियो नै यतिबेला सार्वजनिक भएको हो।

सोमबार साँझ प्रहरी कार्यालय पुगेका शेर्पालाई प्रहरीले तत्कालै छाड्ने तयारी गरेको थियो। तर उनले कार्यालय खोलेर नक्कली भुटानी शरणार्थी बनाउँदै फाराम भराएका तीनवटा भिडियो प्रहरीले फेला पारेपछि भने अनुसन्धान सुरु गरेको छ। ‘शेर्पाले एक वर्षअघि आफूनजिक रहेका र केही व्यक्तिलाई कार्यालय नै खोलेर फाराम भराएको भन्ने भिडियो प्राप्त भएको छ, त्यसबारे अनुसन्धान हुँदै छ,’जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले भने।  

स्रोतका अनुसार शेर्पाले उनका आफन्त डेजोन शेर्पाले समेत पैसा उठाएको दाबी गरिएको छ। उनले सुरुमा ६ लाख, २० लाख र २४ लाखका दरले पैसा उठाएका थिए। उनीसँग संलग्न गौतम थरका एक व्यक्तिलाई पनि प्रहरीले खोजी गरिरहेको छ। ‘आफ्नो थर गौतम बताइरहेका छन् तर उनको नाम र थर नक्कली हो कि भन्ने शंका छ। हामीले खोजी गरिरहेका छौ,’प्रहरी स्रोतले भन्यो। शेर्पा प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेलगत्तै प्रहरीलाई पुगेको भिडियोमा शेर्पाकै उपस्थितिमा भुटानी शरणार्थीको फाराम भराइराखेको स्पष्ट देख्न सकिन्छ।

नेपाली नागरिकलाई संगठित रूपमै नक्कली भुटानी शरणार्थी बनाउने र रकम उठाएर विदेश पठाउने काममा संलग्न देखिएपछि गृहमन्त्री, गृह मन्त्रालयका सचिवसहित पक्राउ परे। साथै प्रहरीले विभिन्न व्यक्तिहरूलाई पक्राउ गर्ने र अनुसन्धान गर्ने गरिरहेको छ। त्यसै क्रममा शेर्पाले आरोपितलाई भेटेर पूर्व गृहमन्त्री बालकृष्ण खाणको नाम नलिइदिन लविङ गरेका थिए। त्यही क्रममा प्रहरीले शेर्पालाई पक्राउ पूर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएपछि फरार रहेका शेर्पा सोमबार साँझ आफैं प्रहरी परिसरमा हाजिर भएका थिए। प्रहरीले सुरुमा कुनै पनि प्रकारको प्रमाण फेला नपारेपछि उनलाई सोमबार साँझ नै छाड्ने तयारी गरेको थियो। तर जब पीडितले उनको संलग्नता रहेको भन्दै प्रहरीलाई भिडियो पठाइदिए त्यसपछि भने उनीमाथि अनुसन्धान सुरु गरेको छ। ‘उहाँसँग पनि केही विषयबारे जानकारी लिनुपर्ने भएकाले प्रहरी कार्यालयमा राखिएको हो’, परिसर प्रमुख एसएसपी कार्कीले भने।  

गृहमन्त्री र गृहचिवलाई प्रलोभनमा पारी गृह प्रशासन नै कब्जामा लिएर नेपाली गिरोहको टोलीले नेपाली नागरिकबाट ५० लाखका दरले पैसा उठाएका थिए। अझ उनीहरूले त्यसका लागि मन्त्रालयकै गाडीसमेत प्रयोग गरेका थिए। यस्तो अवस्थामा शेर्पाले पनि तत्कालीन गृहमन्त्री खाणसँगै कुराकानी गरेर पैसा उठाएको स्रोतको दाबी छ। ‘तत्कालीन गृहमन्त्री खाणसँग राम्रो सम्बन्ध भएकै कारण गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारीलाई भेटेर खाणको नाम नलिन आग्रह गरेका थिए अन्नतः अनुसन्धान शेर्पामाथि सोझिएको छ,’प्रहरी स्रोतले भन्यो।  

राज्यसंयन्त्रको चरम दुरूपयोग गरेर मन्त्रालयको प्रतिवेदन बाहिर नागरिकलाई दिएर नेपाली नागरिकसँग मोटो रकम लिई शरणार्थीको नाममा अमेरिका पठाउन लागेका तथ्यहरू बाहिर आएका बेला प्रहरीले दिनदिनै नयाँ तथ्य र प्रमाणहरूमाथि अनुसन्धान गर्नुपर्ने अवस्था सिर्जना भएको छ। मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डेले मन्त्रीकै निर्दैशनमा सबै काम गरेको बयान दिएपछि तत्कालीन गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका थिए। त्यति मात्र होइन, नीति बनाउन उक्साउने र दलाल गिरोहको नाइकेसँग मिलेर कार्यदल गठन गर्न लगाउने तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईको संलग्नता देखिएको थियो।  

प्रहरीले अहिलेसम्म सो प्रकरणमा १४ जनालाई पक्राउ गरिसकेको छ। प्रहरीलाई मुद्दा बुझाउन अझै केही दिन लाग्ने भएकाले सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबारसम्म मुद्दाका फाइल ल्याइदिन दिएको निर्देशनमा केही लचिलो भएको छ। ‘बुधबार नै मुद्दा बुझाउन सकिने अवस्था छैन, केही दिन समय थप हुन्छ होला,’अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने।  

पछिल्लो पटक मन्त्रिपरिषद्ले सो प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि गिरोहका सदस्यहरूले प्रतिवेदन देखाउँदै रकम असुल गरेका थिए। त्यसअघि पनि छुट दर्ता गर्ने भन्दै उनीहरू १० देखि ५० लाख रूपैयाँसम्म असुली गरेका थिए। उनीहरूले तत्कालीन गृहमन्त्री खाणलगायत नेताहरूलाई रकम बुझाउनुपर्ने भन्दै असुल उपर गरेका थिए।  

खाणले गिरोहका सदस्यसँग मनी ट्रान्सफरमार्फत पैसा बुझेको प्रमाण फेला परेको प्रहरी स्रोतको दाबी छ। गिरोहका सदस्यहरूसँगको कल डिटेल्स, च्याट आदिलाई पनि प्रमाणका रूपमा लिँदै त्यस्तो दाबी गरेको हो। खाणका अलावा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, सन्देश शर्मा पोखरेल, टेकनारायण पाण्डे र सन्दीप रायमाझीलगायत प्रहरी हिरासतमा छन्। अहिलेसम्म उनीहरूविरुद्ध २० वटा उजुरी परेको छ। प्रहरीका अनुसार १५४ जना पीडित सम्पर्कमा आएको प्रहरीको दाबी छ। प्रहरीका अनुसार पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा, सु्रक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज राई फरार छन्। प्रहरीले उनीहरूको पनि खोजी गरिरहेको जनाएको छ।

प्रकाशित: ३ जेष्ठ २०८० ००:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App