७ वैशाख २०८१ शुक्रबार
राजनीति

सांसद दहितलाई विद्यावारिधि

काठमाडौं- सांसद गोपाल दहितले शाक्यमुनि 'सिदार्थ गौतम थारु समुदायका पुत्र' भएको विभिन्न कोणवाट प्रमाणित गरेका छन्। उनले यही विषयमा असोज ६ गते लुम्बिनी विश्वविद्यालयबाट विद्यावारिधि प्राप्त गरेको जानकारी दिएका छन्।

'बुद्ध र बौद्धधर्मसँग थारु जातिको ऐतिहासिक, सामाजिक र सांस्कृतिक सम्बन्ध' बिषयक दहितको शोधपत्रमा 'बुद्धको कुल थारु समुदाय' हो भन्ने तथ्य केलाइएको छ।

'गौतम बुद्ध थारु समुदायका हुन् भनेर मैले विभिन्न कोणबाट शोधपत्रमार्फत प्रमाणित गरेको छु', दहितले नागरिकसँग भने।

कपिलवस्तुमा भेटिएका गहनाका बनावट र घोडाघोडीका मूर्तिहरुको बनावट, थारु समुदायले प्रचलनमा ल्याउने गरेका मौलिक गहनाका बनोट मिलेका प्रमाण उनले अघि सारेका छन्। हाल नेवार समुदायभित्र पर्ने शाक्य र कोलीय समुदाय थारुभित्र पर्ने विभिन्न अध्ययन–अनुसन्धानले प्रमाणित गरेको विषयलाई आधार मानेर उनले त्यसमा थप अनुसन्धान गरेका थिए। 'हालको शाक्यका उच्चारण शैली दन्त्य नभई तालव्य छ, थारुको पनि तालव्य नै भएकाले मिल्न पुगेको यो एउटा प्रमाण हो', उनले शोधमा जिकिर गरेका छन्, 'हाल नेवार बनाइएका शाक्य र कोलीय संस्कृति र परम्परा थारुसँग मिल्दोजुल्दो देखिन्छ।'

दहितले बौद्धधर्मको सबैभन्दा पुरानो सम्प्रदाय 'थेरवादी', जो तन्त्रमन्त्र र चामत्कारिक अवधारणामा विश्वास गर्दैन, त्यसको अनुसरण थारुले नै स्थापित गराएको दाबी शोधपत्रमा गरेका छन्। 'सो सम्प्रदायले चैत्य गुम्बा र स्तुप निर्माण नगरी विहार बनाउने गर्थे। भारतको बिहार, उत्तरप्रदेशसहित नेपालमा सुर्खेतको काँक्रेविहार त्यसका उदाहरण हुन्, जो त्यतिबेलाका थारुहरुले बनाएका हुन्', दहितको भनाइ छ।

'बौद्धधर्म मान्नेहरुलाई लाखौंका संख्यामा मुस्लिमहरुले आक्रमण गरी धर्म परिवर्तन गराउन थालेपछि थारुहरु धर्मविहीन हुन पुगेको' दहितको दाबी छ।

सामाजिक, सांस्कृतिक, धार्मिक, मनोवैज्ञानिक, समाजशास्त्रीय र ऐतिहासिक दस्तावेजका आधारमा 'सिद्धार्थ गौतम' थारुकुलमा जन्मेको उनको विद्यावारिधिले प्रमाणित गरेको उनको भनाइ छ। छ वर्ष लगाएर उनले विद्यावारिधि गरेको दहितले करिब दर्जन पुस्तक लेखेका छन्।

प्रकाशित: २१ फाल्गुन २०७३ ०३:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App