७ वैशाख २०८१ शुक्रबार
राजनीति

भारतीय दूतावास २८ बर्षपछि राजदूतविहीन

काठमाडौं-भारतीय राजनीतिज्ञ र विदेश मन्त्रालयबीच समझदारी बन्न नसक्दा करिब तीन दशकपछि नेपालस्थित भारतीय दूतावास राजदूतविहिन हुने भएको छ। भारतीय राजदूत रञ्जित रे आफ्नो ३ वर्ष ६ महिनाकोे कार्यकाल सकी बुधबार स्वदेश फर्कंदै छन्। उनको कार्यकाल मंगलबार सकिएको छ। रेले मंगलबार नै भारतको विदेश सेवाबाट समेत अवकाश प्राप्त गरेका छन्।

भारत सरकारले नयाँ राजदूत पठाउन नसक्दा २८ वर्षपछि काठमाडौंस्थित  भारतीय दूतावास राजदूतविहीन भएको हो।

‘सामन्यतय भारतले नेपालस्थित दूतावास एक दिन पनि राजदूतविहीन राख्ने गरेको छैन । अहिले कार्यरत राजदूत कार्यअवधि सकिई बिदा भइसक्दा पनि नयाँ नाम सिफारिस हुन नसक्नुले केही समस्या छ भन्ने देखाउँछ,’ पूर्व परराष्ट्र सचिव दिनेश भट्टराईले टिप्पणी गरे, ‘नेपालमा नयाँ राजदूत पठाउने कुरामा भारतीय राजनीतिज्ञ र विदेश मन्त्रालयबीच कुरा नमिलेको हो कि जस्तो देखिन्छ ।’

राजदूतको रुपमा रेको कार्यकाल नेपाल–भारत सम्बन्धको इतिहासमै सबैभन्दा तित्ततापूर्ण अवस्थाबाट गुज्रियो । रेकै कार्यकालमा नेपालको संविधानसभाले जारी गरेको संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि ५ महिना नाकाबन्दी लगायो । मधेसी दललाई अनावश्यक रुपमा उचालेको आरोपसमेत भारत र राजदूत रेमाथि लाग्यो ।

भारतले २८ वर्षअघि काठमाडौं दूतावास करिब ती महिना राजदूतविहीन राखेको थियो । तत्कालीन राजदूत ए.आर. देओ (सन् १९८६ फेब्रुअरी २४– १९८९ डिसेम्बर ३१) कार्यकाल सकी फिर्ता भएपछि दूतावास २ महिना २० दिन राजदूतविहीन बनेको थियो । देओपछि पूर्व सेनाध्यक्ष एस.के. सिन्हाले सन् १९९० फेब्रुअरी २० मा नेपालमा भारतीय राजदूतको पद सम्हालेका थिए ।

‘लोकतन्त्रका विश्वव्यापी मूल्य मान्यता तथा विधि प्रक्रियाबाट नेपालले नयाँ संविधान जारी गर्दा विश्वकै ठूलो प्रजातान्त्रिक मुलुकले जुन नाकाबन्दी लगायो अहिले भारतभित्रै त्यसको समीक्षा भइरहेको छ । भारतको राजनीतिज्ञले सायद त्यो तित्ततापूर्ण अवस्थाको रियलाइजेसन गरेका छन् । यस्तो अवस्थामा कस्तो राजदूत पठाउने भन्ने बहस निष्कर्षमा नपुग्दा भारतले नयाँ राजदूतको नाम पठाउन नसकेको हो,’ भट्टराईको बुझाइ छ ।

कार्यरत राजदूतको पदावधि एक महिनादेखि ४ महिना बाँकी रहँदै सम्बन्धित देशमा नयाँ राजदूत चयन गरिसक्ने अभ्यास भारतले गर्दै आएको देखिन्छ । नेपालमा पनि यही अभ्यास भारतले गर्दै आएको थियो। राजदूत रे तत्कालीन राजदूत जयन्त प्रसादको कार्यकाल २ महिना ६ दिन बाँकी छँदै नेपाली राजदूतका लागि चयन भइसकेका थिए । प्रसाद पनि तत्कालीन भारतीय राजदूत राकेश सुदको कार्यकाल २ महिना ३ दिन बाँकी छँदा नेपालका लागि राजदूतमा सिफारिस भएका थिए ।

यो अभ्यासलाई भारतले विगत २८ वर्षदेखि निरन्तरता दिँदै आएको थियो । तर अहिले भने राजदूत रे फिर्ता भइसक्दा पनि नयाँ राजदूतको नाम भारतले सिफारिससम्म गर्न सकेको छैन ।

‘भारतले तत्कालै राजदूतमा नाम सिफारिस गरे पनि एग्रिमो स्वीकृत भई जान कम्तीमा एक महिना लाग्छ । यसैलाई आधार मान्दा पनि अबको एक महिना भारतीय दूतावासमा नयाँ राजदूत आउँदैनन्,’ भट्टराईले भने, ‘एक वर्षअघि गरेको गल्ती सच्याउन भारतले समय लिएजस्तो देखिन्छ ।’

भारत सरकारले नेपालका लागि नयाँ राजदूतको नाम सिफारिस नगरे पनि केही नाम भने चर्चामा आएका छन् । चर्चामा आएका नाममा प्रीति शरण, टी.एस तिरुमूर्ति, मन्जितसिंह पुरी र दलवीर सिंह छन् । शरण, निरुमूर्ति र पुरी कूटनीतिक सेवाका हुन् भने सिंह पूर्व सेनाध्यक्ष  । स्रोतका अनुसार भारतीय जनता पार्टी (भाजपा) का महासचिव राम माधवले तिरुमूर्तिलाई राजदूत बनाई नेपाल पठाउन सरकारलाई दवाब दिइरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वासीला मानिएका श्याम शरण (नेपालका लागि पूर्व राजदूत) ल भने प्रीति शरणलाई नयाँ राजदूत नियुक्त गर्न प्रधानमन्त्रीलाई दबाब दिइरहेको बुझिएको छ। विदेश राज्यमन्त्री एमजे अकबरले पूर्व सेनाध्यक्ष सिंहको नाम सिफारिस गर्न दबाब दिइरहेका छन्।

‘भारतले नेपालमा राजदूतवास लामो समयसम्म खाली राखेको थाहा छैन । ‘छिमेक पहिला’ भन्ने जुन नीति भारतले लिएको छ, त्यसको आधारमा पनि नेपालमा राजदूत पठाउन ढिलाई नगर्नुपर्ने हो । भारतले चाँगै नयाँ राजदूत पठाउला भन्ने आशा गर्न सक्छौं,’ पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले भने ।

प्रकाशित: १८ फाल्गुन २०७३ ०२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App