coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भोट हाल्न आतुर जनता

जाजरकोट- भेरी मालिका नगरपालिका ९ भुरका धनबहादुर नेपालीलाई २०५४ सालको स्थानीय चुनावमा भोट हालेको त्यति सम्झना छैन।  सरकारले  स्थानीय तहको चुनाव मिति घोषणा गरेपछि भने उनी फेरि गाउँको  नेता चुन्न पाइने भयो भनेर उत्साहित भएका छन्।  'धेरै भो बाबु भोट हालेर गाउँको नेता चुन्न मन लागेको, अब पूरा होलाजस्तो छ', उनले  भने।

  वैशाख ३१ मै चुनाव भए आफ्नो धोको पूरा उनले बताए। धनबहादुरजस्तै   नायकवाडा १ की ७६ वर्षीया नानीकला सिंह पनि लामो समयपछि भोट हाल्ने अवसर आउन लागेकामा खुसी भएको बताउँछिन्।

 'अब त डाँडामाथिको घामजस्तै भएँ, भनेकै समयमा चुनाव भएको  भए  मनले रोजेको नेता छान्न भोट हाल्ने थिएँ', उनले भनिन्।  धनबहादुर र नानीकला मात्र होइन सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि  सर्वसाधारण भोट हाल्न निकै उत्साहित देखिएका छन्।

 जिल्लाका गाउँदेखि सदरमुकाम सबै क्षेत्रका बासिन्दा तोकिएकै मितिमा चुनाव भए आफूहरूको स्थानीय नेता चुन्ने धोको  छिट्टै पूरा हुने बताउँछन्। चुनाव मिति तोकिएपछि युवा प्रौढ वृद्धवृद्धा सबैमा उत्साह थपिएको वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालय लिम्स्ााका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए।

 उनले दुर्गम गाउँमा स्थानीय बासिन्दा चुनावका बारेमा बहस र छलफल गर्न थालेको  बताए। लामो समय स्थानीय निकायको नेतृत्वमा पुग्ने अभ्यास गर्न नपाएका राजनीतिक दलका कार्यकर्ता  निर्वाचन मिति घोषणासँगै उत्साहित छन्।

यस्तै जिल्लास्थित क्रियाशील राजनीतिक दलका नेताकार्यकर्ता विभिन्न पदमा उम्मेदवारी दिने तयारीमा जुटेका छन्। 

औपचारिक रूपमा दलहरूले उम्मेदवारी छनोटको विषय छलफलमा नल्याए पनि नेताकार्यकर्ता भने अनौपचारिक भेला र बैठकमा उम्मेदवार हुने रहर पोख्न थालेका छन्।

जिल्लामा सबैभन्दा बढी चर्चामा रहेको भेरी नगरपालिकाको प्रमुखका लागि एउटै पार्टीका धेरै आकांक्षी देखिएका छन्। नगर प्रमुखका लागि  कांग्ो्रसबाट लीलाबहादुर शाह, सनतकुमार कार्की, ज्ञानीप्रसाद शर्मालगायतले इच्छा देखाएका छन्।  त्यस्तै एमालेका कमानबहादुर खड्का, मुकुन्द शर्मा, गोपाल बटाला, शिवप्रसाद शर्मा तथा माओवादी केन्द्रबाट पार्वती विक, ढकवीर राना, पूर्णदेव शर्मा, अमरसिंह राठौरको नाम चर्चामा छ।

जिल्लाको  छेडागाड नगरपालिका र नलसिंहगाड त्रिवेणी नगरपालिकामा पनि   उम्मेदवार बन्न दलका नेताकार्यकर्ता लबिङ गर्न थालेका छन्।  त्यस्तै कुसे गाउँपालिका, बारेकोट  विशेष गाउँपालिका, चुनीचाँदे विशेष गाउँपालिका,  शिवालय गाउँपालिकामा   दलका नेताकार्यकर्ता उम्मेदवार बन्न  सक्रिय छन्।

विगतमा स्थानीय र स्ांसदीय निर्वाचनमा कांग्रेस, एमाले माओवादी र राप्रपाबीच प्रतिस्पर्धा हुने गरेको जाजरकोटमा तीन दलका कार्यकर्ता चुनावी अभियानका साथ गाउँ पस्न कस्सिएका छन्। आफ्ना आफना नगरपालिका र गाउँपालिकामा  विभिन्न पदका लागि पार्टी नेतृत्वसँग लबिङ गर्न उनीहरू व्यस्त छन्।

 नयाँ संरचनाअनुसार तीन नगरपालिका र चार गाउँपालिका सिफारिस भएको जाजरकोटमा पद ध्ोरै भए पनि गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुख पदमा  बढीको आकांक्षा देखिन्छ। जिल्लामा २०५४ सालको स्थानीय निर्वाचनमा  एमाले पहिलो भएको थियो भने नेपाली कांग्रेस दोस्रो भएको थियो। २०४८ सालमा भने कांग्रेस पहिलो र एमाले दोस्रो थियो।

प्रकाशित: १७ फाल्गुन २०७३ ०३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App