१६ चैत्र २०८० शुक्रबार
राजनीति

हिमाली जिल्लामा चुनावी सरगर्मी बढ्यो

सोलुखुम्बु-सदरमुकाममा व्यावसायिक खेती गरेर बसेका नेकपा (माओवादी केन्द्र)का निवर्तमान जिल्ला सचिव सागर किराती एक हप्तादेखि आफ्नै गाउँ बुङमा छन्। स्थानीय निकायको चुनाव घोषणा भएलगत्तै गाउँ गएका किराती अहिले स्थानीय निकाय चुनावको अभियानमा व्यस्त छन्।

किरातीले टेलिफोनमा भने “यो पटक गाउँपालिकामा नेतृत्व गरेर करियर विकास गर्ने ठूलो अवसर आएको छ त्यसैले चुनावको अभियानमा व्यस्त छु” किराती जस्तै नेपाली काँग्रेसका जिल्ला सभापति विनोद बस्नेत पनि चुनावी अभियानका लागि गाउँमै छन्। “स्थानीय चुनावको तयारीकै लागि गाउँ केन्द्रित भएका छौँ, गाउँमा अत्यन्तै उत्साह छ, जता पनि चुनाव पछि गाउँको विकास हुन्छ, सुशासन प्रवद्र्धन हुन्छ भन्ने आशा आम नागरिकमा बढेको छ”, उनले भने। 

यता नेकपा (एमाले)ले चुनाव घोषणा भएपछि गाउँ अभियान सुरु गरेको छ। एमाले सोलुखुम्बुका जिल्ला अध्यक्ष मानवीर राई भन्छन्, “स्थानीय निकाय चुनाव हुने कुराले खुसीको सीमा छैन, हामी गाउँ अभियानमा निस्किएका छौँ, जहाँ गए पनि चुनावकै चर्चा छ, जो पनि खुसी व्यक्त गर्छन्।” जिल्लास्थित दलहरु स्थानीय चुनावका लागि तयारीमा निस्किएका छन्, उनीहरु प्रायः गाउँ केन्द्रित भएका छन् । जिल्लालाई आठ वटा स्थानीय निकाय सिफारिस गरिएकाले दल त्यसैको आधारमा तयारीमा निस्किएका छन् । 

दलहरु तयारीमा निस्किएको मात्र हैन, आम नागरिक पनि चुनाव हुने कुराले उत्साहित बनेका छन्। अहिले जिल्लामा हरेक चिया पसलदेखि मेलापातमा समेत चुनावकै चर्चा हुन्छ, लोखिमका धनकुमार तामाङ भन्छन्,  “चुनाव घोषणा भएपछि भूकम्पको पीडाको भन्दा बढी चर्चा चुनावको हुने गरेको छ, एकातिर नागरिकमा अब गाउँपालिकामै सदरमुकामको सेवा पाइन्छ भन्ने अपेक्षा बढेको छ भने अर्कोतिर आफ्नो नेता छान्न पाइन्छ भन्ने उत्साह पनि छ।”

्करिब १९ वर्षपछि हुन लागेको स्थानीय निकाय चुनावले अहिले हिमाली जिल्ला सोलुखुम्बुमा पनि उत्साह बढाएको छ, तोकिएको समयमा चुनाव हुन्छ र करिब दुई दशकपछि आफ्नो नेतृत्व आफैँ छान्न भन्ने कुराको चर्चा जताततै छ । रासस 

 

प्रकाशित: १६ फाल्गुन २०७३ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App