१५ चैत्र २०८० बिहीबार
राजनीति

टर्‍यो सार्क सचिवालय खाली हुने खतरा

काठमाडौं- भारत–पाक तनावका कारण विगत केही महिनादेखि अवरुद्ध दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को प्रक्रियाले गति लिने भएको छ। भारत र पाकिस्तान एकअर्काको चासो सम्बोधन गर्न सकारात्मक भएपछि अवरुद्ध प्रक्रियाले गति पाउने भएको हो। फलस्वरुप सार्कले आउँदो साता नयाँ महासचिव पाउने भएको छ र स्थगित १९औं सार्क शिखर सम्मेलनको नयाँ मिति पनि छिट्टै घोषणा हुने आशा गरिएको छ।

'सार्कले छिट्टै नयाँ महासचिव पाउँछ,' सार्क महासचिव अर्जुनबहादुर थापाले नागरिकसँग भने, 'केही सकारात्मक घटनाक्रम भएका छन्, एकदुई दिनमै तपाईंहरूले थाहा पाउनुहुनेछ।'

भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण स्थापना भएको ३० वर्षपछि सार्क सचिवालय पहिलोपटक महासचिवविहीन बन्ने खतरा बढेको थियो। तर अन्तिम घडीमा आएर भारत र पाकिस्तान आपसी चासो सम्बोधन गर्न सकारात्मक बनेपछि पाकिस्तानले पठाएको नयाँ सार्क महासचिवको नाम भारतले स्वीकृत गरेको हो। यससँगै सार्कले नयाँ महासचिव नपाउने हो कि भन्ने खतरा टरेको छ।

'सार्क सचिवालयमा एकअर्काले गरेका केही क्रियाकलापलाई लिएर भारत र पाकिस्तान असन्तुष्ट थिए। त्यो असन्तुष्टि चुलिँदा पाकिस्तानले सार्कको नयाँ महासचिवमा प्रस्ताव गरेको नामलाई भारतले अनुमोदन गर्न आनाकानी गरेको थियो। आपसी कुराकानीपछि अहिले वातावरण सकारात्मक बनेको छ। पाकिस्तानले नयाँ सार्क महासचिवमा प्रस्ताव गरेको अमजद हुसेन बी. सियाललाई औपचारिक रुपमै अनुमोदन गरी पठाएको छ,' सार्क सचिवालय स्रोतले भन्यो। हालका महासचिव थापाको तीन बर्र्से कार्यकाल यही फागुन १७ गते सकिँदै छ। 

सार्क सचिवालयमा 'जुनियर कर्मचारी' पठाइएको, पाकिस्तानले सार्क मोटर भेकल र रेलवे सम्झौतालाई अघि बढाउन अटेर गरेको लगायत विषयमा भारत र पाकिस्तानबीच असन्तुष्टि रहँदै आएको थियो। भारतका केही ठाउँमा भएका आतंकवादी आक्रमणमा पाकिस्तानको हात रहेको भन्दै भारतले त्यसलाई समेत जोडेर पाकिस्तानमा गत नोभेम्बरमा हुने भनिएको १९औं सार्क शिखर सम्मेलनमा सहभागी नहुने घोषणा गरेको थियो। त्यसपछि बंगलादेश, भुटान र श्रीलंकाले पनि सम्मलेलनमा सहभागी नहुने जनाएपछि पाकिस्तान शिखर सम्मेलन स्थगित गर्न बाध्य भएको थियो।

'अहिले भारत र पाकिस्तानले आपसमा कुराकानी गरेर समस्या सुल्झाएका छन्। स्थगन भएको सार्क शिखर सम्मेलनको मिति पनि छिट्टै घोषणा हुने आशा हामीले गरेका छौं,' स्रोतले भन्यो।

भारतले केहीदिन अघिसम्म 'सार्क प्रावधान विपरीत' भन्दै पाकिस्तानले महासचिवमा प्रस्ताव गरेका सियालको नाम अनुमोदन गर्न मानेको थिएन। सार्क विदेशमन्त्रीस्तरीय बैठकले महासचिवको नाम अनुमोदन गरेपछि मात्र नयाँ महासचिवले पदभार ग्रहण गर्ने अभ्यास रहँदै आएको छ। सार्क शिखर सम्मेलनको अघिल्लो दिन बस्ने विदेशमन्त्रीस्तरीय बैठकले मात्र नयाँ महासचिवको नाम अनुमोदन गर्नसक्छ।

पाकिस्तानले सन् २०१६ को नोभेम्बरमा गर्ने भनेको सार्कको १९औं शिखर सम्मेलनअघि बस्ने विदेशमन्त्रीस्तरीय बैठकले सियाललाई नयाँ महासचिवमा अनुमोदन गर्ने कार्यक्रम रहे पनि भारतले सहभागी हुन नसक्ने बताएपछि सम्मेलन स्थगित भएको थियो। त्यसपछि सार्क शिखर सम्मेलनको नयाँ मिति पाकिस्तानले घोषणा गर्न सकेको छैन।

दक्षिण एसियाली राष्ट्रबीच आपसी सद्भाव तथा विश्वास बढाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासमार्फत यस क्षेत्रका जनताको हित र जीवनस्तर उकास्ने लक्ष्यका साथ २०४२ मंसिर २३ गते सार्क स्थापना भएको थियो। यसको एक वर्षपछि २०४३ माघ २ गते काठमाडौंमा सार्कको सचिवालय स्थापना भएको थियो। सार्क सदस्यमा सुरुमा नेपाल, भारत, भुटान, माल्दिभ्स, बंगलादेश, पाकिस्तान र श्रीलंका थिए भने धेरैपछि मात्र अफगानिस्तानलाई सदस्यता दिइएको थियो।

सार्क महासचिव सदस्य राष्ट्रको नामको अंग्रेजी वर्णानुक्रमअनुसार ती देशले सिफारिस गरेका व्यक्ति हुने प्रावधान छ। यस प्रावधान अनुसार सम्बन्धित राष्ट्रले महासचिवका लागि नाम सार्क सचिवालयमा पठाउँछ। सचिवालयले त्यो नाम सदस्य राष्ट्रसमक्ष पठाउँछ। शिखर सम्मेलनअघि बस्ने सार्क विदेशमन्त्रीस्तरीय बैठकले त्यो नाम अघि बढाउँछ र अन्त्यमा मन्त्रीस्तरीय बैठकले नै अनुमोदन गर्छ। त्यसपछि तीन बर्र्से सार्क महासचिवले जिम्मेवारी सम्हाल्ने प्रावधान छ।

कार्यकाल सकिन लागेका वर्तमान महासचिव थापाले २०७० फागुन १७ गते यो जिम्मेवारी सम्हालेका थिए। थापा नेपालको तर्फबाट महासविच भएका हुन्। नेपालपछि महासचिव हुने पालो पाकिस्तानको हो। यसै अनुरुप पाकिस्तानले यही फागुन १८ गतेदेखि सार्क महासचिवको जिम्मेवारी सम्हाल्न सियालको नाम केही महिनाअघि प्रस्ताव गरेको थियो। जसलाई सार्क सचिवालयले तत्कालै सबै सदस्य राष्ट्रसमक्ष पठाएको थियो र सदस्य राष्ट्रले त्यस नाममा कुनै आपत्ति जनाएका थिएनन्। तर विदेशमन्त्रीस्तरीय बैठक बस्न नसकेपछि नयाँ महासचिवको नाम अनुमोदन हुन सकेन।

त्यसपछि सार्क सचिवालयले सदस्य राष्ट्रहरूलाई अनुमोदन गर्न लगाई नयाँ सार्क महासचिवको नाम घोषणा गर्ने तयारी गरेको थियो। पाकिस्तानसँग सम्बन्ध बिग्रेको भारतले मन्त्रीस्तरीय बैठकले मात्र नयाँ महासचिव अनुमोदन गरी घोषणा गर्न सक्ने अडान लिएपछि प्रक्रिया अड्किएको थियो। यसैसाता दुई देशका प्रतिनिधिले आपसी समझदारी बनाएपछि सार्कका नयाँ महासचिवमा पाकिस्तानले प्रस्ताव गरेका सियाललाई भारतले औपचारिक रुपमै स्वीकृत गरी पठाएको हो।

'यसपटक मन्त्रीस्तरीय बैठकले अनुमोदन नगरीकनै सदस्य राष्ट्रहरूको स्वीकृति लिएर महासचिव घोषणा हुन्छ। मन्त्रीस्तरीय बैठक कुर्दा सार्क सचिवालय खाली हुने देखिएकाले, परम्परा नबिगार्न यस्तो सहमति बनाइएको हो,' स्रोतले भन्यो।

पाकिस्तान र भारतबीच तनाब बढ्दा दक्षिण एसियाको विकास र समृद्धिका लागि साझा प्रयास गर्ने उद्देश्यसाथ स्थापना गरिएको सार्क इतिहासमै अहिले नराम्रोसँग थलिएको छ। थलिएको सार्कको उपचारमा सदस्य राष्ट्र कसैले पनि उचित ध्यान दिएका छैनन्। भारत–पाक आन्तरिक तनावका कारण सार्क अन्धकारतर्फ धकेलिँदा 'सार्कको औचित्य छैन' भन्दै आएकालाई थप बल मिलेको छ।

प्रकाशित: १४ फाल्गुन २०७३ ०३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App