१५ चैत्र २०८० बिहीबार
राजनीति

राष्ट्रको नेतृत्व लिने उद्‍घोष

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन शुक्रबार राजधानीमा सुरु भएको छ। महाधिवेशन उद्घाटन गर्दै पार्टी अध्यक्ष कमल थापाले राप्रपा अब राष्ट्रको नेतृत्व गर्ने शक्ति बन्ने उद्घोष गरे। तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच मंसिर ६ गते एकीकरण भएपछि राप्रपाले पहिलो एकता महाधिवेशन आयोजना गरेको हो। बन्दसत्र ९ गतेसम्म चल्नेछ। महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ।

उद्घाटन सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०६२/६३ को जनआन्दोलनपछि परिवर्तनलाई संस्थागत गर्नेक्रममा गलत मान्यता स्थापित गर्दैै आएकाले मुलुक संकटमा फसेको बताए। 'शताब्दीऔंदेखि स्थापित राजसंस्थाको अन्त्य गरियो तर, उचित व्यवस्थापन गर्न नसक्दा मुलुक संकटमा फस्यो,' उनले भने, 'जनताले जुन परिवर्तन चाहेका थिए त्यो हुन सकेको छैन।'

प्रमुख राजनीति दलहरूहरु मुलुकलाई संकटमुक्त गर्न असफल भएको आरोप लगाउँदै उनले अब बलियो राष्ट्रवादी शक्ति बनेर राप्रपाले मुलुको नेतृत्व गर्ने दाबी गरे। 

अध्यक्ष थापाले नेपालको भूराजनीतिक अवस्थाका कारण राष्ट्रिय एकता र भौगोलिक अखण्डता जोगाइराख्न राजसंस्था अनिवार्य भएको तर्क राख्दै राजसंस्थासहितको लोकतन्त्रको प्रस्ताव अघि सारे। मुलुकका लागि संघीयता आवश्यक नभए पनि संविधानमा संघीयता कायम भइसकेकाले बाध्यताले स्विकार्नु परेको उनले बताए।

संविधान कार्यान्वयनका लागि अर्को माघ ७ सम्म स्थानीय तह, प्रदेशसभा र संघीय संसद्को निर्वाचन अनिवार्य भएको बताउँदै उनले तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्न सरकारसँग माग गरे। 'सैद्धान्तिक असहमतिबीच पनि हामीले राष्ट्रियताका लागि संविधान जारी गर्न सहयोग गर्‍यौं। संविधान कार्यान्वयनमा पनि हाम्रो सकारात्मक सहयोग रहन्छ।'

उनले मधेसी मोर्चालगायत असन्तुष्ट पक्षलाई  संविधान संशोधन गरी निर्वाचनमा सहभागी गराउनुपर्नेमा जोड दिए।

राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले राप्रपाको एकता ऐतिहासिक अवसर भएको बताए। जनआन्दोलनपछि जनताको अपेक्षा पूरा गर्न अन्य राजनीतिक दल चुकेको बताउँदै उनले भने, 'मुलुकको अर्थतन्त्र पराधीन छ। युवा विदेश पलायन भइरहेका छन्। मुलुकमा विदेशी शक्तिको चलखेल बढेको छ। मुलुकलाई यो संकटबाट मुक्त गर्ने जिम्मा राप्रपामा आएको छ।'

राप्रपा कुनै पार्टीलाई कमजोर बनाउन नभई देश बचाउने अभियानमा लागेको उनले बताए। 'राप्रपा कुनै देशी विदेशी शक्तिको पुच्छर बन्दैन, नेपाली जनताको सेवक बन्छ,' उनले भने।

वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राप्रपा एकतालाई लामो समयसम्म कायम राख्नुपर्नेमा जोड दिए। उनले भने, 'राप्रपा प्रत्येक जनतासँग परिचित छ। एकतापछि नागरिकको अधिकार स्थापित गर्न सशक्त रुपमा लाग्नुपर्छ।'

अर्का वरिष्ठ नेता पशुपति शमशेर राणाले राष्ट्रियता र प्रजातन्त्र बलियो बनाउन राप्रपाको काँधमा ऐतिहासिक अवसर आएको बताए।  राप्रपासँग जनताले ठूलो अपेक्षा राखेको बताउँदै उनले विगतका गल्ती समीक्षा गर्दै पार्टी एकता मजबुत बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको बताए। संविधान संशोधन प्रक्रिया र स्थानीय तह निर्वाचन प्रक्रिया सँगसँगै अगाडि बढाउने तयारीमा सरकार लागेको उनले जानकारी दिए। स्थानीय निर्वाचन मिति केही दिनभित्र घोषणा गर्ने उनले बताए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुदलीय व्यवस्थामा प्रतिस्पर्धा स्वाभाविक रहेको बताए। उनले भने, 'बहुदलीय व्यवस्था नेपाली कांग्रेसले स्थापित गरेको हो। जुन पार्टीले जिते पनि बहुदलीय व्यवस्थाको जित हुन्छ, त्यो भनेको हाम्रै जित हो। राप्रपा पहिलो पार्टी बनोस्, मेरो पनि शुभकामना छ।'

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता र लोकतन्त्र संस्थागत गर्न ठोस नीति लिएर अगाडि बढ्न राप्रपालाई सुझाव दिए। उनले राप्रपाले सही नीति लिएर अगाडि बढे एमालेबाहेकका दललाई धक्का दिनसक्ने बताए।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले देशलाई संकटबाट निकास दिन तीन प्रमुख दलका नेतालाई आग्रह गरे। तराई–मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले संविधान संशोधनमार्फत आफूहरूका माग पूरा नभए यो संविधानको हालत  पनि ०४७ सालकै जस्तो हुने बताए।

उद्घाटन सत्र अघि विभिन्न ५४ स्थानबाट झाँकीसहितको जुलुस निकालिएको थियो।

अध्यक्षमा थापा र लोहनीबीच  प्रतिस्पर्धा हुने देखिएको छ। यसअघि अध्यक्षमा थापालाई समर्थन गर्ने सहमतिपत्रमा  शीर्ष नेताले हस्ताक्षर गरेका थिए। तर, पार्टी एकताक्रममा दुबै शक्तिबीच शक्ति सन्तुलन कायम नभएको जनाउँदै लोहनीले उम्मेदवारी दिने बताएका छन्। लोहनीले पार्टी चुनाव चिह्न हलो कायम गर्नुपर्ने, पदाधिकारी छनोट प्रतिनिधिले गर्न पाउने व्यवस्था गर्नुपर्ने, पार्टीलाई एउटा समूह र नेताको पेवा बनाउने संस्कारबाट मुक्त गर्नुपर्ने अडान राखेका छन्।  

महाधिवेशन बन्दसत्रमा थापाले राजनीतिक प्रतिवेदन, लोहनीले आर्थिक प्रतिवेदन र उपाध्यक्ष बुद्धिमान तामाङले पार्टीको मस्यौदा विधान प्रस्तुत गर्ने छन्।

महाधिवेशनमा देशभरबाट ३ हजार ४ सय ७० प्रतिनिधि सहभागी भएको पार्टी सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

सभामा घोचपेच

राप्रपा एकता महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्यका लागि विभिन्न दलका नेतालाई आमन्त्रण गरिएको थियो। उद्घोषक कोमल ओली थिइन्।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली उद्घाटन सत्रको करिब मध्यान्तरतिर कार्यक्रमस्थल पुगेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल भने कार्यक्रमको अन्तिममा उपस्थित भए। उनी पुग्दा अन्तिम वक्ता कमल थापाको मन्तव्य मात्र बाँकी थियो।

ढिलै पुगेका एमाले अध्यक्ष ओलीले केही हतार परेको भन्दै मधेसी दलका नेतालेभन्दा अगाडि नै मन्तव्य दिए। उनले राप्रपालाई अब नयाँ शक्ति बन्न र एमालेबाहेकका दललाई धक्का दिन सुझाए। नयाँ शक्ति पार्टीतर्फ संकेत गर्दै उनले भने, 'मैले एउटा पार्टीको घोषणासभामा भनेको थिएँ, एमालेबाहेक दललाई धक्का दिनुस्। तर, पार्टीको नाम मात्र नयाँ भयो, नीति गलत भो। अब राप्रपाले एमालेबाहेक अरुलाई धक्का दिन सक्छ। मैले अरु पार्टीलाई अन्यथा भन्न खोजेको होइन। होसियार भए हुन्छ।'

ओलीपछि मन्तव्य राख्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले  पहिलो पार्टी बन्न राप्रपालाई शुभकामना दिए। 'ओलीजीले आफ्नो स्थान सुरक्षित गरेर जानुभयो। म त ओलीजीलाई पनि हराएर पहिलो पार्टी बन्नुस् भन्छु,' उनले भने।

कांग्रेस सभापति देउवाले आफ्नो पार्टीले बहुदलीय व्यवस्थाका लागि लडेको र बहुदलीय व्यवस्था सबै दलले स्वीकार गरेकाले चुनावमा जुन दलले जिते पनि कांग्रेसकै जित हुने बताए। एमाले अध्यक्ष ओलीको अभिव्यक्तितर्फ लक्षित गर्दै देउवाले हाँस्दै भने, 'ओलीजी एमालेबाहेक दललाई धक्का दिनुस् भनेर हिँडिसक्नुभयो । राप्रपाले सबैभन्दा धेरै भोट झापाबाटै ल्याएको छ। उहाँलेचाहिँ होस् गर्नुपर्ला।'

माओवादी केन्›का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले राप्रपा र आफ्नो एजेन्डा धेरै नमिले पनि मिलौं–मिलौं लाग्ने गरेको बताए। 'हुन त हाम्रो पार्टीको सिद्धान्त कतै पनि मेल खाँदैन तर, मलाई राप्रपासँग सहकार्य गर्न किन हो सहज लाग्छ। मिलौं–मिलौं जस्तो लाग्छ।'

जबाफमा राप्रपा अध्यक्ष कमल थापाले माओवादी विद्रोह र आफूहरूको परम्परागत मूल्य मान्यताबीच सामञ्जस्यता खोज्न प्रस्ताव राखे। उनले भने, '१० वर्षे जनयुद्धको कमान्डर प्रचण्डजीमा विलक्षण प्रतिभा छ। उहाँले धेरैपटक चमत्कार गरिसक्नुभयो, अब अर्को एउटा चमत्कार आवश्यक छ। तपाईंको वि›ोह र हाम्रो परम्परागत मूल्य मान्यताबीच सामञ्जस्यता कायम गरौं, तपाईंको आमूल परिर्वतन र हाम्रो निरन्तरतासहितको परिवर्तनबीच सामजस्यता खोजौं।'

प्रकाशित: ७ फाल्गुन २०७३ ०३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App