१६ चैत्र २०८० शुक्रबार
राजनीति

स्थानीय चुनावले क्रान्तिका उपलब्धि संस्थागत गर्छः ऊर्जामन्त्री शर्मा

काठमाडौं– ऊर्जामन्त्री एवं माओवादी नेता जनार्दन शर्मा प्रभाकरले स्थानीय तहको चुनावले मात्र क्रान्तिका उपलब्धिहरु संस्थागत हुने बताएका छन्।   

अखिल क्रान्तिकारीले त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन्। उनले स्थानीय तहको निर्वाचनपछि नयाँ संविधानले संस्थागत गरेका अधिकारहरु प्राप्त हुने ठोकुवा गरे। मन्त्री शर्माले पुराना राजनीतिक शक्तिहरुले परिवर्तनका एजेण्डाहरु उल्टाउने षडयन्त्र शुरु गरेको भन्दै प्रतिगामनकारी हर्कतहरुलाई ठेगान लगाउन स्थानीय तहको चुनाव जरुरी रहेकोमा जोड दिए।

‘पूराना शक्तिहरु विस्तारै संविधानले दिएका अधिकारसमेत उल्टाउने कोशिस गर्दैछन्,’ मन्त्री शर्माले भने, ‘स्थानीय तह र प्रदेशको चुनावमार्फत त्यसलाई परास्त गर्न युवाहरुले दवाव सृष्टि गर्नुपर्छ।’ उनले राजनीतिक रुपमा भएका परिवर्तनहरु राज्यको संरचनागत परिवर्तनपछि मात्र व्यवहारमा लागु हुने बताए।  

प्रसगमा उनले उर्जामन्त्रालयमार्फत युवाहरुमा देखिएको निराशालाई आशामा बदल्ने प्रयास थालनी गरेको दाबी गरे। ‘उज्यालो नेपाल अभियान’ले देशभरका युवाहरुमा केही गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको स्मरण गराउँदै मन्त्री शर्माले यो अभियान केवल बत्ती बाल्ने कुरा मात्र नभएर राष्ट्र निर्माणको महाअभियान भएको बताए।  

ऊर्जा मन्त्रालयले अघि सारेको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रमले निम्न वर्गका जनताको जीवनस्तर समेत समृद्ध बनाउने सपना बोकेको मन्त्री शर्माको भनाइ छ ।

लामो समयपछि हुन लागेको स्ववियु चुनावलाई स्वस्थ र मर्यादित बनाएर उच्च राजनीतिक संस्कार प्रदर्शन गर्न युवा विद्यार्थीहरुलाई उनले आह्वान गरे।

 

प्रकाशित: ६ फाल्गुन २०७३ १०:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App