१६ चैत्र २०८० शुक्रबार
राजनीति

उपप्रधानमन्त्री निधिको प्रश्न: यस्तो घिनलाग्दो राजनीति कहिलेसम्म ?

पर्वत-उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले बिपक्षी नेकपा एमालेले खतरनाक र घिनलाग्दो राजनीति गरेको आरोप लगाएका छन्। आइतबार पर्वतको एक कार्यक्रममा बोल्दै निधिले ‘एमालेले हिमाल, पहाड, तराई मधेसको दुरी बढाउन लाग्दैछ, यस्तो खतरनाक र घिनलाग्दो राजनीति कहिलेसम्म गर्नुहुन्छ?’ भन्दै प्रश्न गरे। सीमाको सुरक्षा गरेर बसेका मधेसीलाई नेपाली नदेख्नु कस्तो राष्ट्रियता हो ? भन्दै उनले प्रश्न गरे।

निर्वाचनमा बढारिने त्रासले मधेसीको माग सम्बोधन गर्न ल्याइएको संविधान संशोधनलाई राष्ट्रघाती भनिएको दाबी गर्दै निधिले मधेसी जनतालाई नेपाली नै नदेख्नु एमालेको गम्भिर गल्ती भएको बताए। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र मिश्रित निर्वाचन प्रणालीजस्ता परिवर्तनका उपलब्धीलाई हटाउन एमाले तम्सिएको भन्दै उपप्रधानमन्त्री निधिले आकाशतर्फ फर्केर थुक्ने प्रयास नगर्न चेतावनी दिए।

‘परिवर्तनका उपलब्धीलाई समाप्त पार्ने दिशामा तपाईहरु लाग्दै हुनुहुन्छ, आकाशतर्फ फर्केर थुक्ने प्रयास नगर्नुस् त्यो थुक तपाईकै अनुहारमा पर्छ’ एमालेप्रति आक्रामक रुपमा प्रस्तुत भएका निधिले भने। उनले संविधान गतिशिल दस्तावेज भएकोले संसोधनको बिरोध नगरी परिवर्तनलाई स्वीकारेर निर्वाचनको वातावरणमा जुट्न समेत आग्रह गरे।

एकअर्को प्रसंगमा निधिले नौ वटा सुत्र पुरा गरेमा शहिदहरुको स्वतःसम्मान हुने दाबी पनि गरे। ‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता, मिश्रित निर्वाचन प्रणाली र अहिंसा गरी नौ वटा सुत्र पुरा ग¥यौ भने शहिदको स्वतः सम्मान हुन्छ’ उनले भने।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक भएको र निर्वाचनका लागि बिपक्षी दलहरुकै अबरोध भएको बताए। ‘जनताका जायज माग पुरा गर्न लागिएको संसोधनलाई रोकेर निर्वाचनको वातावरण बिथोल्ने काम राम्रो होइन’ जोशीले भने।

प्रकाशित: १६ माघ २०७३ ०८:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App