७ वैशाख २०८१ शुक्रबार
राजनीति

संशोधनमा कठोर हुँदै यादव

काठमाडौं- संविधान संशोधन विधेयक संसद्बाट पारित नगराउन संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव कठोर हुन थालेका छन्। मधेसी मोर्चाका अन्य घटक संविधान संशोधन विधेयक पास गराउन लचिलो भइरहेका बेला यादव भने पारित नगराउने पक्षमा कडा रूपमा प्रस्तुत हुन थालेको उनी निकट नेताहरू बताउँछन्। ती नेताहरूका अनुसार फोरम नेपालभित्रकै आदिवासी जनजातिलाई नभड्काउन यादव संशोधनप्रति कठोर बन्दै गएका हुन्। 

फोरम नेपालको राजनीतिक समितिको शनिबार बसेको बैठकमा उनले संशोधन विधेयकमा पुनर्लेखन हुनुपर्ने धारणा राखेका छन्। विधेयकले मधेसी, आदिवासी तथा जनजातिको मुद्दा नसमेटेको उनको भनाइ थियो।

संघीय गठबन्धनले उठाएका माग सम्बोधन गरी संशोधन विधेयकमा परिमार्जन नभएमा विधेयक पास गराउन मोर्चाले कुनै भूमिका नखेल्ने उनले बताएका छन्। नेताहरूका अनुसार संघीय गठबन्धनका अध्यक्षसमेत रहेका यादव आदिवासी जनजातिसँगको सहकार्य तोड्ने पक्षमा  छैनन्।

संघीय गठबन्धनमा आबद्ध आदिवासी जनजाति नेताले गठबन्धनबाट अलग हुने धम्की दिएपछि विधेयक पारित नगराउने पक्षमा यादव पुगेका हुन्। 

'संशोधन विधेयकमा हामीले  राखेका माग सम्बोधन गरी परिमार्जन भएन भने हामीले विधेयक पास गराउन सहयोग गर्दैनौं', फोरम नेपालका महासचिव रामसहाय यादवले भने, 'अहिलेकै स्थितिमा विधेयक पास भयो भने यसले हाम्रो मुद्दा सम्बोधन गर्दैन।'

नयाँ शक्तिसँग एकीकरण गर्न गृहकार्य

फोरम नेपालले नयाँ शक्ति पार्टीसँग एकीकरण गर्ने निर्णय गरेको छ। फोरम नेपालको शनिबार बसेको राजनीतिक समितिको बैठकले समान विचार र समान मुद्दा राख्ने पार्टीसँग एकीकरण गर्ने निर्णय गरेको हो।

यस्तो निर्णयसँगै फोरम नेपालका नेताहरूले अब नयाँ शक्ति पार्टीका नेतासँग औपचारिक छलफल गर्ने भएका छन्। 'समान विचार र समान सिद्धान्त राख्ने पार्टीसँग एकीकरण गर्ने निर्णय गरेका छांै', फोरम नेपालका कोषाध्यक्ष विजय यादवले भने, 'अब छिटै विभिन्न पार्टीसँग एकीकरण गर्न औपचारिक कुराकानी अघि बढाउनेछांै।'

फोरम नेपाालका राजनीतिक समितिकी सदस्य रेखा यादवले  नयाँ शक्ति पार्टीसँग  पार्टी एकताका लागि अनौपचारिक कुराकानी भइरहेको बताइन्। उनले भनिन्, 'हामी कार्यदल बनाएर विभिन्न पार्टीसँग एकताका लागि छलफल अघि बढाउनेछौं।' स्रोतका अनुसार संविधान संशोधन विधेयकको टुंगो लागेमा फोरम नेपाल र नयाँ शक्तिबीच  एकीकरणका लागि थप गृहकार्य गर्ने तयारी भएको छ। 'संशोधन विधेयकको टुंगो लाग्नेबित्तिकै नयाँ शक्तिसँग पार्टी एकीकरण गर्न थप गृहकार्य र छलफल अघि बढ्छ', फोरम नेपालका एक नेताले भने।

केही दिनयता फोरम नेपालका अध्यक्ष यादव नयाँ शक्ति पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईसँग नजिकिँदै गएका छन् । संशोधन विधेयकमा परिमार्जन गर्न संघीय गठबन्धन र नयाँ शक्ति पार्टीले संयुक्त कार्यदल गठन गरेका छन्।  

प्रकाशित: ९ माघ २०७३ ०२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App