७ वैशाख २०८१ शुक्रबार
राजनीति

तरुण दल केन्द्रीय समिति अझै अपूर्ण

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको चौथो महाधिवेशन सम्पन्न भएको दुई महिना बित्दासमेत केन्द्रीय समिति विस्तार हुन सकेको छैन । एक साताभित्र समिति विस्तार गर्ने पूर्वप्रतिबद्धताविपरीत आन्तरिक सहमति जुट्न नसक्दा समितिले पूर्णता पाउन नसकेको हो ।

गुटगत सहमतिको आधारमा मंसिर १ गते पार्टी निर्देशक समितिले अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष घोषणा गरेपछि महाधिवेशन सकिएको थियो ।

निर्देशक समितिले मंसिर १ गते पोखरामा पत्रकार सम्मेलन गरी एक साताभित्र कार्यसमितिलाई पूर्णता दिने प्रतिबद्धता जनाएको थियो । तर, दलको महाधिवेशन गराउन गठित निर्देशक समिति सदस्य एवं पार्टी केन्द्रीय सदस्य रामकृष्ण यादवले समिति विस्तारका विषयमा छलफल अघि नबढेको जानकारी दिए । ‘अहिलेसम्म खासै छलफल भएको छैन,’ उनले भने, ‘अब छिट्टै पूर्णता दिनुपर्छ ।’

सभापति शेरबहादुर देउवाले दलको कार्यसमिति विस्तारका विषयमा नेता रामचन्द्र पौडेलसहितका केही नेतासँग छलफल गरे पनि सहमति जुटिनसकेको एक नेताले जानकारी दिए । ‘आन्तरिक छलफल भइरहेका छन् तर सहमति जुटिसकेको छैन,’ सभापति निकट स्रोतले भन्यो, ‘संख्यामा सहमति भए छिट्टै समितिले पूर्णता पाउनेछ ।’

गुटगत भागबन्डा मिलाउन कार्यसमितिको आकार ६१ बाट बढाएर ९५ सदस्यीय बनाइएको छ । यसमा चार पदाधिकारीका साथै खुला केन्द्रीय सदस्य २३, प्रदेशबाट एक महिलासहित २८, महिला सदस्य ७, आदिवासी जनजाति र मधेसीबाट ४÷४, दलित र अल्पसंख्यकबाट ३÷३ सदस्य रहनेछन् । त्यस्तै सहिद परिवार, थारु र मुस्लिमबाट एक÷एकजना र अध्यक्षले मनोनीत गर्ने दुई सचिवसहित १६ सदस्य गरेर ९५ जनाको कार्यसमिति हुनेछ ।

एक दशकपछि सम्पन्न पोखरा महाधिवेशनबाट गुटगत भागबन्डाको आधारमा सभापति देउवा निकटका जितजंग बस्नेत अध्यक्ष, नेता कृष्ण्प्रसाद सिटौला निकटका उत्तम चापागाईं उपाध्यक्ष, नेता रामचन्द्र पौडेल निकटका भुपेन्द्रजंग शाही महासचिव र नेता खुमबहादुर खड्का निकटका विद्वान् गुरुङ कोषाध्यक्षमा चयन भएका थिए ।
 

प्रकाशित: ३ माघ २०७३ ०२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App