८ वैशाख २०८१ शनिबार
राजनीति

भूकम्प पीडित भन्छन्ः त्रिपाल होइन निर्माण सामाग्री देउ

धादिङ- रेडक्रसले राहत दिन्छ रे भन्ने सुनेपछि बुन्पुङका हिराबहादुर चेपाङ हतारिएर चरौदी बजार आइपुगे। उनीसंग थुपै गाउँलेहरु थिए। राहत थाप्न आइतबार विहान सबैरै देखि स–साना बच्चा च्यापेर चरौदी बजारमा कुरेर बसेका थिए। जब रेडक्रसको झण्डा फहराउँदै पुगेको गाडी उनीहरु भएको ठाउँमा रोकियो त्यतिबेला निकै खुसी थिए हिराबहादुर र उनका गाउँले साथी भाइ। तर एउटा त्रिपाल र थालबटुको देखेपछि उनले भने– ‘हामी त घर बनाउने सामान दिन्छ होला भनेर राती नै उठेर आएको होइन रहेछ।’

                नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले जिल्लाको धुषा गाविसमा आइतबार त्रिपाल, कम्मल, खाना खाने थाल, प्लाष्टिको बाल्टिन लगायतको सामाग्री बाँडेको छ। विपद्को तत्कालित समयमा बाँड्नुपर्ने सामान भुकम्प गएको २१ महिनापछि आइतबार वितरण गरेको हो।

सिमान्तकृत चेपाङ र न्यून आय भएको समुदायमा राहत बाँडिएको भएपनि अहिलेको आवश्यकता अनुसारको नभएको भन्दै स्थानीय पीडितहरुले नै असन्तुष्टि व्यक्त गरेका छन्। आइतबार रेडक्रसले बाँडेको सामाग्री देखाउँदै धुषा–८ भुकिडाँडाका रामकुमार चेपाङले भने– ‘अलिकति मात्रै भएपनि घर बनाउने सामान दिएको भए राम्रो हुन्थ्यो अब यो पकाउने चलाउने भाँडा हामीलाई के काम?’  त्रिपाल, थाल र बाल्टीको सट्टा जतिसक्छ घर निर्माणमा सहयोग पुग्ने सामाग्री दिएको भए गाउँले सबैलाई राहत पुग्ने उनले बताए।

काठ र ढुङ्गा त बरु गाउँमै पाइन्छ। काम आफै गरिन्थ्यो । पैसा तिरेर किन्नु पर्ने सामान चाँही हामीलाई चाहिएको छ । भुमिडाँडाका प्रेमबहादुर चेपाङले भने– ‘बरु २ बोरा सिमेन्टी दिएको भए हामी घरको जग बलियो बनाउँथ्यौ ।’ अहिले बस्नलाई त राहतको जस्ताले बारेर बसेका छौ यस्तो त्रिपाल त हामीलाई के काम।’

                गाविसका सामाजिक परिचालकले राहत लिन चरौदी बजार झर्नु भनेको खबरका भरमा गाउँबाट रातारात बजार झरेका अधिकांशले अहिले आफुहरुलाई निर्माण सामाग्री आवश्यक रहेकोले त्रिपाल बाल्टीन जस्ता सामाग्री नचाहिएको प्रतिक्रिया दिए। गाउँका पुरुषहरुसंगै राहत पाइन्छ भन्ने सुनेर झरेका चेलीमायाँ चेपाङलाई पनि रेडक्रसले बाँडेको सामान चित्त बुझेन । ‘कपडा भनेको त थाङ्नामुङ्ना लाएर नी बस्थ्यौ थात्रो भाँडा सफा गरेर खान्थ्यौ’ चेलीमायाँले भनिन् । घरको जग खनेर राख्या छ, जग बलियो बनाउन सिमेन्टी किन्न सकेको छैन, बरु हामीलाई दुई बोरा सिमेन्टी र अलिकति रड दिए हुन्थ्यो।’

                धुषामा कुल १५ सय ११ घरधुरी छन् । वडा नं. ७, ८ र ९ का स्थानीयलाई आइतबार प्रतिपरिवार एउटा हरियो त्रिपाल, २० लिटरको बाल्टिन, पातलो खैरो रङको कम्मल, एक मुठा डोरी, ३ वटा स्टिलको थाल र चम्चेपन्यु बाँडेको छ । गैरखाद्य सामाग्री वितरण गर्ने केन्द्रको कार्यक्रम अनुसार धुषाका भूकम्प पीडितलाई सामाग्री बाँडिएको रेडक्रस धादिङका उपसभापति नारायण तिमिल्सिनाले बताए । सोमबार र मंगलबार पनि बाँकी वडामा यही सामान बाँड्ने कार्यक्रम रहेको रेडक्रस धादिङले जनाएको छ ।

                रेडक्रसले बाँडेको सामाग्री वितरणको लागि पुगेका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले पनि अहिले राहत भन्दा पुननिर्माणको चरणमा रहेकोले यस्तो सामाग्री बाँडेर जनताको काम नविथोल्न भन्दै फर्किएका थिए । अहिलेसम्म कुनै ठाउँमा संचालन भएको गतिविधिको बारेमा जानकारी नगराएको रेडक्रसले आइतबार आफुले गरेको काम देखाउन जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिहरुलाई गाडी रिजर्भ गरेर लगेको थियो ।

 

प्रकाशित: २ माघ २०७३ १३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App