coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सीमा सुरक्षा पोस्ट स्थापना गर्न माग

भीमदत्तनगर– कञ्चनपुरको दक्षिण सीमा क्षेत्रका बासिन्दाले सीमा क्षेत्रमा सुरक्षा युनिट तथा पोस्ट स्थापना गर्न माग गरेका छन्।

स्थानीय बेल्डाँडी र त्रिभुवनबस्ती पुगेका नेपाल प्रहरी र शसस्त्र प्रहरीका क्षेत्रीय प्रमुख समक्ष स्थानीयवासीले भारतीय क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत भए पनि नेपाली पक्ष निकै कमजोर रहेको भन्दै सीमा नाकामा शसस्त्र प्रहरी पोस्ट स्थापना गर्नुपर्ने माग गरेका हुन्।

खुला सीमा नाका भएका कारण विभिन्न अपराध, मानव बेचबिखन, भारतीय बेपाहा प्रवृति सहनुपरेको भन्दै पुर्नवास नगरपालिकाका शङ्कर बोगटीले खुला सिमानाका कारण स्थानीय बजारमा तस्करीसमेत मौलाएको बताए।

अर्का स्थानीयबासी रमेश अर्यालले नेपाल–भारत सीमा क्षेत्रमा लामो समयदेखि विवाद हुँदै आएको र सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति कम भएको छ भने।

‘सीमा पिल्लर नेपालतर्फ सार्नेदेखि भारतीय एसएसबीले समय समयमा नेपालीलाई दुःख दिने गरेको छ ।’ अर्यालले भन्नुभयो–“सिमा क्षेत्रको सुरक्षा स्थानीयवासीले गरेका छन् ।’ एक सय ३१ किलोमिटर क्षेत्र भारतसित सीमा जोडिएको भए पनि भारतले हरेक पाँच किलोमिटरको फरकका ३१ वटा एसएसबी पोस्ट राखेर सीमामा निगरानी बढाएको छ । तर नेपाली पक्षबाट भने सशस्त्र प्रहरीका दुईवटा मात्रै सुरक्षा पोस्ट छन् ।

पुर्नवासका दानबहादुर सुनारले १०४देखि २०० नम्बर सीमा स्तम्भमा समस्या रहेको र भारतीय पक्षले केही स्थानीवासीको जग्गासमेत कब्जा गरेको उनले बताए।

‘सीमा पिल्लर ढलेको प्रति हाम्रो प्रशासन नै बेखबर छ।’ उनले भने, “तत्काल अतिक्रमण रोक्न पहल होस् ।” सीमा विवाद देखिएका क्षेत्रमा भारतीय पक्षसित समन्वय गरेर समाधान खोज्न सीमाक्षेत्रका बासिन्दाको माग छ । सुदूरपश्चिम क्षेत्रीय वैद्यनाथ बाहिनीका बाहिनीप्रति सशस्त्र प्रहरी नायब महानिरीक्षक राजेश श्रेष्ठले त्रिभुवनबस्ती र बेल्डाँडीमा सशस्त्र पोस्ट स्थापना गर्न पहल भइरहेको बताए।

‘हाम्रो तर्फ दोधारा चादँनी र बेलौरीमा मात्रै सीमा सुरक्षा पोस्ट छ ।’ उहाँले भन्नुभयो–“थप पोस्ट बढाउन माथिल्लो निकायमा पहल हुदँैछ ।” सीमा अतिक्रमणलगायत स्थानीयस्तरमा देखिने समस्याका बारेमा भारतीय पक्षसित पनि समन्वय हुने गरेको उनले उल्लेख गरे।

त्यसैगरी नेपाल प्रहरीका सुदूरपश्चिम क्षेत्रीय प्रमुख प्रहरी नायब महानिरीक्षक विजयराज भट्टले सीमा क्षेत्रको सुरक्षा व्यवस्था सवल बनाउन आफूहरु लागिरहेको बताए।

उनले दक्षिण क्षेत्रका बासिन्दाको मागअनुसार केही प्रहरी युनिट थप गर्नाका साथै स्तरोन्नतिका लागि पनि पहल भइरहेको जानकारी गराए। रासस

प्रकाशित: २९ पुस २०७३ ०८:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App