coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कन्सुलर सेवा अब अनलाइनमा

काठमाडौं- तपाईंको कोही आफन्त विदेशमा अलपत्र परेका छन्? कोही आफन्तको मृत्यु विदेशमा भएको छ र शव झिकाउनु पर्नेछ? वा, विदेशमा मृत्यु भएकाको क्षतिपूर्ति तथा बिमा रकम हकदारलाई दिलाउने प्रक्रिया सुरु गर्नुपर्नेछ? यी सबै कार्यको लागि सरकारसँग सहयोग माग्न अब सेवाग्राहीले काठमाडौं धाइरहनु पर्नेछैन। इन्टरनेट सुविधा भए सेवाग्राहीले आफ्नै घरमा बसेर यो सेवा उपयोग गर्न सक्नेछन्।

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले छिटै कन्सुलर सेवालाई अनलाइनमार्फत उपलब्ध गराउने तयारी गरेको छ।  'कन्सुलर सेवा अनलाइनमार्फत उपलब्ध गराउने तयारी अन्तिम अवस्थामा पुगेको छ,' कन्सुलर सेवा विभागका महानिर्देशक गेहेन्द्रराज भण्डारीले भने, 'अहिले हामी अनलाइन सेवाको आन्तरिक रुपमा परीक्षण गरिरहेका छौं। परीक्षणका क्रममा देखिएका समस्या सच्याउने काम भइरहेको छ। केही दिनभित्रै सेवाग्राहीका लागि यो सेवा अनलाइनमा उपलब्ध गराइनेछ।'

कन्सुलर सेवा विभागले विदेशमा रहेका नेपालीलाई विभिन्न सेवा उपलब्ध गराउने गर्छ। विभागले विदेशमा विभिन्न पेशा व्यवसाय गरी बसेका नेपाली नागरिकलाई आवश्यक कानुनी सहयोग, क्षतिपूर्ति तथा बिमा रकम हकदारलाई दिलाउने प्रक्रिया, अलपत्र परेका नेपालीको उद्धार, मृत्यु भएकाको शव नेपाल झिकाउनेलगायतका कार्य गर्न विदेशस्थित नेपाली नियोगहरूसँग आवश्यक समन्वय गर्ने गर्छ।

विभागले उपलब्ध गराउने सेवा लिनुपरे काठमाडौं त्रिपुरेश्वरस्थित विभागको कार्यालयमा आई निवेदन दिनुपर्ने हालको व्यवस्था छ। अनलाइन सेवा सुरु भएपछि भने निवेदन दिनैका लागि काठमाडौं आउनुपर्ने झन्झटबाट सेवाग्राहीले मुक्ति पाउनेछन्।

'अहिले लाखौं नेपाली विदेशमा छन्। दैनिक सयौं नेपाली समस्यामा परेका हुन्छन्। उनीहरूलाई विभिन्न सहयोग उपलब्ध गराउन, उद्धार वा क्षतिपूर्ति तथा बमिा रकम दाबी गर्न विदेशमा रहेका नेपालीका आफन्तले काठमाडौं आएर निवेदन दिनुपर्ने बाध्यता छ। यो खर्चिलो र झन्झटिलो छ। अनलाइन सेवा सुरु भएपछि यो झन्झटबाट सेवाग्राहीले मुक्ति पाउनेछन्,' महानिर्देशक भण्डारीले भने।

अहिले विदेशमा अलपत्र परेका आफन्तको उद्धार, मृत्यु भएको शव झिकाउन तथा क्षतिपूर्ति र बिमा रकमका लागि पहल गर्नुपरे पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका सेवाग्राही निवेदन दिन अनिवार्य काठमाडौं आउनुपर्छ। यो परिपाटीले पीडित परिवारलाई झन् पीडा थप्ने गर्छ। 'सेवाग्राहीलाई सेवा सहज, छिटो छरितो र प्रभावकारी रुपमा उपलब्ध गराउने उद्देश्यले अनलाइन प्रणालीमा जान लागेका हौं। यसले हामीलाई पनि अझ बढी सेवाग्राहीप्रति उत्तरदायी बनाउँछ,' उनले भने।

विभागले उपलब्ध गराउने अनलाइन सेवा केही दिनभित्रै विभागको आधिकारिक वेबसाइट 'डब्लुडब्लुडब्लु डट कन्सुलर डट मोफा डट एनपी' मा उपलब्ध गराउने तयारी भएको छ। सेवा सुरु भएपछि वेबसाइटमा गई सेवाग्राहीले निवेदन दिन सक्नेछन्। हाल विभागमा निवेदन दिएपछि त्यसपछिको प्रक्रिया कहाँ पुग्यो भनी बुझ्न सेवाग्राहीलाई पटकपटक विभाग धाउनुपर्छ। अनलाइन सेवाले यो बाध्यता पनि हटाउनेछ।

महानिर्देशक भण्डारीका अनुसार अनलाइन सेवा लिन सबैभन्दा पहिला विभागको वेबसाइटमा गई 'लग इन' गर्नुपर्ने हुन्छ। लग इन गर्दा एउटा 'युजर आइडी' र 'पासवर्ड' सेवाग्राहीले प्राप्त गर्नेछन्। त्यसपछि समस्या के हो उल्लेख गरी पठाउनुपर्छ। त्यसपछि प्राप्त युजर आइडी र पासवर्डको सहायताले आफ्नो निवेदनमाथिको कारबाही कहाँ पुगेको छ, सेवाग्राहीले हेर्न सक्नेछन्। सम्बन्धित निकायले निवेदनमाथि के भयो भनेर लेखेको विवरण पनि सेवाग्राहीले पढ्न सक्नेछन्।

'लिखित रुपमा निवेदन दिँदा हराउने गर्थे। अब अनलाइन सेवा सुरु भएपछि यो समस्या पनि आउने छैन। सबै निवेदन अनलाइन सिस्टममा सुरक्षित रहनेछन् र चाहेको बेला तुरुन्त खोजेर निकाल्न सकिनेछ,' महानिर्देशक भण्डारीले भने।

परराष्ट्र मन्त्रालयले आफ्ना सेवा प्रभावकारी र सहज रुपमा सेवाग्राहीलाई उपलब्ध गराउन पछिल्ला दिन प्रविधिमा जोड दिँदै आएको छ। केही दिनअघि मात्र परराष्ट्रले राहदानी फारम मोबाइलबाट पनि भर्न मिल्ने गरी विकास गरिएको एप प्रयोगमा ल्याएको थियो।

प्रकाशित: २६ पुस २०७३ ०३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App