८ वैशाख २०८१ शनिबार
राजनीति

माओवादीलाई २६ लाख घाटा

काठमाडौं- सत्तारुढ माओवादी केन्द्रले निर्वाचन आयोगमा पार्टीलाई गत वर्ष २६ लाख रुपैयाँ घाटा लागेको विवरण बुझाएको छ। केन्द्रले बुझाएको  विवरणमा अघिल्लो आर्थिक वर्ष पार्टीको आम्दानी २ करोड ८८ लाख ३३ हजार ३ सय २५ रुपैयाँ १५ पैसा र घाटा २६ लाख १२ हजार ३ सय ८ रुपैयाँ ३१ पैसा रहेको विवरण छ।

आर्थिक वर्ष सकिएको छ महिनाभित्र हरेक वर्ष राजनीतिक दलले आयव्यय विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने संवैधानिक बाध्यता छ। प्रावधानअनुसार पुसभित्रै निर्वाचन आयोगमा आयव्यय विवरण बुझाउन आयोगले दलहरुलाई आह्वान गरेकोमा हालसम्म ११० मध्ये २६ दलले मात्र बुझाएका छन्। तिनमा पनि संसद्मा प्रतिनिधित्व गरेका दल छवटा मात्र छन्।

प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेले अझैसम्म आम्दानी खर्च विवरण आयोगमा बुझाएका छैनन्।

निर्वाचन आयोगमा बुझाएको खर्च विवरणमा तत्कालीन राप्रपा नेपाल फाइदामा देखिएको छ। तत्कालीन राप्रपा नेपालले ७९ लाख ९५ हजार ३ सय ७० रुपैयाँ आम्दानी गरेको र खर्च ७७ लाख ६७ हजार ६ सय २९ रुपैयाँ खर्च भएको विवरणमा देखाइएको छ। तत्कालीन राप्रपा नेपालले २ लाख २७ हजार ७ सय ४१ रुपैयाँ फाइदा भएको विवरण निर्वाचन आयोगमा बुझाएको छ।

राप्रपा नेपालले राप्रपासँग एकीकरण गर्नुअघि निर्वाचन आयोगमा विवरण बुझाएको थियो। नारायणमान बिजुक्छेले नेतृत्व गरेको नेपाल मजदुर किसान पार्टीले भने पार्टी घाटामा गएको विवरण निर्वाचन आयोगमा बुझाएको छ। नेमकिपाको आय ३३ लाख १६ हजार २ सय ७७ रुपैयाँ ३१ पैसा देखाइएको  छ भने पार्टीलाई २० हजार ७ सय २२ रुपैयाँ ६९ पैसा घाटा भएको विवरण आयोगमा बुझाइएको छ।

संसद्मा एकएक सिट प्रतिनिधित्व गरेका परिवार दल र जनजागरण पार्टीले पनि पार्टी फाइदामा गएको विवरण निर्वाचन आयोगमा बुझाएका छन्।

परिवार दलले ५२ लाख ४३ हजार ९ सय ८० रुपैयाँ आय गरेको र  ४८ लाख ७४ हजार ६८ रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएको छ।

यसैगरी, जनजागरण पार्टीले ३ लाख २९ हजार ४ सय १७ रुपैयाँ आम्दानी गरेको र २ लाख ७७ हजार ९ सय १७ रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएको छ।

चित्रबहादुर केसीले नेतृत्व गरेको राष्ट्रिय जनमोर्चाले बुझाएको आम्दानी खर्च विवरणमा पनि पार्टी फाइदामा गएको विवरण बुझाएको छ। सो पार्टी अघिल्लो आर्थिक वर्षमा ५१ लाख २६ हजार ८ सय ६६ रुपैयाँ फाइदामा गएको र ४६ लाख ९३ हजार ८ सय ५७ रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएको छ।

यसैगरी, संसद्मा एक सिट रहेको अखण्ड पार्टी नेपालले पनि पार्टी फाइदामा गएको विवरण निर्वाचन आयोगमा बुझाएको छ। पार्टीले ६ लाख ७ हजार १५ रुपैयाँ ९८ पैसा आम्दानी गरेको र ४ लाख ८२ हजार ३ सय ५७ रुपैयाँ ९७ पैसा फाइदा गरेको विवरण आयोगमा बुझाएको छ।

तामसालिङ राष्ट्रिय जनएकता पार्टीले अघिल्लो आर्थिक वर्ष १ लाख ६७ हजार ३ सय रुपैयाँ आम्दानी भएकोमा खर्च ५ सय रुपैयाँ बढी भएको विवरण आयोगमा बुझाएको छ।

आयोगमा नेपाल दलित पार्टी, नेपाल युवा किसान पार्टी, राष्ट्रवादी एकता पार्टी, बहुजन समाज पार्टी, नेपाल समावेशी पार्टी, राष्ट्रिय एकता पार्टी प्रजातन्त्रवादी, नेपाल आमा पार्टी, देशभक्त समाज, मंगोल नेसनल अग्रनाइजेसन, विवेकशील नेपाली पार्टीलगायत पार्टीले आम्दानी खर्च विवरण आयोगमा बुझाएका छन्।

यसैगरी, नेपाल कम्युनिस्ट पार्टी, मधेस तराई फोरमले पनि आयोगमा आम्दानी खर्च विवरण बुझाएका छन्।

आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले पुसभित्रै राजनीतिक दलले अघिल्लो आर्थिक वर्षको आम्दानी खर्च विवरण  आयोगमा बुझाउनुपर्ने कानुनी बाध्यता भएको बताए।

प्रकाशित: १८ पुस २०७३ ०२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App