१६ चैत्र २०८० शुक्रबार
राजनीति

सरकार र मोर्चाबीच संशोधन प्रस्ताव संसदमा पेश गर्ने सहमति

प्रधानमन्त्री र मधेसी माेर्चाबीच बालुवाटारमा भएकाे बैठकमा सहभागी नेाहरू। तस्बिर: विजय गजमेशर

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल र मधेसी मोर्चाका नेताहरुबीच संसदमा दर्ता संविधान संशोधन प्रस्ताव अगाडि बढाउने सहमति भएको छ। शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संशोधन प्रस्ताव अगाडि बढाउने सहमति भएको हो।

सकेसम्म सबै दलको  सहमतिमा, सहमति बन्न नकसक्ने अवस्थामा एकतर्फी रुपमा संशोधन प्रस्ताव अगाडि बढाउने सहमति भएको बैठकमा सहभागी नेताहरुले जनाएका छन्। ‘संसदको अब बस्ने बैठकमा संशोधन प्रस्ताव टेवल गर्ने सहमति भएको छ,’ बैठकमा सहभागी मोर्चाका नेता केशव झाले भने। बैठकमा प्रधानमन्त्रीले संशोधन प्रस्ताव पारित हुने गरी अगाडि बढाउनु पर्ने बताएका थिए। प्रधानमन्त्रीले सरकारले ल्याएको प्रस्ताव आफ्नो प्रतिष्ठासँग जोडिएको भन्दै जसरी पनि पारित गराउने बताएका थिए।

प्रधानमन्त्रीले संशोधन प्रस्ताव टेवल गरेपछि मात्र निर्वाचनको मिति घोषणा गर्ने बताएका थिए। उनले मधेसी मोर्चाको विश्वास जित्नसमेत संशोधन प्रस्ताव टेवल गर्नुपर्ने हुन्छ,’ बैठकमा प्रधानमन्त्रीले भनेका थिए, ‘संशोधन प्रस्ताव टेवल भएपछि  मोर्चाको विश्वास जित्न सकिन्छ।’
सरकारले  संशोधन प्रस्ताव अगाडि नबढाएको भन्दै मोर्चाले संघर्षका कार्यक्रम घोषणा गरेको थियो। मोर्चाले संघर्षका कार्यक्रम घोषणासँग सत्तापक्षसँग छुट्टा छुट्टै छलफल थालेको छ। शुक्रबार मोर्चाले कांग्रेस नेताहरुसँग छलफल गरेको थियो।

सो छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले जसरी पनि संशोधन प्रस्ताव पारित गर्ने बताएका थिए। देउवाले संशोधन प्रस्ताव र निर्वाचन सम्बन्धी कानुन सँगै संसदमा पेश गर्ने, त्यसो भएको अवस्थामा एमालेलाई नैतिक संकट पर्ने सुनाएका थिए। एमालेले निर्वाचन सम्बन्धी कानुन ल्याउन माग गरिरहेको भन्दै देउवाले निर्वाचन सम्बन्धी कानुन र संशोधन प्रस्ताव एकैपटक संसदमा पेश गर्दा एमालेले विरोध गर्न नमिल्ने बताएका थिए।‘निर्वाचनको मिति घोषणा गर्नुपर्ने एमाले माग छ,’ बैठकमा देउवाले भनेका थिए, ‘निर्वाचनको मिति घोषणा गर्न कानुन चाहिन्छ,त्यसकालागि संशोधन प्रस्ताव र निर्वाचन सम्बन्धी कानुन एकैसाथ संसदमा पेश हुन्छ।’
 

प्रकाशित: १६ पुस २०७३ ०६:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App