७ वैशाख २०८१ शुक्रबार
राजनीति

संशोधन प्रस्ताव अघि बढे मोर्चा चुनावमा

काठमाडौं- मधेसी मोर्चाले सरकारले संसद्मा दर्ता गरेको  संविधान संशोधन प्रस्ताव अघि बढाए चुनावमा जान सकिने जनाएको छ। मोर्चाको बिहीबारको बैठकमा मोर्चाका नेताहरूले सरकारले संविधान संशोधन प्रस्तावलाई अघि बढाए चुनावमा जान सकिने तर यथास्थितिमा कुनै पनि अवस्थामा चुनाव स्वकार गर्न नसकिने धारणा राखेका हुन्। बैठकमा समग्र कोणबाट छलफल भए पनि संशोधन प्रस्ताव अघि बढाइए चुनावमा जान सकिने निष्कर्ष निकालिएको जानकारी एक नेताले दिए।

मोर्चाका नेताले प्रमुख तीन दल संविधान संशोधन प्रस्ताव थाती राखेर चुनावमा जान खोजेको भन्दै असन्तुष्टि पोखेका थिए। सरकारले मोर्चालाई धोका दिन खोजेको विषयमा पनि बैठकमा छलफल भयो।  बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द यादवले सरकारले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित अघि बढाउन आलटाल गरे कडा रुपमा प्रस्तुत हुनुपर्ने धारणा राखे।  संशोधन प्रस्ताव थाती राखेर ठूला तीन दलले चुनावमा जाने तयारी गरिरहेकाले मोर्चाले कडा प्रतिवाद गर्नुपर्ने उनको भनाइ थियो। 'तीन दल संशोधन प्रस्ताव थाती राखेर चुनावमा जान खोजेका छन। अब हामीले कडा संघर्षका कार्यक्रम घोषणा गर्नुपर्छ', बैठकमा यादवलाई उद्धृत गर्दै स्रोतले भन्यो।

तमलोपा अध्यक्ष महन्थ ठाकुरले परिस्थति फेरिएको बताएका थिए। नयाँ परिस्थतिबारे छलफल हुनुपर्ने धारणा उनले राखेका थिए। बैठकमा सरकारले स्थानीय निकाय चुनाव घोषणा गरे कसरी अघि बढ्ने भन्नेबारेमा छलफल भएको थियो । अहिलेकै अवस्थामा चुनाव घोषणा भए  मधेसमा हुन सक्छ कि सक्दैन भन्नेबारे पनि बैठकमा छलफल भयो। अधिकाशं नेताले यही स्थितिमा तीन दलले चुनाव घोषण गरे मधेसमा द्वन्द्व निम्तिने विश्लेषण सुनाएका थिए। सरकारले संशोधन प्रस्ताव अघि बढाए चुनावमा जान उपयुक्त हुने धारणा पनि उनीहरूले राखेका थिए।

सरकारले संविधान संशोधन प्रस्ताव थाती राखेर चुनाव घोषणा गरे कसरी अघि बढ्ने भन्नेमा बैठकले कुनै निर्णय भने लिएन। यसबारे शुक्रबारको बैठकले निर्णय लिने जानकारी एक नेताले दिए।

 'सरकारले संशोधन प्रस्ताव अघि बढाए चुनावको वातावरण निमार्ण हुनसक्छ', तराई–मधेस सद्भावना पार्टी अध्यक्ष महेन्द्र यादवले भने, 'तर यही स्थितिमा चुनाव हुन सक्दैन।' नेपाल सद्भावना पार्टी अध्यक्ष अनिल झाले संशोधन प्रस्ताव  पास नगरी सरकारले चुनाव घोषणा गरे द्वन्द्व सिर्जना हुने बताए।

राष्ट्रिय मधेस समाजवादी पार्टी महासचिव केशव झाले मोर्चाको आगामी रणनीतिबारे शुक्रबारको बैठकमा गम्भीर छलफल हुने बताए। 'अब कसरी जाने भन्नेबारे शुक्रबारको बैठकमा छलफल हुन्छ र एउटा निष्कर्ष निकाल्छौं', उनले भने।

बिहीबारको बैठकमा संघीय समाजवादी फोरम नेपाल अध्यक्ष यादव, तमलोपा अध्यक्ष ठाकुर, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, तराई–मधेस सद्भावना पार्टी अध्यक्ष यादव, नेपाल सद्भावना पार्टी अध्यक्ष झालगायत उपस्थित थिए।

प्रकाशित: १५ पुस २०७३ ०२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App