सुर्खेत–प्रधानसेनापति राजेन्द्र क्षेत्रीले मध्यपश्चिम पृतना हेडक्वाटर अन्र्तगत सञ्चालित बाहिनी स्तरको कार्यस्थल अभ्यास ‘गढी रक्षा’ को अवलोकन गरेका छन्। गढी रक्षा मंसिर ८ गतेदेखि वीरेन्द्रनगरको बाङ्गेसिमलमा सञ्चालित छ। तालिम सोमबारसम्म चल्ने छ। तालिममा मध्यपश्चिम पृतना मातहतका बाहिनीहरुको सहभागीता छ।
सो क्रममा प्रधानसेनापति क्षत्रीले इन्फेन्ट्री, कम्व्याट सर्पोट र कम्व्याट सर्भिस सपोर्ट फौज सम्मिलित एकीकृत सैनिक अभ्यास तथा फायरिङकोसमेत अवलोकन गरेका थिए। कार्यस्थलमै भएको कार्यक्रममा सेनाका सकल दर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले आगामी दिनमासमेत उच्च मनोवल र हौसलाका साथ काम गर्न निर्देशन दिए ।
मध्यपश्चिम पृतनाका महासेनानी आनन्दसिंह भाटका अनुसार निरीक्षणका क्रममा प्रधानसेनापति क्षेत्रीलाई अभ्यास सम्बन्धी पूर्व तयारी, योजनालगायत अपरेशन तथा बन्दोबस्तीका विविध पक्षबारे पनि जानकारी गराइएको थियो।
यसैबीच, प्रधानसेनापति राजेन्द्र क्षेत्री र सैनिक श्रीमती संघका अध्यक्ष रीता क्षेत्रीले संयुक्त रुपमा मध्यपश्चिम पृतना परिसरमा नवनिर्मित ‘दिवा शिशु स्याहार केन्द्र’ को उद्घाटन गरेका छन् । सैनिक श्रीमती संघको पहल र सैनिक कल्याणकारी कोषद्वारा विनियोजित बजेटबाट दिवा शिशु स्याहार केन्द्र निर्माण गरिएको पृतनाले जनाएको छ ।
प्रकाशित: १४ पुस २०७३ ०८:४५ बिहीबार