८ वैशाख २०८१ शनिबार
राजनीति

संविधान संशोधन प्रस्ताव पारित हुँदैन: अध्यक्ष ओली

संगम घर्ति मगर

बाग्लुङ- नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले संविधान संशोधनको प्रस्ताव पारित हुन नदिने घोषणा गरेका छन्। नेकपा एमाले बाग्लुङको आठौं जिल्ला अधिवेशन उद्घाटन गर्न शनिबार बाग्लुङ आईपुगेका ओलीले संविधान संशोधन नेपाली चाहाना नै नभएकाले पारित हुन नदिने बताएका हुन्। ‘यो संविधान संशोधनको प्रस्ताव नेपालीको चाहाना र आवश्यकताले आएको हुँदै होईन्,’ ओलीले भने,‘तपाईहरु भ्रममा नपर्नुस् यो पारित हुन्न र हुन दिईदैन।’‘हामीलाई भोटिङ आईज भनेर उक्साईरहेका छन्, यो राष्ट्रियतासंगको सवाल हो, यसमा कुनै भोटिङ हुँदैन, ओलीले भने।’

अहिले एमालेको बारेमा गलत हल्ला फिजाईएको ओलीको आरोप छ। ‘संविधान संशोधन हुन नदिने एमाले मधेसी विरोधी हो भनेर चर्चा चलाईएको छ, यो भ्रम चिर्न हामी जागरण अभियान थाल्दैछौं, उनले भने।’ प्रदेश नम्बर ५ का जनताको भावना विपरीत पहाडलाई तराईबाट अलग गर्न खोजिएको भन्दै ओलीले यो मधेसी जनताको माग नभएको जिकीर गरे ।‘सर्लाहीका केही मान्छेहरुले ५ नम्बर प्रदेशबाट पहाड छुट्याउन माग गरे रे, उनले भने,‘यो मधेसी जनताको माग हुँदै होईन।’

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकार विदेशीले बनाएको समेत आरोप लगाए। ‘नेपालीले बनाएको सरकार भए पो नेपालीको चिन्ता हुन्छ, अरुले बनाईदिएको सरकार अरुकै चिन्ता गर्दैछ, ओलीले भने। ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल धेरै बोल्न थालेको बताए। ‘प्रधानमन्त्री जी धेरै नै बोल्न थालेको साथीहरुले गुनासो गर्नहुन्छ,’ उनले भने,‘त्यत्रो उत्पात मच्चाएको मान्छे यत्तीको बोल्नु ठिकै हो भनेको छु।’ संविधान जारी गर्दा संगै रहेको कांग्रेस इमानमा अड्न नसकेको ओलीले जिकीर गरे।

 ‘काँग्रेस एमाले मिलेर लोकतन्त्रका लागि धेरै संघर्ष गरेको हो, संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकारमा आउने भनेको काँग्रेस इमानमा बस्न सकेन,’ उनले भने, ‘अहिले माओवादीलाई नाम्लो लगाएर बोकेर हिँडेको छ, दायाँ बायाँ हेर्ने फुर्सद पनि छैन काँग्रेसलाई।’  राम्रो काम गरेपछि अन्य दलहरु छटपटिएर आफ्नो नेतृत्वका सरकार ढालेको ओलीको दाबी थियो। ‘आजकाल भेट हुँदा देउवा, प्रचण्डजीलाई सोध्छु सरकार किन ढालेको रे भनेर,’ ओलीले भने, ‘सबै लपेट्न थालेपछि के गर्नु त भन्नुहुन्छ।’ ‘गतवर्ष देशले सरकार भएको महशुस गरेको थियो, राम्रो काम गर्न थालेपछि अनेकौं हतकण्डा अपनाएर ढालियो,’ उनले भने । देशका निकास र विकासका लागि एमाले एक मात्र सक्षम पार्टी रहेको ओलीको दाबी थियो।

 

 

प्रकाशित: ९ पुस २०७३ १२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App