५ वैशाख २०८१ बुधबार
राजनीति

संसदमा अवरोध सरकार छाड्नुको तुषः उपप्रधानमन्त्री निधि

पर्वत– उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले संसदमा एमालेले गरेको अवरोधलाई सरकारबाट बाहिरिनुको तुष भएको टिप्पणी गरेका छन्। यसअघि एमाले र कांग्रेसबीचको सहमति नै अहिलेको संविधान संशोधनको सीमांकन भएको भन्दै उनले एमालेको बिरोधको कुनै तुक नभएको बताए।

नेपाली कांग्रेस पर्वतले बुधबार कुश्मामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै निधिले एमालेसहितका केही दलले संसद् अवरुद्ध गरेर जनतालाई झुट र भ्रमको खेती गरेको आरोप लगाए।

‘अहिले एमालेले पहाड र मधेशलाई छुट्याउने तरिकाले सीमांकन आएको भन्दै यसलाई राष्ट्रघाती भनिरहेको छ, त्यो बिलकुलै होइन’ यसअघि कांग्रेस र एमालेबिच सीमांकनको बिषयमा भएको सहमती देखाउदै निधिले भने– ‘लौ हेर्नुस्– दुई पार्टीबिचको सहमति पत्र। केपी ओलीले हस्ताक्षर गरेको पत्रमा नवलपरासीको दाउन्नेदेखि बर्दियासम्मको भूभागलाई छुट्टै प्रदेश बनाएको।’

कांग्रेसमा अध्ययन गर्ने बानी नभएको भन्दै अहिले संसोधनमा प्रस्ताव गरिएका बिषय अन्तरिम संविधान र ०४७ सालकै संविधानभन्दा भिन्न नभएको दाबी गरे। ‘कांग्रेसमा अध्ययन गर्ने बानी छैन, अनि जसले जे भन्यो त्यही होकी भन्ने मानसिकता बढी छ’ उनले भने।

उनले सरकारबाट बाहिरिनुपर्नाको तुष एमालेले अहिले संविधान संसोधनमा आएर पोखेको पनि बताए। ‘आफूले सहमति गर्दा राष्ट्रबादी र अरुले प्रस्ताव गर्दा त्यही अराष्ट्रबादी भन्न मिल्छ’ उनले भने। संसद् अवरुद्ध गर्नु भनेको संसदीय, लोकतान्त्रिक र संवैधानिक तीनवटै प्रक्रिया अवरुद्ध पार्ने काम भएको भन्दै उनले पछिल्लो समय एमाले अक्षुण बन्दै गएको बताए ।

असन्तुष्ट रहेका मधेशबादी दललाई सहमतिमा ल्याएर निर्वाचन गराउनुको विकल्प नभएको उनको भनाई थियो । उनले संविधान संसोधनको बिषय चित्त नबुझेमा बिपक्षमा मतदान गर्न सुझाब दिदै लोकतन्त्रमा त्यो सुहाउने बिषय नभएको धारणा राखे । उनले चुनाव जसरी पनि हुने भन्दै तीन वटै चुनावको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । ‘अब नअलमलिनुस्, चुनाव हुन्छ, हुन्छ, तयारीमा लाग्नुस्’ उनले भने ।

रक्षामन्त्री एवम् काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले राष्ट्रिय राजनीतिमा एमालेले असहिष्णु व्यवहार देखाउन थालेको बताए। देशका गम्भीर मुद्दालाई एमालेले राजनीतिकरण गरेर मुलुकलाई झन् गम्भीर मोडमा पु¥याएको उनको आरोप छ। ‘कांग्रेस मुलुकको अवस्थाप्रति चिन्तित छ तर एमालेले नक्कली राष्ट्रवाद बोकेर अक्षुष्ण ब्यवहार देखाउन थालेको छ’ उनले भने।

कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमालेको नक्कली राष्ट्रबादले मुलुकको विकास र प्रगतिलाई अल्मल्याएको आरोप लगाए। कांग्रेस नेता एवम् सांसद अर्जुनप्रसाद जोशीले मधेशका समस्या समाधान गरेर छिटो निर्वाचनमा जुट्नुपर्ने बेलामा एमालेले संसद अवरुद्ध गरेर संविधान कार्यान्वयनमा अबरोध पु¥याएको बताए।

प्रकाशित: ६ पुस २०७३ १२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App