१६ चैत्र २०८० शुक्रबार
राजनीति

अंगीकृतलाई राष्ट्रपति, प्रधानमन्त्री बनाउने माग मोर्चाको होइन : भण्डारी

काठमाडौं- राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले अंगीकृतलाई राष्ट्रपति बनाउने माग मधेसी मोर्चाको नभएको बताएका छन्। उनले मोर्चाको यस्ता खालको माग गर्नैनसक्ने बताए। 'मोर्चाको माग अंगीकृतलाई प्रधानमन्त्री वा राष्ट्रपति बनाउनु कदापि हुन सक्दैन,' राजधानीमा आयोजित राष्ट्रिय प्रशिक्षण भेलामा अध्यक्ष भण्डारीले भने, 'यो त ठूला दलको चलखेल गर्ने रणनीति हो।'

उनले संविधान संसोधन विधेयकमा प्रयाप्त छलफल नभएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई साझा धारणा बनाउन एमालेसहित सबै दलसँग छलफलग गर्नुपर्ने बताए। 'संविधान संसोधन विधेयकमा सबै दललाई बोलाएर साझा धारणा बनाउनपर्छ। साझा धारणा बने एमालेबिनै पनि संविधान संसोधन गर्न सकिन्छ,' उनले भने।

उनले संविधान संसोधन विधेयक पारित भए संविधान स्वीकार्न आफूहरु तयार भएको बताए। उनले प्रधानमन्त्रीले पनि परिमार्जनको कुरा सार्वजनिकरुपमै बोलेका यसमा सबै दलसँग सहकार्य गरेर अघि बढ्नुपर्ने उनको धारणा थियो।

उनले सरकारले नै एकातर्फ संविधान संसोधन विधेयक दर्ता गराएर पुरानै संरचनामा स्थानीय निकायको चुनाव गराउने परसपरविरोधी कुरा गरेको आरोप लगाए। 'संविधान अपूर्ण छ भनेर संसोधन विधेयक दर्ता पनि गर्ने, फेरि पुरानै संरचनामा गएर स्थानीय निकायको चुनाव गर्छु भन्ने, यो त परसपरविरोधी कुरा भयो, उनले भने।

उनले संविधान संसोधन विधेयकमा सबै दल सहमत भए चुनावको मिति घोषणा गर्दा पनि फरक नहुने बताए। तर पुरानै संरचनामा कुनै हालतमा पनि चुनाव गर्न नमिल्ने उनले बताए।

 

प्रकाशित: १ पुस २०७३ ०६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App