१८ जेष्ठ २०७७ आइतबार
राजनीति

१२ दिनमै सचिव सरुवा

काठमाडौं- पदभार समालेको आधा महिना नपुग्दै कृषि विकास मन्त्रालयका सचिव सरुवामा परेका छन्। कृषिका सचिव अन्नपूर्णानन्द दासलाई पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको हो। मंसिर १५ गते सचिवमा पदमा नियुक्ति पाएका उनले पुस १३ गते सेवाबाट अनिवार्य अवकाश लिँदैछन्।

कृषि विकास मन्त्री गौरीशंकर चौधरीको दबाबमा दासलाई सरुवा गरिएको हो। मंसिर १२ को मन्त्रिपरिषद् बैठकले उनलाई ज्येष्ठताका आधारमा सहसचिवबाट सचिवमा बढुवा गरेको थियो। त्यसअघि उनी वन तथा भूसंरक्षण मन्त्रालयमा वरिष्ठ सहसचिव थिए। कृषि मन्त्रालयमा सचिवको पदभार ग्रहण गरेको १२ दिनमै अर्को मन्त्रालय सरुवा गरिएको हो।

मुख्यसचिव सोमलाल सुवेेदीले प्रधानमन्त्री र मन्त्रीको दबाब थेग्न नसकी सचिवको कार्यभार समालेको १२ दिनमै दासको सरुवाको पत्र तयार गर्न बाध्य पारेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बताएको छ। दासको स्थानमा सचिव सुरोज पोखरेललाई पठाइएको छ। पोखरेललाई चार दिनअघि मन्त्रिपरिषद् बैठकले सहसचिवबाट सचिवमा बढुवा गरेको थियो।

कृषि विकास मन्त्री चौधरीले भने दासलाई मुख्यसचिवले सरुवा गरेको बताएका छन्। उनले भने, 'यो काम प्रधानमन्त्री कार्यालयबाट भएको हो। उहाँ (दास) नयाँ सचिव भएकाले आफंै सरुवा भएर जान चाहनुभएको रहेछ।'

मुख्यसचिवले सरुवापत्र दिइसकेपछि आफूले केही भन्न नमिल्ने मन्त्री चौधरीले बताए। पुस १३ मा सेवाबाट अनिवार्य अवकाश पाउन लागे सचिव दासलाई किन सरुवा गर्न दबाब दिनुभयो भन्ने प्रश्नमा मन्त्री चौधरीले कुनै उत्तर दिन चाहेनन्। उनले उत्ति भने, 'उहाँले पत्र पाइसकेपछि जानुपर्ने हुन्छ।'

सचिव दासले भने, 'जहाँ गए पनि मैले काम गर्ने धेरै दिन छैन। यस्तो अवस्थामा भएको सरुवाले असल सन्देश जाँदैन।' निजामती सेवामा कुनै पनि कर्मचारीले दुई वर्ष एकै ठाउँमा काम गर्नुपर्ने व्यवस्था छ। सचिव दासले बिहीबार नागरिकसँग भने, 'दुई दिनअघि पत्र बनेको खबर सुनेको थिएँ। प्रशासनमा यो परम्पराले भोलिका दिनमा अरु पनि पीडित हुनुपर्नेछ।'

सरुवाको कारणबारे आफूलाई थाहा नभएको दासले बताए।  सरुवा पत्र बु‰ने तयारीमा रहेको उनले सुनाए। उनले भने, 'यो पद्धति गलत हो। आज मलाई पर्‍यो। भोलि अर्कोलाई पर्छ। यो विकृति हो। मलाई सचिवको कार्यभार समालेको १२ दिनमै सरुवा गरिएको छ।'

दासले राष्ट्रिय निकुन्ज, वन विभाग, वनस्पति विभागमा महानिर्देशक भएर काम गरिसकेका छन्। साथै पूर्वान्चल क्षेत्रीय प्रशासक, राष्ट्रपति चुरे संरक्षण क्षेत्रमा पनि उनले काम गरिसकेका छन्।

राजनीतिक हस्तक्षेपले कर्मचारीतन्त्र खस्किँदै गएको कृषि मन्त्रालयका एक कर्मचारीले बताए। उनले भने, 'मन्त्रालयमा अड्किएर बसेका केही राम्रा कामलाई सचिवज्यूले अघि बढाउनुभएको थियो। सरुवा गरिँदैरहेछ।' आफ्नो स्वार्थ अनुकूल काम गर्न प्रधानमन्त्री, मन्त्रीले आफूखुसी सरुवा गर्ने चलन भने नेपालको निजामती प्रशासनमा नयाँ होइन।

प्रकाशित: १ पुस २०७३ ०८:०७ शुक्रबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App