८ वैशाख २०८१ शनिबार
राजनीति

सुरक्षा निकायका प्रमुख र ‘मोस्ट वान्टेड’ एउटै मञ्चमा

कपिलवस्तुको पिपरामा आयोजित कार्यक्रममा अतिथि आसनमा प्रहरीले सर्वाधिक खोजी गरेका नसिम खाँ । तस्बिरः किरणमान बज्राचार्य

कपिलवस्तु– हत्या र डकैती मुद्दामा अदालतबाट सजाय तोकेपछि फरार भई प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका जिल्लाको पिपरा गाविसका नसिम खाँ (बादशाह) सुरक्षा निकाय प्रमुखकै अगाडिबाट फरार हुन सफल भएका छन् ।
आइतबार जिल्लाको पिपरा गाविसमा एक कार्यक्रममा थियो । पिपराको बुलाहिडवामा राखेको खुला दिशामुक्त घोषणा कार्यक्रममा आयोजकले नसिम खाँलाई पनि बोलाएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णु ढकाल, प्रहरी उपरीक्षक भोजजंग शाह, सशस्त्र प्रहरी उपरीक्षक सुदेश गुरुङ, सांसद अतहर कमाल, पूर्वमन्त्री दानबहादुर चौधरीलाई मञ्चमा आसिन थिए । प्रजिअसँगै खाँलाई  पनि आसनग्रहण गराइएको थियो ।

कार्यक्रममा अतिथि रहेका खाँलाई हत्या मुद्दामा अदालतले एक सय १७ वर्षको जेल सजाय तोकिसकेको छ

एक घन्टाभन्दा बढी समय मञ्चमा बसेका खाँलाई प्रहरीले पक्राउ गर्ने योजना समेत बनायो । तर, त्यसको सुइँको पाएपछि उनले कार्यक्रम सञ्चालकसँग माइक खोसेर आफूलाई बचाउन स्थानीयसँग आग्रह गरे । उनले माइकमा बोल्नेबित्तिकै कार्यक्रममा सहभागीमाझ खैलाबैला मच्चिएको थियो । त्यसको केहीबेरमै उनी गाडीबाट भारततिर भाग्न सफल भए ।
मञ्चमै बसेका प्रजिअ  ढकाल र प्रहरी उपरीक्षक शाहले खाँ अपराधी भएको पत्तो पाएपछि पक्राउ गर्ने योजना बनाएका थिए । दुवैले जिल्लाबाट थप सुरक्षाकर्मी कार्यक्रम स्थलमा झिकाउँदै थिए । यो सबै सुइँको पाएलगत्तै खाँ भाग्न खोजेका थिए । उनलाई प्रहरी उपरीक्षक शाहले पक्रने क्रममा सर्वसाधारणले अवरोध गरेपछि उनी भारतीय गाडीबाट भागेका हुन् । प्रहरीले उनलाई पछ्याएको थियो, तर उनी भागेर भारतीय सीमा बजार चाकरचौडा प्रवेश गरे ।

स्थानीयको अवरोध र सीमापारि गएकाले पक्राउ गर्न समस्या परेको प्रहरी उपरीक्षक शाहले दाबी गरे । खाँलाई आयोजकले कार्यक्रमअन्तर्गत जलपान समितिको संयोजक समेत बनाएको थियो । आफ्नै चाहना र दबाबमा गाविससचिव श्यामकुमार कामतले खाँलाई अतिथि बनाएको बुझिएको छ । उनी ०६३ देखि संयुक्त तराई जनतान्त्रिक मुक्ति मोर्चाको नाममा सशस्त्र भूमिगत समूहमा आबद्ध थिए ।

खाँमाथि चार माओवादी कार्यकर्ता, गाविससचिव राममिलन चौधरी तथा एक सर्वसाधारणको गोली हानी हत्या गरेको आरोप लागेको थियो । माओवादी जिल्ला सदस्य प्र्रेम परियारलाई ०६३ फागुनमा गोली हानी हत्या गरेको, ०६४ मंसिर २५ मा जिविस स्थानीय विकास कोष प्रमुख निरञ्जन पौडेलको अपहरण गरेको, गाविससचिव राममिलन गुप्तालाई ०६५ भदौमा उनको समूहले हत्या गरेको आरोप लागेको थियो । त्यस्तै, ०६६ मा तिर्तिखी गाविस रजवापुरकी  अकाली कोहारलाई, ०६७ वैशाख १३ मा माओवादी अवध राज्यका नेता राजेन्द्र तिवारीलाई उनको समूहले हत्या गरेको आरोप लागेको थियो । त्यस्तै, ०६७ असारमा पुरुषोत्तमपुर–५ मा रहेको शिवम् क्रेसरका मजदुर ज्ञानबहादुर सुनारलाई उनको समूहले गोली हानी हत्या गरेको आरोप लागेको थियो । कपिलवस्तु जिल्ला अदालतले हत्याको ६ वटा मुद्दा र एक डाँका मुद्दामा उनको अंश रोक्का गरी मुल्तबीमा राखेको छ । घटनामा संलग्न खाँले सबै हत्यामा सहयोग गरेको भन्दै अदालतले खाँलाई ०६९ सालमा एक सय १७ वर्षको जेल सजाय तोकिसकेको छ । यस्तै, डाका चोरी मुद्दामा अदालतले २०७२ फागुन ४ गते एक लाख ९१ हजार आठ सय ५२ रुपैयाँ जरिवाना र ६ महिना जेल सजाय समेत तोकेको थियो ।
प्रहरीको सर्वाधिक खोजीका रहेका उनी भारतमा बस्दै आएकाले पक्राउ परेका थिएनन् । खाँलाई कार्यक्रममा कसले र किन बोलायो भन्नेबारे अनुसन्धान भइरहेको प्रजिअ ढकालले जानकारी दिए । आफूहरु भर्खरै जिल्लामा आएको हुँदा यसबारे थप जानकारी लिने र भारतीय सुरक्षा समितिको बैठकबाट भारतमा लुकेका अपराधीलाई पक्राउ गरी नेपाल बुझाउन पहल गर्ने उनले बताए ।
कार्यक्रममा खाँलाई एमाले जिल्ला नेता भनेर सम्बोधन गर्दै आसन ग्रहण गराइएको थियो । कार्यक्रममा सहभागी सभासद् अतहर कमाल मुसलमान र पूर्वमन्त्री दानबहादुर चौधरी समेत आश्चर्यमा परेका थिए । कार्यक्रममा एमाले नेता भनी फरार अभियुक्तलाई आसन ग्रहण गराइएकोप्रति एमाले कपिलवस्तुले आपत्ति जनाएको छ । एमाले नेता कृष्ण पौडेलले उक्त व्यक्ति आफ्नो कुनै संगठनमा नरहेको भन्दै उक्त घटनासँग एमालेलाई नजोड्न आग्रह गरे ।
खाँको दक्षिणी भेगका गाविसमा दबदबा रहँदै आएको छ । चन्दा असुली लगायत विभिन्न अपराधका घटनामा अहिले पनि उनकै संलग्नता रहेको स्थानीय बताउँछन् ।
खाँले सञ्चारकर्मीसँग फोनमा कुरा गर्दै आफू कुनै घटनामा संलग्न नरहेको र आफूमाथि लागेका मुद्दा राजनीतिक भएकाले सत्यनिरुपण तथा मेलमिलाप आयोगले हेर्नुपर्ने बताए ।

 

प्रकाशित: २७ मंसिर २०७३ ०३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App