१५ चैत्र २०८० बिहीबार
राजनीति

प्रदेश सीमा हेरफेर प्रस्ताव फिर्ता लिन सडकबाट दबाब

काठमाडौं- पाँच नम्बर प्रदेशका पहाडी जिल्ला चार नम्बरमा गाभ्नेगरी सरकारले संसद् सचिवालयमा दर्ता गराएको संविधान संशोधन विधेयकको विरोधमा निरन्तर आन्दोलन भइरहेको छ। रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँच, प्युठान, रोल्पा, रुकुमलगायत जिल्लामा सरकारी प्रस्ताव नमान्ने भन्दै विरोधलाई निरन्तरता दिइएको हो। उक्त विधेयकको प्रदेश सीमाकंन हेरफेर प्रस्ताव लिन माग राखेर दिनहुँ सडकमा प्रदर्शन र सभा भइराखेका छन्।

विरोधमा सभा, प्रदर्शन, जिल्ला प्रशासन कार्यालय घेराउ, चक्काजाम जस्ता कार्यक्रम सञ्चालन गरिएको छ।

तानसेनमा मानव साङ्लो

 एघारौं दिनदेखि अनिश्चितकालीन बन्द रहेको पाल्पा शनिबार पूर्ण रुपमा खुलेको छ। संयुक्त संघर्ष समितिले लामो बन्दका कारण जनतालाई सास्ती भएको भन्दै तत्कालका लागि बन्द फिर्ता लिने र आन्दोलनको स्वरुप बदल्ने निर्णय गरेको छ।

एमाले पाल्पा अध्यक्ष नारायण आचार्यले विरोधका अन्य कार्यक्रम जारी राख्दै बन्द फिर्ता लिएको बताए। उनले भने, सीमांक प्रस्ताव फिर्ता नहुँदासम्म विरोधका कार्यक्रम भइरहनेछन्।

प्रदेश सीमांकन हेरफेर गर्ने सरकारी प्रस्तावविरुद्ध शनिबार पाल्पा सदरमुकाम तानसेनमा मानव साङ्लो प्रदर्शन गरियोे। जिल्लाका राजनीतिक दल, नागरिक समाज र पाल्पा उद्योग वाणिज्य संघले यस्तो विरोध कार्यक्रम आयोजना गरेका हुन्।

तानसेनलाई मानव साङ्लोले एक घन्टा घेरिएको थियो। संयुक्त संघर्ष समिति, पाल्पाले शनिबार गरेको सभामा दलका नेताले संविधान संशोधन प्रस्ताव फिर्ता नहुँदासम्म विरोध कार्यक्रम जारी रहने बताए।

 एमाले केन्द्रिय सदस्य ठाकुर गैरे, नेपाली कांग्रेसका जिल्ला सभापति वीरबहादुर राना, नेता राजन पन्त तथा अन्य दलका नेताले विरोध सभालाई सम्बोधन गर्दै सरकारले संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने बताए।

सडकमा भजन गाएर विरोध

पाँच नम्बर प्रदेशका पहाडी जिल्ला चार नम्बर प्रदेशमा गाभ्नेगरी संविधान संशोधन विधेयक दर्ता गराएपछि अर्घाखाँचीमा आन्दोलन चर्किएको छ। शनिबार  पनि विरोधका कार्यक्रमलाई निरन्तरता दिइयो। सरकारबाट पाँच नम्बर प्रदेशलाई विखण्ड गर्न प्रस्ताव भएपछि कांग्रेस, माओवादी केन्द्र, एमालेलगायत दलले संयुक्त रुपमा विरोधका कार्यक्रम सञ्चालन गर्दै आएका छन्। सन्धिखर्कमा शनिबार युवाले सिठ्ठी जुलुस प्रदर्शन गरे।

वुद्धवृद्धा पनि विरोधमा उत्रिएका छन्।  ज्येष्ठ नागरिक समाज, अर्घाखाँचीले शनिबार पत्रकार सम्मेलन गरी आन्दोलनमा उत्रने जनाएको छ। वृद्धवृद्धाले सडकमा भजन गाएर प्रदेश टुक्र्याउने प्रस्तावको विरोध गरे।

'आवाज उठाउँछौं, आवाज उठाउँछौं 

पाँच नम्बर टुक्र्याउनेलाई डाँडै कटाउँछौं,

अरु जान्दैनौं, अरु जान्दैनौं,

पाँच नम्बर प्रदेश टुक्र्याएमा हामी मान्दैनौं'

 

यस्तै लोकभजन गाएर वृद्धवृद्धाले  विरोध गरेका हुन्। 'मनोरञ्जनबाट पनि विरोध गर्न सकिन्छ भनेर भजन गाएका हौं', ज्येष्ठ नागरिक समाजका जिल्ल्ाा अध्यक्ष बुद्धिबहादुर रायमाझीले भने, 'आजबाट आन्दोलनका कार्यक्रम सार्वजनिक गर्‍यौं, अब निरन्तरता दिन्छौं।'  उनले सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता नगरे आन्दोलनलाई  सशक्त पार्दै लैजाने बताए। 'वृद्धवृद्धाको आन्दोलनको बलमा सरकार प्रस्ताव फिर्ता लिन बाध्य हुनेछ', उनले भने, 'जिल्ला स्तरबाट आन्दोलन गर्दा सरकारले सुनेन् भने हामी काठमाडौं गएर आन्दोलन गर्न पनि  तयार छौं।'

सन्धिखर्कका ८२ वर्षीय खिमप्रसाद पोख्रेलको अध्यक्षतामा भएको भजनमार्फत विरोध कार्यक्रममा करिब एक सय वृद्धवृद्धा सहभागी थिए। 

आइतबार महिलाको अगुवाइमा थाल ठटाएर सरकारको कदमको विरोध गर्ने कार्यक्रम छ। 

 

फेरि अर्घाखाँची बन्द  आह्वान

विरोधमा शनिबारदेखि फेरि जिल्ल्ाा बन्द घोषणा गरिएको छ। बन्दका कारण शनिबार पसल, यातायात उद्योगधन्दा पूर्ण रुपमा ठप्प भए। संयुक्त संघर्ष समिति अर्घाखाँचीलेले फेरि जिल्ला बन्द आह्वान गरेको हो। समितिले  शनिबार र आइतबार जिल्ला बन्द आह्वान गरेको छ। सोमबार, मंगलबार र बुधबार कुलपूजाका लागि बन्द गरिएको छैन। यसैगरी २९ गते साँझ सन्धिखर्कमा मसाल जुलुस प्रदर्शन गरिने छ। ३० गतेदेखि पुस ६ गतेसम्म लगातार बन्द आह्वान गरिएको नेपाली कांग्रेसका जिल्ला सभापति तथा संघर्ष समिति संयोजक विष्णु खनाल मुस्कानले जानकारी दिए। यसअघि समितिले २१ ग्ाते देखि २४ गतेसम्म बन्द गरेको थियो। सरकारले माग सुनुवाइ नगरेको भन्दै संघर्ष समितिले फेरि बन्द आह्वान गरेको हो।

लालटिन जुलुुसदेखि हड्ताल आह्वान

पाँच नम्बर प्रदेशको सीमा हेरफेर गर्ने सरकारी प्रस्तावको विरोधमा प्युठानमा थप संघर्षका कार्यक्रम तय गरिएकोे छ। संघर्ष समिति गठन गरेर अखण्ड पाँच नम्बर प्रदेशको माग गर्दै आएका जिल्लावासीले विरोधका नयाँ कार्यक्रमका घोषणा गरेका हुन्। विरोध कार्यक्रमको अगुवाइ प्रमुख प्रतिपक्षी एमाले, सत्ता साझेदार माओवादी केन्द्र र नेपाली कांग्रेससहितका राजनीतिक दलले गरेका छन्।

विरोधका नयाँं कार्यक्रमअनुसार आइतबार एक घन्टा चक्काजाम, सोमबार जिल्ला प्रशासन कार्यालय घेराउ, मंगलबार लाल्टिन जुलुस र बिजुवार जुम्री बजारमा प्रदर्शन, बुधबार प्युठान र रोल्पा जिल्लाको संयुक्त बैठक, ३० गते १२वटै जिल्लामा मसाल जुलुस प्रदर्शन र पुस १, २ र ३ गतेदेखि आमहड्ताल गरिनेछ। बिजुवारमा शनिबार सम्पन्न संयुक्त संघर्ष समितिको बैठकले थप संघर्षका कार्यक्रम तय गरेको हो।

मुक्तिप्रसाद न्यौपाने–पाल्पा/ अर्जुन भुसाल–अर्घाखाँची/ एलबी थापा–प्युठान

प्रकाशित: २६ मंसिर २०७३ ०२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App