१६ चैत्र २०८० शुक्रबार
राजनीति

सभामुख महिला सम्मेलनमा घर्ती

काठमाडौं- व्यवस्थापिका संसद्की सभामुख ओनसरी घर्ती शनिबार युएई प्रस्थान गरेकी छन्। सभामुख घर्तीले युएईमा विश्वका सभामुख महिला सम्मेलनमा भाग लिन गएकी हुन्। व्यवस्थापिका संसद्को अर्को बैठक मंसिर ३० का लागि डाकिएको छ। संसद्मा देखिएको अवरोधका कारण निर्वाचनलगायत महŒवपूर्ण कानुन अलपत्र छन्।

संविधानअनुसार २०७४ माघभित्र तीन तहको निर्वाचन गरिसक्नुपर्ने बाध्यता छ तर अहिलेसम्म निर्वाचनका लागि कुनै पनि कानुन बन्न सकिरहेका छैनन्। कुनै पनि निर्वाचन गर्न सबैभन्दा पहिले कानुनको आवश्यकता रहेको निर्वाचन आयोगले पटकपटक बताउँदै आएको छ। पुष्पकमल दाहाल नेतृत्वको सरकारले आगामी फागुनमा स्थानीय तहको निर्वाचन गर्ने बताउँदै आएको छ।

सरकारले मंसिर १४ मा संविधान संशोधन विधेयक दर्ता गरेपछि संसद् बैठक अवरुद्ध हुँदै आएको छ। प्रदेश सीमांकनसहित संविधान संशोधन विधेयकको विरोधमा एमालेलगायत दलले सदन अवरुद्ध गर्दै आएका छन्। व्यवस्थापिका संसद्को अवस्था हेर्दा निर्वाचन कानुन आउन समय लाग्ने देखिन्छ।

सभामुख सम्मेलनमा भाग लिन पाँच सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख शनिबार त्यसतर्फ लागेकी हुन्। टोलीमा सांसद सीता गुरुङ, टुकाभद्रा हमाल, कमला दोङ र संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई छन्।

सभामुख घर्तीले समावेशी समाजको विषयमा नेपालको धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ। सभामुख घर्ती २९ गते साँझ नेपाल फर्कने कार्यक्रम छ।

प्रकाशित: २६ मंसिर २०७३ ०२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App