२२ श्रावण २०७७ बिहीबार
राजनीति

अर्बौंका स्वास्थ्य उपकरण बेकम्मा

विष्णुप्रसाद अर्याल

काठमाडौं- मुलुकका प्रमुख अस्पतालहरूमा सरकारले अर्बौ रूपैयाँ खर्चेर खरिद गरेका स्वास्थ्य उपकरणहरू बेकम्मा भएर थन्किएका छन्। वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, कान्ति बाल अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन, क्षेत्रीय अस्पताल पोखरा र अन्य अस्पतालका उपकरण मर्मत नगरी थन्क्याइएका हुन्। नयाँ खरिद गर्दा कमिसन पाइने भएकाले बिग्रिएका महँगा उपकरणहरू मर्मत नगरिएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार, जिल्ला अस्पतालसहित मुलुकमा एक सयभन्दा बढी सरकारी अस्पताल छन्। मुलुकको सबैभन्दा पुरानो अस्पताल वीरमा युरोलोजी, न्युरो, कार्डियो र जनरल सर्जरी, इएनटी, रेडियोलोजी, आँखा, फिजियो, ग्यास्ट्रो र अन्य रोगसँग सरोकार राख्ने उपकरण बिग्रिएको भन्दै थन्क्याएर राखिएको छ।

वीर अस्पतालमा मात्र करोडौं मूल्यका उपकरण बिनाप्रयोग थन्क्याइएका छन्। क्यान्सरका बिरामीको हिटिङका निम्ति अत्यावश्यक अत्यन्त महँगा तीनवटा सिएम मेसिन र एउटा कोबाल्ट–६० मेसिन अस्पतालमा छन्। एउटै सिएम मेसिनको मूल्य ६ करोड रूपैयाँ पर्छ भने कोबाल्ट–६० मेसिनलाई ११ करोड रूपैयाँ पर्छ। कोबाल्ट–६० मेसिन करिब ६ महिनाअघि बिग्रिएको हो र यसको मर्मतका लागि मूल्यको ३५ प्रतिशतजति मात्र खर्च गरे पुग्छ।

वीरमा ५० देखि सय जना क्यान्सरका बिरामी उपचारका लागि दैनिक आउँछन्। 'राम्ररी काम गर्ने कोबाल्ट–६० मेसिन नहुँदा हाम्रा बिरामी प्रभावित भएका छन्,' वीरको खरिद एकाइका प्रशासनिक प्रमुख भगवती थपलियाले भने।

वीरले वार्षिक २० करोड रूपैयाँ उपकरण खरिदमा खर्च गर्छ। यसले सिएम र कोबोल्ट–६० मेसिन खरिदका लागि १० करोड रूपैयाँ बराबरको टेन्डर प्रक्रिया पनि सुरु गरिसकेको छ।

त्रिवि शिक्षण अस्पतालको अवस्था पनि अन्य सरकारी अस्पतालभन्दा भिन्न छैन। यसले करोडौं रूपैयाँका उपकरण भण्डारमा थन्क्याएर राखेको छ। शिक्षण अस्पतालको भरपर्दो स्रोतका अनुसार एक अर्ब रूपैयाँ मूल्यका उपकरण मर्मतको पर्खाइमा भण्डार रुममा छन्। डा. भगवान कोइराला निर्देशक बनेपछि बिग्रेका उपकरण लिलामी गर्न थालेका थिए। 'अत्यन्तै आवश्यक चारवटा भेन्टिलेटर्स बिग्रेका छन् भने चारवटा हेमोडायलासिस मेसिनको अभाव भएको छ,' स्रोतले भन्यो।

शिक्षण अस्पतालका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरीले उपकरणहरू प्रयोगमा नआए बिग्रने बताए। 'आद्रता, तापक्रम, धुलो, धुवाँले उपकरणको टिकाउपनमा असर पार्छ,' उनले भने, 'यस्ता उपकरणको आयु दुईदेखि १० वर्षको हुन्छ।'

शिक्षण अस्पतालका प्रशासकीय अधिकृतका अनुसार बर्सेनि १३ करोड रूपैयाँ ठूला उपकरण खरिद र पुरानाको मर्मतका लागि खर्च हुन्छ।

कान्ति बाल अस्पतालले ३३ वर्षदेखि थुप्रै महँगा उपकरण त्यतिकै थन्क्याएर राखेको छ। 'हामी पुराना र बिग्रेका उपकरणको सूची तयार पार्दैछौं। यी सामग्रीको बजार मूल्य करौडौं पर्छ,' कान्तिका प्रशासकीय अधिकृत टीकाराम ढकालले भने, 'हामीले उपकरण खरिद र पुरानाको मर्मतका लागि बर्र्सेनि पाँच करोड रूपैयाँ खर्च गर्दै आएका छौं।'

काठमाडौंका अस्पतालले यस्ता महँगा उपकरणलाई न मर्मत गर्छन् न लिलामी नै। 'हामीले तिनको मर्मत गर्ने हो भने खर्च जोगाउन सक्छौं। हामीले गर्न नसक्ने हो भने जिल्ला अस्पताललाई दिन पनि सकिन्छ,' शिक्षण अस्पतालका प्राध्यापक डा. दिनेशविनोद पोखरेलले भने, 'तर, अस्पतालहरूले केही गरिरहेका छैनन्।'

एक स्रोतका अनुसार, सरकारी अस्पतालमा उपकरण मर्मत गर्नुभन्दा नयाँ किन्नु भन्नु नै पैसा (कमिसन) खाने दाउ मात्र हो। ठूलो कमिसनका निम्ति सरकारी अस्पतालमा भइरहेका उपकरणलाई जानाजानी बिगार्ने काम समेत हुने गरेको छ।

काठमाडौं बाहिरका ठूला अस्पतालको अवस्था पनि उस्तै छ। चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ महिनाअघि मात्र खरिद गरिएको शरीरका अंगहरूको थि्रडी इमेज लिने मेसिनले काम गरेको छैन। अस्पतालकै रेडियो थेरापी मेसिन पनि छ तर महिनादेखि सञ्चालनमा छैन। यो अस्पतालमा दुई हजार बिरामीले बसेर्िन थेरापी टेस्ट गराउँछन्।

बिपीका बायो मेडिकल इन्जिनियर प्रकाश पाण्डेका अनुसार थेरापी मेसिन मर्मतका लागि पाँच करोड रूपैयाँ आवश्यक पर्छ। 'पुराना मर्मत गर्नुभन्दा नयाँ खरिद गर्नु उचित हो,' उनले भने। एउटा रेडियो थेरापी मेसिनलाई १५ देखि १६ करोड रूपैयाँ पर्छ। '५० देखि ६० करोड रूपैयाँ खर्च गर्ने हो भने सबै पुराना मेसिनको ठाउँमा नयाँ मेसिन राख्न सकिन्छ,' उनले भने।

धनगढीस्थित सेती अञ्चल अस्पतालको एउटा सि४ काउन्ट र थाइराइड टेस्ट मेसिन बिग्रेको वर्षौं भयो। सामान्य खर्चले पुग्ने भए पनि मर्मत गरिएको छैन।

क्षेत्रीय अस्पताल पोखरामा तीन करोड मूल्यको सिटीस्क्यान मेसिन बिग्रेपछि भण्डारमा दुई वर्षदेखि थन्क्याइएको थियो। करिब ६ साताअघि उक्त मेसिन १ करोड ३६ लाख रूपैयाँमा मर्मत भएको छ। 'यसले धेरै लामो समयसम्म काम गर्दैन,' क्षेत्रीय अस्पतालका सुपरिटेन्डेन्ट डा. श्रीकृष्ण श्रेष्ठले भने, 'हाम्रो अस्पतालमा एमआरआइ र मुटुरोग टेस्टका लागि अत्यावश्यक मेसिन अहिलेसम्म छैनन्।' बिरामीले महँगा निजी अस्पतालमा परीक्षण र उपचारका लागि जानुपरेको छ।

स्वास्थ्यमन्त्री गगन थापाले सरकारी अस्पतालको अवस्थाबारे अध्ययन गर्न मन्त्रालयमा गंगालाल अस्पतालका वरिष्ठ चिकित्सक डा. रामेश कोइराला र एक बायोमेडिकल इन्जिनियरसहितको

पाँच सदस्यीय समिति बनाइएको जानकारी दिए। 'रिपोर्ट प्राप्त भएपछि एक महिनाभित्र आवश्यक निर्णय लिनेछौं,' थापाले भने, 'हामी वार्षिक ठेक्काका आधारमा मर्मत गर्ने कम्पनी नियुक्त गर्ने र सरकारी अस्पतालमा रहेका उपकरणको हेरचाह र व्यवस्थापनका लागि बायोमेडिकल इन्जिनियरहरूलाई भर्नासमेत गर्दैछौं।' 

रमेशकुमार पौडेल–चितवन, सन्तोष पोखरेल –पोखरा, र दिलबहादुर छत्याल–धनगढी)को सहयोगमा।

प्रकाशित: २३ मंसिर २०७३ ०७:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App