७ वैशाख २०८१ शुक्रबार
राजनीति

संशोधन प्रस्ताव फिर्ता लिन कांग्रेस नेता खड्काकाे माग

नेपालगन्ज–नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले संविधान संशोधन प्रस्ताव पास हुने सम्भावना नरहेको बताएका छन्। नेपाल प्रेस युनियन बाँकेले मंगलबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा बोल्दै उनले भने, ‘अवस्था हेर्दा दुई तिहाई पुग्ला जस्तो देखिँदैन, दुई तिहाई नपुगेपछि संविधान संशोधन हुन सक्तैन।’

 संशोधन प्रस्ताव फिर्ता नलिँदासम्म मुलुकमा उत्पन्न समस्या समाधान नहुने उनको भनाइ छ। खड्काले भने, ‘बरु प्रस्ताव फिर्ता गरी परिमार्जित गरेर लैजानुपर्यो, होइन भने मुठभेटको स्थितिमा मुलुक जाने मैले देखेको छु।’ पाँच नम्वर प्रदेशका पहाडी जिल्लालाई अलग बनाउने प्रस्तावको विरोधमा सबै पार्टीमा आवद्ध कार्यकर्ताले सहानुभूती स्वरुप सहभागिता जनाएको दाबी गर्दै उनले यसको राजनीतिक रुपले फाइदा एमालेले लिन खोजिरहेकोे बताए।

‘चुनावको दृष्टिले पार्टी लस हुन्छ, त्यति हुँदाहुँदैपनि हामीले देशले निकास पाओस् भनेर सीमांकनको विषयमा प्रदेश नम्वर पाँचका केही जिल्लालाई ४ र ६ नम्वरमा गाम्भेमा सहमति जनाएका हौं,’ पूर्वमन्त्री खड्काले भने, ‘किनकी कांग्रेस देशलाई निकास दिनुपर्छ, राजनीतिक स्थायित्व हुनुपर्छ भन्ने विचार राख्ने पार्टी हो।’

संघीयताका नाममा मुलुकलाई टुक्र्याउनु नै समस्याको विजारोपन सुरु भएको उनको तर्क छ । ‘म संघीयतामा जानुपर्छ भन्ने पक्षको मान्छे होइन, संघीयतामा जानु हुँदैन, संघीयताका कारण भोलि देश विभाजन हुन्छ, सानो देश छ र जनसंख्या पनि सानो छ भनेर भन्दै आएको थिए,’ उनले थपे, ‘संघीयतामा जानै परे पाँच विकास क्षेत्रलाई प्रदेश कायम गरी जाउँ भन्दा पार्टीले मानेन, पार्टीले गरेको निर्णयलाई मैले मानेको हुँ, अहिले सीमांकनको विषयमा आन्दोलन चलिरहेको छ।’

संविधानलाई धेरैले स्वीकार गर्न नसकेको जिकिर गर्दै नेता खड्काले हतारमा संविधान बनाउँदा यस्तो अवस्था आएको आरोप लगाए। मुलुकलाई सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने आफ्नो व्यक्तिगत माग भएको स्पष्ट पारे।

महाधिवेशन सम्पन्न भएको लामो समय भइसक्दा पनि सभापति शेरबहादुर देउवाले आफूलाई उपसभापतिमा मनोनित गर्ने पूर्व सहमति भएको दोहोर्याउँदै भने, ‘उहाँले किन मनोनित गर्नु भएन, त्यो सभापतिले जान्ने कुरा हो, सभापतिले मलाई अप्ठ्यारो भयो बनाउन सक्दिन भनेर भन्नुभयो, मैलेपनि चित्त दुखाउने कुरा भएन।’
 

प्रकाशित: २१ मंसिर २०७३ ०८:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App