७ वैशाख २०८१ शुक्रबार
राजनीति

सातवटै प्रदेशमा विज्ञान प्रयोगशालाः प्रधानमन्त्री दाहाल

ललितपुर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको सङ्घीय संरचनाअनुसार सातवटै प्रदेशमा विज्ञान प्रयोगशाला तथा अनुसन्धान केन्द्रको स्थापना गरिने बताए।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को ३४औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले प्रदेशको विशेषताअनुसार नै यस्ता अनुसन्धान केन्द्रको स्थापना गरिनु पर्ने विचार व्यक्त गरे।

दोस्रो संविधानसभाबाट जारी संविधानलाई सर्वस्वीकार्य बनाउन संविधान संशोधन विधेयक संसद्मा दर्ता गरिएको उहाँले स्पष्ट पारे। उनले भने– 'अहिले संविधान संशोधनमार्फत आमनेपालीको चाहना अनुरुप तीन तहको निर्वाचनमा जानुको विकल्प छैन।'

मुलुकको विकासका लागि भारत र चीनसँग त्रि–देशीय साझेदारी हुन जरुरी रहेको उनको भनाइ थियो। वर्तमान अवस्थामा राजनीतिक जोडघटाउभन्दा पनि राष्ट्रलाई समृद्ध बनाउने दिशामा सबैको ध्यान जानुपर्ने उनले बताए।

सो अवसरमा नास्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले २०७३ सालको प्रकृति संरक्षण पुरस्कार झापा कन्काईस्थित जामुनबारी सामुदायिक वन उपभोक्ता समूहलाई प्रदान गरे। विगत दुई दशकदेखि वन, वातावरण, वन्यजन्तुको सुरक्षित वासस्थान, सिमसार क्षेत्र तथा जैविक विविधताको संरक्षण र सम्बद्र्धनमा योगदान पुर्याएबापत उपभोक्ता समूहलाई उक्त पुरस्कार दिइएको हो। पुरस्कारको राशि रु दुई लाख रहेको छ।

यसैगरी, रु एक लाख राशि रहेको विज्ञान पुरस्कार धनुषाका डा मनोजकुमार यादवलाई प्रदान गरिएको छ । पारदर्शी र सुपथ सेमिकन्डक्टर जिङ्क अक्साइडसँग म्याग्नेसियम र क्याडमियम मिसाएर आवश्यकताअनुसार विभिन्न रङको लेजर उत्पादन गर्न सकिने तथ्यको पुष्टि गर्दै पहिलोपटक घनत्व कार्यात्मक सिद्धान्त प्रतिपादन गर्नुभएकामा यादवलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

रु. एक लाख राशि रहेको प्रविधि पुरस्कार सिन्धुपाल्चोकका डा सुरेन्द्रलाल श्रेष्ठलाई प्रदान गरिएको छ। डढुवा रोग अवरोधक वर्णशङ्कर गोलभेँडाहरुको उत्कृष्ट जात विकास गरी किसानमैत्री खेतीबालीको अनुसन्धान एवम् विकासमा योगदान पुर्याएबापत श्रेष्ठलाई उक्त पुरस्कार दिइएको हो।

यसैगरी, जनही रु ७५ हजार राशि रहेको विज्ञान तथा प्रविधि युवा पुरस्कार पाल्पाका डा. सन्तोष नेपाल, दार्चुलाका डा. खेमराज जोशी, झापाका डा. सन्तोष दुलाल, सिन्धुपाल्चोकका डा. उर्मिला प्याकुरेल र सप्तरीका डा रामदेवी तचामो शाहले पाउनुभएको छ ।

समारोहमा प्रज्ञा–प्रतिष्ठान तथा प्रविधि प्रवद्र्धन पुरस्कार महिला स्वास्थ्य स्वयम्सेविका कार्यक्रम, परिवार स्वास्थ्य महाशाखा नेपाल र ताप्लेजुङका रामचन्द्र अधिकारीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ। रासस

प्रकाशित: २० मंसिर २०७३ ११:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App